विराटनगर/ जाडोको सुरुवातदेखिनै तराईको गाउँदेखी सहरको चोक– चोकमा पाइने लोकप्रिय खाजा हो भक्का । सबै उमेर समूहले मिठो मानी खाने भएकोले सबेरैदेखी भक्का बनाउने ठाउँमा भिड हुने गर्दछ ।
विहानी पाखदेखिनै यसको स्वाद चाख्न सबै उमेर समूहका मानिस मस्त हुन्छन् । भक्का हरेक जाति, वर्ग, रङ र समुदायको प्रिय खाजा बन्दै गएको छ । बालबालिकादेखि बूढापाकासम्मले मन पराउने समावेशी परिकार हो । जाडो मौसमको सुरुभएसँगै विराटनगरका सडक छेउछउका चौकहरुमा प्राय दैनिकजसो भक्का खानेको भीड देखिन्छ ।
यो सहरमा मात्र नभएर तराईकै चोक, बजार र गल्लीमा बिहानबेलुकी बेचिने लोकप्रिय खाजा हो । पानीको वाफमा भक्का पकाइने हुनाले यस्तो नाम हुन गएको हो । तातै खाँदा स्वाद लाग्ने, पच्न सजिलो हुने र शरीर न्यानो रहने हुनाले भक्का पकाइने गरिएको विराटनगरमा लोमो समयदेखि भक्का विक्री गर्दै आएकी स्थानीय माया राजवंशीले बताइन् ।
विराटनगरको जनपथटोलमा एक दशकदेखी भक्का विक्री गर्दै आएकी राजवंशीले भनिन्, ‘जाडोमा मात्र यसको व्यापार राम्रो हुन्छ । तीन महिना मेहनत गरेरे लागी पर्छौ । कमाइपनि राम्रै हुने गर्दछ,’ उनी भन्छन्, ‘खर्च कटाएर घर खर्च चल्दछ ।’
मुख्यत थारू, राजवंशी र ताजपुरिया समुदायका महिला यसको व्यवसाय गर्छन् । यसलाई सबै जातिकाले मीठो मानी खाने गरेका छन् । चामललाई भिजाएर पिठोबाट बनाइने परिकार भएकोले यो नरम र मीठो हुने गरेको स्थानीय मोडल तथा कोरियोग्राफर सपना राजवंशीले सुनाइन् ।
‘विहानी पख खाजाको रुपमा तातो भक्का खादा छुट्टै आन्नद आउछ,’ उनले भनिन, ‘भक्काले खासै असर नपर्ने भएकोले खाजामा प्राय दैनिक भक्का खान्छु ।’ प्रति गोटा सानोको मूल्य १० रुपैयाँ र ठूलोको १५ रुपैयाँ पर्छ ।
लामो समयदेखि विराटनगरमा भक्का विक्री गर्दै आएकी राजवंशीले भनिन्, ‘ग्राहकको रोजाइ अनुसारको भक्का बनाउने गर्दछौं । दाम अनुसारको भक्को साइज पनि त्यही अनुसारको रोखेको हो ।’ तराईमा मुख्यत विपन्न आदिवासी एवं जनजाति थारू, राजवंशी र ताजपुरिया समुदायका महिलाले यसको व्यवसाय गर्छन् । यसरी तयार हुन्छ भक्का सबैभन्दा पहिले घरमै चामललाई भिजाएर सुकाई पिधिन्छ । माटाको चुलो घरमै निर्माण गरिन्छ । घैलालाई माथिबाट माटाको ढकनीले छोपिन्छ । ढकनीमा सानो प्वाल पारेर भित्र पानी राखिन्छ । घैलालाई बलिरहेको चुलोमाथि राख्दा ढकनीको प्वालबाट बाफ निस्कन्छ । तयार पारिएको पिठोलाई कचौरामा भरेर पातलो कपडाले छोपिन्छ । त्यसलाई घोप्टो पारेर त्यही वाफ निस्किरहेको प्वालमाथि एकछिन राखेपछि सेतो र नरम भक्का तयार हुन्छ । चिसो हुँदा स्वाद नआउने हुनाले पाक्ने बितिकै भक्कालाई कसैलाई नुन खोर्सानीको पिरो अचारसँग खाने गर्दछन्, कोही चियासँग पनि खाने गर्छन् ।