काठमाडौ । प्रतिनिधिसभामा प्रत्यक्षमा ८० सिट जितेर ठूलो दल बनेको एमाले सातवटै प्रदेशको समानुपातिकतर्फ भने ७५ सिटमा सिमित भएको छ। प्रत्यक्षमा २३ सिटमा खुम्चिएको कांग्रेस समानुपातिकमा प्रदेशतर्फ एमालेभन्दा ३ सिटले मात्र पछाडि परेको छ। कांग्रेसले ७२ सिट पाएको हो। उसले प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ तीन गुणा मत पाएको हो।
यस्तै माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३ र राष्ट्रिय जनता पार्टीले १२ सिट पाएका छन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, र विवेकशील साझाले तीन\तीन सिट पाएका छन्। राष्ट्रिय जनमोर्चाले प्रदेश ४ मा एक र प्रदेश ५ मा एक सिट हात पारेको छ। नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले एक\एक सिट पाएका छन्। समानुपातिकतर्फ राजपा र संघीय फोरमले चार प्रदेशमा मात्रै मत पाएका छन्।
ती दुई पार्टीले तराई तथा पहाडी जिल्लामा मत प्राप्त गरे पनि प्रदेश ३, ४ र ६ मानिल भएका छन्। प्रदेश १ मा संघीय समाजवादी पार्टीले ७० हजार चारसय ७६ मत पाउँदा राजपा शून्यमा रह्यो। प्रत्यक्षतर्फ प्रदेश १ मा एमालेले ३६ सिट पाएको थियो। उसले प्रदेशसभा समानुपातिकतर्फ १५ सिट पाएको छ।
त्यस्तै प्रत्यक्षतर्फ ८ सिट पाएको कांग्रेसले समानुपातिकमा १३ सिट पाएको छ। प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी केन्द्रले ५ सिट पाएको छ। त्यस्तै प्रदेश २ मा प्रत्यक्षतर्फ १४ सिट जितेको एमालेले समानुपातिकतर्फ आधा अर्थात् ७ सिटमा चित्त बुझाउनुपरेको छ। प्रत्यक्षतर्फ ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाएको छ।
प्रत्यक्षतर्फ ६ सिट जितेको माओवादीले समानुपातिकमा ५ सिट पाएको छ। समानुपातिकतर्फ राजपाले १० र संघीय समाजवादी फोरमले ९ सिट पाएका छन्। उनीहरूले प्रत्यक्षतर्फ क्रमशः १५ र २० सिट जितेका थिए। प्रदेश ३ मा प्रत्यक्षतर्फ ४२ सिट जितेको एमाले समानुपातिकतर्फ भने १६ सिटमा सीमित भएको छ।
प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा त्यसको दोब्बर १४ सिट जितेको छ। प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ८ सिटमा झरेको छ। प्रदेश ४ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ १० सिट मात्रै पाएको छ। प्रत्यक्षमा ६ सिट जितेको कांग्रेसले समानुपातिकमा ९ सिट पाएर दरिलो उपस्थिति देखाएको छ। त्यस्तै प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ भने तीन सिटमा चित बुझाउनुपर्ने भएको छ।
प्रदेश ५ मा प्रत्यक्षमा २८ सिट जितेको एमालेले समानुपातिकमा १३ सिट पाएको छ। प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १२ सिट पाएको छ। प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ६ सिटमा झरेको छ। प्रदेश ६ मा १४ सिट जितेको एमाले समानुपातिकतर्फ ६ सिटमा सीमित भएको छ।
प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाएको छ। प्रत्यक्षतर्फ ९ सिट पाएको माओवादी केन्द्र समानुपातिकतर्फ ४ सिटमा सीमित छ। प्रदेश ७ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ ८ सिटमा चित्त बुझाउनुपरेको छ। प्रत्यक्षतर्फ ४ सिट जितेको कांग्रेसले समानुपातिकमा ८ सिट पाएको छ। प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी समानुपातिकमा भने ४ सिटमा समेटिएको छ।