विराटनगर । संघीय संरचनामा मुलुक अगाडि बढेसँगै प्रदेश-१ सामर्थ्यका हिसाबबाट अब्बल देखिएको छ । आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबबाट अन्य ६ प्रदेशभन्दा सुदृढ अवस्था देखिएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा यही प्रदेशमा पर्छ । र, नेपालको होचो ठाउँ केचनाकवल पनि यहीं पर्छ । अन्य प्रदेशको तुलनामा यसलाई धनी भन्ने गर्नुको एक मात्र कारण हो, अन्य प्रदेशको तुलनामा गरिबीको दर न्यून रहनु । प्रदेश-१ को मानव विकास सूचकांक शून्य दशमलव पाँच प्रतिशत छ । प्रतिव्यक्ति आयका आधारमा यो प्रदेश दोस्रो नम्बरमा छ । प्रतिव्यक्ति आम्दानी १२ सय ११ डलर छ । उक्त आधारमा प्रदेश-३ पहिलो नम्बरमा छ । जनसंख्या बराबरी कुल गार्ह्स्थ उत्पादनमा योगदान पुर्‍याउने प्रदेश पनि यही हो । कुल जनसंख्याको १७ दशमलव १२ प्रतिशत मानिस प्रदेश-१ मा बसोवास गर्छन् । कुल गार्ह्स्थ उत्पादनमा यो प्रदेशको योगदान पनि १७ दशमलव ४६ प्रतिशत छ । यस्तै, राष्ट्रिय औसतभन्दा साक्षरता दर बढी छ । प्रदेशका हरेक जिल्लामा ६५ प्रतिशतभन्दा बढी मानिस शिक्षित छन् । पूर्वी नेपालका साविकका मेची, कोशी र सगरमाथा अञ्चलका १४ जिल्ला यस प्रदेशमा समेटिएका छन् । प्रदेश-१ मा ४५ लाख ३५ हजारभन्दा बढी जनसंख्या छ । २५ हजार नौ सय पाँच वर्गकिलोमिटर ओगटेको छ । २००७ सालको क्रान्तिको प्रारम्भ यही प्रदेशबाट भएको हो । मोरङको विराटनगरस्थित जुटमिलबाट शुरु भएको थियो, उक्त आन्दोलन । मुलुकमै सबैभन्दा पहिले विसं १९७३ सालमा विराटनगर जुट मिल स्थापना भएको थियो । संघीय गणतन्त्र नेपालको औद्योगिक र समृद्धिको कोर्स यही प्रदेशबाट शुरु हुने अपेक्षा गर्न सकिन्छ । यो प्रदेश औद्योगिक विकासका लागि पनि सबै कुराले उर्वर रहेको नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश-१ समितिका उपाध्यक्ष राजेन्द्र राउत बताउँछन् । सुनसरी-मोरङ औद्योगिक करिडोरमा मात्र साना-ठूला गरी ६ सयभन्दा बढी उद्योग छन् । काँकडभिट्टा र जोगवनी गरी चल्तीका दुई नाका रहेकाले पनि औद्योगिक कच्चा पदार्थ आयातदेखि उत्पादित वस्तु निर्यातको सहजता छ । ‘हिमाल, पहाड र तराईको विविधता रहेको यो प्रदेशमा बहुमूल्य जडीबुटीदेखि दूध र कृषि उपजको व्यापारका लागि आन्तरिक बजार पनि पर्याप्त छ,’ राउत भन्छन्, ‘सुनसरी, मोरङ र झापाका बजारको खपत धानेर ती वस्तु भारतका पश्चिमबंगाल, विहारलगायत प्रान्तसम्म पुर्‍याउन सकिन्छ ।’ जल सम्पदाको प्रचुरता पनि प्रदेश-१ को सम्पत्ति हो । उत्पादित बिजुली भारत निर्यात गर्न सकिने सम्भाव्यता प्रचुर छ । नेपाली पर्यटनको मुख्य आधार नै हिमाल हो । र, यस प्रदेशमा सगरमाथा, कञ्चनजंघा, मकालु, ल्होत्से, पुमोरीलगायत हिमशृंखला पर्छन् । नेपालमै पहिलो घामको किरण देखिने श्रीअन्तु मात्र होइन, तीनजुरे-मिल्के-जलजलेको गुराँस वन पर्यटक लोभ्याउन सक्ने अन्य स्रोत हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, मकालु-बरुण राष्ट्रिय निकुञ्ज यही प्रदेशमा पर्छन् । पाथीभरा, हलेसी, बराह क्षेत्र, छिन्ताङदेवीलगायत धार्मिक स्थल यही प्रदेशका विशिष्टता हुन् । १२ वटा विमानस्थलले यो प्रदेशलाई संघीय राजधानी काठमाडौंसँग हवाई सम्पर्क स्थापित गराएका छन् । पूर्व-पश्चिम राजमार्ग, मध्यपहाडी मार्ग, हुलाकी मार्ग तथा मेची र कोशी राजमार्गले प्रदेशको विकासको मेरुदण्डको काम गरेका छन् । ‘सामर्थ्यको हिसाबले यो प्रदेश अरुभन्दा अगाडि देखिन्छ,’ स्नातकोत्तर क्याम्पस विराटनगरका अर्थशास्त्रका सहप्राध्यापक डा. अर्जुन बराल भन्छन्, ‘प्राकृतिक स्रोत-साधनको अधिकतम प्रयोग गर्न सक्दा मुलुककै धनी प्रदेश बन्न सक्छ ।’ प्राकृतिक स्रोतहरुको दोहन हुन नसकेकाले नै अहिलेसम्म प्रदेश-१ का बासिन्दामा गरिबीको कहर बाँकी रहेको उनको ठम्याइ छ । सन् २०१४ को मानव विकास प्रतिवेदनअनुसार पूर्वी प्रदेशका २८ प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि छन् । तर, राष्ट्रिय योजना आयोगको पछिल्लो प्रतिवेदनअनुसार प्रदेश-१ मा गरिबीको १९ दशमलव सात प्रतिशत छ । नेपालमै सर्वाधिक पानी बग्ने सप्तकोशी, अरुण, तमोरलगायत नदीनाला यही प्रदेशमा पर्छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र होइन, खाद्य प्रविधि अध्यापन हुने मुलुककै एक मात्र हात्तीसार क्याम्पस यही प्रदेशको शोभा हो । यी सबै प्रचुरताका बावजुद साविकको पूर्वाञ्चल विकास क्षेत्रका १४ वटा जिल्ला समेटिएको प्रदेश-१ दमित आर्थिक वृद्धिको चक्रमा पिल्सिँदै आएको छ । निकट भविष्यमै गठन हुने प्रदेश सरकारको सानो प्रयासले पनि उक्त चक्रबाट यसलाई बाहिर निकाल्न सहजै सक्ने आकलन गर्न सकिन्छ ।