धरान/ सुनसरी जिल्लाका सहकारी संस्थामा महिला सदस्यको सङ्ख्या धेरै भए पनि नेतृत्वमा भने पुरुष नै हावी छन् ।
सुनसरीमा ५ हजार ९ सय ८ सहकारी सञ्चालक मध्ये महिला २५ सय ७ महिला रहेको सुनसरीका सहकारी प्रशिक्षण प्रमुख योगराज धमलाले बताए । उनले भने,‘सदस्यहरु पुरुषभन्दा महिला धेरै छन् तर नेतृत्वमा भने पुरुष नै अगाडि छन् । तुलनात्मक हिसाबले महिला पछि परेका छन् ।
सुनसरीमा रहेका ६ सय ७५ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये १ सय १५ सहकारी संस्था महिलाले सञ्चालन गरेका छन् । उनका अनुसार सहकारीका सदस्यमा पुरुष भन्दा महिला भए पनि नेतृत्व र कर्मचारीहरुमा भने पुरुष नै धेरै छन् ।
बचत तथा ऋण सहकारीमा महिलाको सहभागिता बढ्नुको कारण गरिबी रहेको बताउछिन् धरानका दिव्य ज्योती बचत तथा ऋण सहकारी संस्थाकी संस्थापक सल्लाहकार सीता मगर । उनले भनिन् ‘आपत्कालीन समयमा ऋण खोज्दा तिर्न सक्दैनन् भनेर नपत्याउने गरेको कारणले ऋण पाइंदैन थियो, विकल्प खोज्दै जादा सहकारीको स्थापना भयो’ ।
सहकारीका कारण महिलालाई घर सञ्चालन गर्न सहज भएको जनकल्याण बचत तथा ऋण सहकारीकी संस्थापक सदस्य तथा कर्मचारी बिचारी सुब्बा बताउछिन् । उनले भनिन्, सहकारीबाट बचत र रोजगार दुवै प्राप्त भएको छ । दैनिक खर्च टार्न, छोराछोरीको पढाईको खर्च जृटाउन धेरै सजिलो भएको छ ।