काठमाडौ /प्रदेश नम्बर ७ अर्थात् हिजोको सुदूरपश्चिम अन्य क्षेत्रको तुलनामा विकासले पछाडि छ। यहाँका ४५ प्रतिशत जनता गरिबीको रेखामुनि छन्।
तर समृद्धिको प्रचूर सम्भावना भने नभएको होइन। यहाँ देशभरकै करिब एक तिहाई विद्युत् उत्पादन गर्न सकिन्छ। अमूल्य जडिबुटीको भण्डार यसै प्रदेशमा छ। प्राकृतिक सम्पदा तथा धार्मिक स्थलमा पनि यो प्रदेश धनी रहेको खबर दिलबहादुर छत्यालले आजको नागरिक दैनिकमा धनगढीबाट लेखेका छन्।
२०५१ सालमा कर्णाली पुल बनेपछि भौगोलिक रुपमा देशका अन्य भूभागसँग जोडिएको सुदूरपश्चिम विकास र भावनाले राज्यको मूल प्रवाहमा जोडिन सकेको छैन। संविधान कार्यान्वयनसँगै प्रदेश ७ समृद्ध बन्ने बाटो खुला भएको छ।
प्रदेश ७ मा देशभरको उत्पादन क्षमताको करिब एकतिहाइ विद्युत् उत्पादन गर्न सकिन्छ। सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्टार तथा कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त प्रदेश नम्बर ७ मा जलविद्युत्को सबैभन्दा ठूलो सम्भावना रहेको बताउँछन्।
प्रदेश ७ मा १० हजार मेगावाटको कर्णाली, ६ हजार सात सय ८० मेगावाटको पञ्चेश्वर, ७ सय ५० मेगावाटको पश्चिम सेती, ३० मेगावाटको बूढीगंगा, ३० मेगावाटको चमेलिया छन्। यसका साथै निजी क्षेत्रबाट अपी हाइड्रो पावरले विद्युत् निकासी गरिसकेको छ। यस क्षेत्रमा साना तथा मझौला हाइड्रोपावरको प्रशस्त सम्भावना छ। यसरी प्रदेश ७ मा ३३ हजार मेगावाट विद्युत्को क्षमता छ।