धरान/प्रदेश नम्बर १ को राजधानीका लागि सम्भावित शहरहरु राजधानी माग्दै अनवरत आन्दोलित छन् ।
[caption id="attachment_66211" align="alignnone" width="840"]
प्रदेश १ को राजधानी माग्दै आइतबार रिले अनसनमा बसेका धरानेहरू ।[/caption]
सरकारले प्रदेश नम्बर १ मा विराटनगर, इटहरी, गोठगाउँ, धरान, धनकुटालाई सम्भावित राजधानीको छनक दिएको थियो । त्यो छनक पाएलगत्तै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिवी, सर्वसाधारणहरु यतिबेला राजधानीको लागि अनवरत आन्दोलित बनेका हुन् । धरानका राजनीतिक दल, बुद्धिजिवी, सामाजिक संघसंस्थाहरु मिलेर प्रदेश १ को राजधानी बनाउ स्वतन्त्र अभियान समितिले शान्तिपूर्ण अनसन गर्दै राजधानीको लागि जागा छ ।
धरानमा यो अभियान आइतबारदेखि चालू छ । समितिका संयोजक आइन्द्रबिक्रम बेघाले प्रदेश सभाको अस्थायी राजधानी नतोकिञ्जेलसम्म आन्दोलन जारी रहने बताए । जसलाई रिले अनसन भनिएको छ । यसको नेतृत्व विभिन्न संघ संगठनहरुले लिइरहेका छन् । राजधानीको लागि शान्तिपूर्ण आन्दोलनमा रहेको धरान भन्दा केही भिन्न रुपमा धनकुटाको आन्दोलन चर्किएको छ । मंसिर २९ गतेदेखि अनवरत रुपमा सुरु भएको आन्दोलन पुष २ गते भने यातायात, बजार ठप्पसमेत बन्यो । जसका कारण धनकुटा अशान्त बन्यो । पुष ५ गतेदेखि हस्ताक्षर अभियान तथा प्रदेश १ का पूर्वमन्त्री तथा निर्वाचित सांसदहरुसँग छलफल तथा अन्तरक्रियामा अहिले मस्त छ । ‘हामी मंसिर २९ गतेदेखि अनवरत रुपमा राजधानीको लागि आन्दोलित छौं ।’ धनकुटा प्रदेश राजधानी अभियान समिति संयोजक उमेश घिमिरेले भने ।
त्यसरी नै अन्य शहरहरु पनि राजधानी माग्दै अनवरत रुपमा लडिरहेका छन् । धनकुटाको स्थितिमा अन्य शहर पुगेको छैन् । तर, राजधानीको लागि जागा छ । मोरङको सुन्दरहरैचाबासीले ८०५ विगाहा क्षेत्रफलमा फैलिएको पूर्वाञ्चल विश्वविद्यालयको भौतिक संरचनालाई देखाएर राजधानी मागिरहेको छ । जसले एक दिन शान्तिपूर्ण मोटरसाइकल र्याली मात्रै निकालेन्, नगरपालिकाहरु मिलेर राजधानीको लागि ऐक्यवद्धता नै जाहेर गरे । तर, यो विषयमा भने पियुले पत्रिकामा विज्ञापन जारी गर्दै सिधै इन्कार गरेको छ । ‘विश्वविद्यालयको सम्पत्ति विश्वविद्यालयको सहमति, जानकारी विना अन्य क्षेत्रले भागबन्डामा लगाउनु आफैमा आपत्तिजनक कुरा हो, विज्ञप्तिमा उल्लेख छ ।
इटहरीका राजनीतिक दल तथा संघसंस्थाले पनि राजधानीको उस्तै गरी माग उठाइरहेका छन् । राजधानीको लागि त्यहाँको राजधानी सरोकार समिति इटहरी प्रधानमन्त्री कार्यालयदेखि केन्द्रीय स्तरका शीर्षस्थ नेताहरुलाईसमेत भेट गर्दै राजधानीको लागि पहल गरे । ‘राजधानीको आवाज बुलन्द बनाउन उप्रधानमन्त्री विजय गच्छदारलाई ज्ञापन पत्र बुझाउनेदेखि लिएर प्रधानमन्त्री कार्यालय, प्रचण्ड, केपी शर्मा ओलीसम्मलाई भेट्यौं ।’ सरोकार समाजका सचिव सैलेश विष्ट भन्छन् ।
विराटनगरले पनि त्यसरी नै आन्दोलनलाई अघि बढाइरहेको छ । सबैले भौतिक संरचना, यातायातको सुगमता, पूर्वाधारहरु देखाएर नै आन्दोलित बनिरहेका छन् । हाल राजधानी माग्ने शहरहरुले पूर्वाधार, भौगोलिक सुगमतालगायतका आधारहरु पेश गर्दै आन्दोलित बनिरहेका छन् । यो आन्दोलनमा पूर्वको उदाउँदो शहर दमक र विर्तामोड एक किमिसले चुप छ । तर, यसको अर्थ उसलाई राजधानी चाहिदैन भन्ने होइन् । दमक एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र पनि हो । त्यसैले त्यहाँका जनताले राजधानीको अपेक्षा गर्नुलाई अन्यथा लिनु हुँदैन । तर, मंसिर २५ गते शहरी विकास मन्त्रालयका मन्त्री दिलनाथ गिरीले पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा वा बिराटनगरमा हुने आशय व्यक्त गरेका थिए ।
सरकारी प्रतिवेदनको आधारमा राजधानीको माग
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले मंसिर ७ गते सहरी विकास मन्त्रालयमा एक नम्बर प्रदेशमा रहेका सरकारी भौतिक संरचनाको अध्ययन प्रतिवेदन पठायो । उक्त प्रतिवेदनमा धनकुटामा सबैभन्दा बढी १५ वटा सरकारी कार्यालयहरु रहेको देखाएको छ । त्यस्तै विराटनगरमा ११, धरानमा ६ र इटहरीमा ५ वटा सरकारी कार्यालय रहेको प्रतिवेदन पठाइएको थियो ।
त्यस क्रममा कार्यालयले धनकुटा, सुनसरी र मोरङका सरकारी भौतिक संरचनाहरुको अध्यन गर्दै भौतिक संरचनाको हालको अवस्था हेर्दा धनकुटामा पाँचकरोड २५ लाख रुपैया खर्च लाग्ने र विराटनगरमा २१ करोड ५० लाख रुपैया खर्च लाग्ने बताएको थियो भने अन्यमा नयाँ भौतिक संरचना तयार पार्नुपर्ने देखिएको थियो । यस आधारमा पनि ति शहरहरुमा आन्दोलन चर्किदै आएको छ । धनकुटा सबैलाई पायक पर्ने र प्रयाप्त भौतिक संरचना रहेको दाबी गरेको छ । त्यस्तै ४७ हजार रोपनी जग्गाको उपलब्धता पनि राजधानीको प्रयाप्त आधार रहेको समितिका संयोजक घिमिरेले बताए ।
धरानले ऐतिहासिक, भौगोलिक अवस्थिति, सडक सञ्जालको आधारहरु, स्वास्थ्य पहुँचको आधार पेश गरेर राजधानी माग गरेको संयोजक बेघाले बताए । विराटनगर, गोठगाउँ र इटहरीले पनि यस्तै आधारहरु पेश गर्दै राजधानी मागिरहेका छन् ।