तेह्रथुम । अकबरे खुर्सानीले राम्रो मूल्य नपाउँदा किसान चिन्तित भएका छन् । वर्षेनी उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनका लागि कसैले चासो नदिँदा अकबरे खुर्सानीले बजार नपाएको किसानको गुनासो छ । बजार भाउ घटेपछि व्यावसायिक खेती गरिरहेका किसान निराश बनेका छन् । गएको वर्ष यो सिजनमा अकबरे खुर्सानीको मूल्य किलोको न्युनतम ३ सय ५० रुपैयाँदेखि साढे पाँच सय रुपैयाँसम्म थियो । तर यो वर्ष एक सय रुपैयाँदेखि एक सय ५० रुपैयाँमा मात्रै कारोबार भइरहेको छ । उत्पादन बढी भएपछि बजार मूल्य घटेको हुनसक्ने सुदापका किसान डिकबहादुर खडकाले बताउनुभयो । ‘पहिले कमाई राम्रो थियो, घरैमा आएर व्यापारीले खरिद गर्थे’ उहाँले भन्नुभयो, ‘अहिले सबैले खेती गरेका छन्, उत्पादन पनि बढी छ, त्यसैले मूल्य पनि कम छ ।’ हरेक वर्ष अकबरे खुर्सानीको बजार जेठ मशान्तदेखि सुरु हुन्छ । यो वर्ष पनि सुरुवातमा हरियो खुर्सानीको कारोबार ४ सय रुपैयाँ सम्ममा समेत भयो । तर अहिले घटेर अकबरेको मूल्य एक सय रुपैयाँमा झरेको हो । परम्परागत रुपमा घरैपिच्छे पारिवारिक प्रयोजनका लागि हुने अकबरेको खेती अहिले व्यावसायिक बन्नेक्रममा छ । जिल्लाका धेरै किसानले यसको व्यावसायिक खेती थालेका छन् । जिल्लामा खेतीको विकास र विस्तारकालागि जिल्ला कृषि विकास कार्यालय र गैरसरकारी संस्थाहरुले किसानलाई तालिम र बिउविजनमा सहयोग गरेका छन् । कम मेहिनेत र लागतबाटै मनग्ये आम्दानी गर्न सकिने भएपछि किसानले खाद्यान्न बाली छाडेरै अकबरे खुर्सानीको खेती थालेका थिए । अन्नबाली भन्दा कम मेहिनेत र लागतले पनि अकबरे खेतीबाट आम्दानी हुन थालेपछि व्यवसायिक खेती थालेको किसान बताउँछन् । जिल्लाका दुई नगरपालिका र चार गाउँपालिकाका सबै गाउँमा अकबरे खुर्सानीको खेती भइरहेको छ । तर व्यावसायिक रुपमा भने छथर गाउँपलिकाको सुदाप, ओख्रे, फाक्चामारा, पन्चकन्या र हमरजुङ, फेदाप गाउँपालिकाको ओयाक्जुङ, जलजले, मेन्छ्यायेम गाउँपालिकाको मोराहाङ, श्रीजुङ, म्याङलुङ नगरपालिकाको पिप्ले, आम्बुङ, जिरीखिम्ती तथा आठराई गाउँपालिकाको छातेढुंगा, ईवामा अकबरे खोर्सानीको व्यावसायिक खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गएको वर्ष जिल्लामा १२ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको थियो । किसानले २५ हेक्टर जमिनमा लगाएको खेतीबाट ३ सय १२ मेट्रिक टन उत्पादन गरेका थिए ।