शनिश्चरे/मोरङ पथरीशनिश्चरेकी हेमानन्द गिरी हिन्दुहरुको सबैभन्दा ठूलो पदवी ‘शंकराचार्य’को दाबेदारीका लागि उत्कृष्ठ चारमा परेकी छन् ।

भारतमा भइरहेको धार्मिक गुरुहरुको विशेष सभामा यस विषयमा बिमर्स भइरहेको भारतीय सञ्चारमाध्यमहरुले समेत जनाएका छन् ।

४१ वर्षीया साध्वी गिरीले आफुपनि हिन्दुहरुको सर्वाेच्च धार्मिक पद शंकराचार्यलाई योग्य भएको भन्दै आफ्नो दावीदारी प्रस्तुत गरेपछि गिरीको चर्चा बढेको छ । २ सय जना ठूला ठूला धार्मिक गुरुहरुले शंकराचार्यका लागि आवेदन गरेकोमा साध्वी गिरी उत्कृष्ठ ४ भित्र छनौटमा परेकी हुन् । उनी चार मठमध्ये एउटा मठका लागि उत्कृष्ठ ४ मा पर्न सफल भएकी छन् ।

१ हजार २ सय वर्षको शंकराचार्यको इतिहासमा त्यसखाले दावी गर्ने आफु पहिलो महिला भएको भारतीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै गिरीले बताइन् । ‘यति लामो इतिहासमा महिलाको नाम समेत दर्ता नहुने गरेको अवस्थामा यस वर्ष पहिलो पटक आफ्नो नाम, त्यो पनि नेपालबाट दर्ता भएकोमा खुसी लागेको छ ।’– उनले गर्वका साथ ब्लाष्टसँगको कुराकानीका क्रममा आफु शंकराचार्य वन्ने कुरामा आस्वस्त हुँदै भनिन् ‘यदि शंकराचार्य छानिइन भनें पनि आफुले उत्कृष्ठ छनौटमा परेर नेपालको र सिंगो महिला जगतको इतिहास रच्न सफल भएकोमा गर्व गर्नेछु ।’

प्रखर वक्ता तथा निडर छवि बनाएकी ४१ वर्षीया गिरी भारतका बिभिन्न आश्रमहरुमा समेत वस्दै आएकी छन् । शंकराचार्यका लागि तोकिएका हरेक मापदण्ड उनले पार गरेकी छन् । यसले गर्दा अहिले उनको दाबेदारीले ठूलो बहस निस्किएको छ । यदि गिरीले शंकराचार्य पदवी पाएको अवस्थामा यो पदवी पाउने पहिलो विश्वको महिला बनेर इतिहाँस रच्नेछिन् । छनौट प्रक्रिया अवको करिव १ महिनामा सकिने उल्लेख छ ।

उनको खास नाम हेमा ढुंगाना हो । सन्यास जीवनमा सामेल भएपछि उनले नाम बदलिएको हो । विश्वका साधुसन्तहरुको संगठनमध्येको ठूलो संगठनका रुपमा चिनिएको भारतको जूना अखडाका लागि २ वर्षअघिबाट नेपालको पहिलो महामण्डलेश्वर चुनिइन् । त्यसपछि उनले आफुलाई ‘अनन्त श्री विभुषित महामण्डलेश्वर श्वामी हेमानन्द गिरी महाराज’को नामले चिनाउँदै आएकी छन् । उनी पतञ्जली योगको महिला राष्ट्यि अध्यक्ष भएर योग साधनाका क्रममा आध्यात्मिक बाटोमा तल्लिन बन्न पुगिन् ।

झापा दमक निवासी धार्मिक गुरु एवं ज्योतिष चक्रपाणि गौतमले गिरीको शंकराचार्यको दावेदारी नेपालका लागि नै गर्वको बिषय भएको वताए । शंकराचार्यले हिन्दुत्व रक्षाका लागि भारतका चार स्थानमा चार मठहरु स्थापना गरेर तिनीहरुको समुचित संचालन र रक्षाका लागि विभिन्न अखडाहरु पनि बनाइएको गौतमले उल्लेख गरे । यी अखडामा विभिन्न दशनामी सन्यासीहरु तयार भए र ती विद्वान संन्यासीहरुको सहमतिमा प्रमुख चार मठमा शंकराचार्यको चयन हुने प्रावधान रहेको उनले प्रष्ट्याए । उनका अनुसार यो चयन प्रक्रिया निकै जटिल मानिन्छ । प्रमुख चार स्थलका मठमध्ये भारतको उत्तराखण्डको ज्योतिर्मठको शंकराचार्यका लागि साध्वी गिरी आफ्नो दावेदारी पेस गरेपछि समर्थन बढेको पाइएको छ । शंकराचार्य परम्परामा महिलाको दावेदारी सबै भन्दा पहिलो र हिन्दु धर्ममा सबै भन्दा चासोको रुपमा हेरिएको छ ।

विश्वमा शंकराचार्य उपाधि पाएका धार्मिक ब्यक्तित्वहरुको बिशेष पहिचान र सम्मान समेत हुने गरेको पाइन्छ । शकरचार्य पदवी पाएकाहरुलाइ भारत तथा नोपालमा राष्ट्रपति देखि प्रधानमन्त्रीसम्मले सम्मानकासाथ आफुभन्दा अग्रस्थानमा राखेर आशिर्वाद लिने मान्यता रहि आएको छ ।