इटहरी/सप्तकोशी नदी आसपासको सीमसार सुक्न थालेपछि २० बर्ष अघिबाट देखिन छाडेका नकटा हाँस सुनसरीको चिमडीस्थित बर्जुतालमा देखिन थालेका छन्। चराविदका अनुसार नेपालको तराई क्षेत्रमा चार प्रजातिका हाँसले बच्चा कोरल्छन्। ती चार प्रजातिमध्ये सबैभन्दा ठुलो प्रजातिको हाँस हो नकटा। यो हाँसलाई अंग्रेजीमा ‘कम्ब डक’ भनिन्छ । यो हाँस अहिले कोशीटप्पु भन्दा २५ किलोमिटर दक्षिणमा रहेको बर्जु तालमा छ वटाको संख्यामा भेटिएका छन्।
[caption id="attachment_66634" align="aligncenter" width="663"] फायलफाेटाे[/caption]चरा विद डा. हेमसागर बरालका अनुसार, पश्चिममा घोडाघोडी ताल, सुक्लाफाँटाका तालहरुमा यसले बच्चा कोरल्ने गर्छ। नेपालको तराईमा बच्चा कोरल्ने मध्येको यो सबैभन्दा ठुलो हाँस हो। सप्तकोशी आसपास झण्डै २० बर्ष अघि देखिएको यो हाँस त्यसपछि यस क्षेत्रमा देखिएको थिएन। डा. बराल भन्छन्, ‘२० बर्षपछि बर्जुमा यो देखिनु निकै खुसीको कुरा हो। यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो।’
स्थानीय रैथाने प्रजातिको भएपनि यो हाँस निकै विशेष किसिमको रहेको उनले बताए। ‘२० वर्षअघि यहाँ देखिएर हराएको यो हाँस चरा झैं भारतबाट आएको हुन सक्छ, तर ठ्याक्कै एकिन गर्न भने त्यसलाई निरन्तर निगरानी गरेपछि मात्रै भन्न सकिन्छ’ डा बरालले भने, ‘कम्ब डक नेपालबाट लोपउन्मुख चराहरुको सूचीमा छ। त्यसैले, यो महत्वपूर्ण चरा हो।’
लेउ, माछा लगायत पानी मुनिका वनस्पति र किराहरुको भोजन गर्ने यो हाँस झुण्डमा बस्न रुचाउँछ। यसले स्थानीय वारीमा पाइने अन्न समेत खाइदिने गर्छ।
चरा प्रजातिका लागि बर्जु क्षेत्र बर्जु क्षेत्रको वातावरण निकै अनुकूल हुँदै गएको छ, त्यसैले कम्ब डक देखिन थालेको हो। पंक्षी संरक्षण संघका चराविद् ज्योतेन्द्र ठकुरीका अनुसार, नेपालमा तराईमा चार र हिमाली क्षेत्रमा दुई गरी ६ प्रजातिका हाँसले बच्चा कोरल्ने गरेका छन् । उनी भन्छन्, ‘खतराको सूचीमा परिसकेको ‘कम्ब डक’ यहाँ देखियो, यो निकै राम्रो संकेत हो।’
यो हाँस दक्षिण र मध्य अमेरिका, भियतनाम, चीन, भारत, जापानमा पाइने चौधरीले बताए। विभिन्न हाँसका झुण्डमा रहेर बस्न रुचाउने यो हाँस अन्य हाँसका तुलनामा फरक खालको हुन्छ। बच्चा कोरल्ने बेला भालेको ठुँडको माथिपट्टी डल्लो सिउर पुष्ट भएर आउँछ। त्यस बाहेकको समय त्यो सामान्य रुपमा रहन्छ । समुन्द्र सतह देखि १ सय ५० मिटर तथा जंगलभित्र रहने तालतलैया यसको बासस्थान हो।
अर्का चराविद् बद्री चौधरीका अनुसार ‘हिमालयन नेचर’ नामक संस्थाले २० दिन अघि गरेको चरा गणनामा बर्जुमा ६ वटा ‘कम्ब डक’ देखिएका थिए। तर, पछि यो प्रजातिको हाँस देखिन छाडे।
नेपालखबर