शनिश्चरे/झापाको दमकमा समस्याका रुपमा रहिरहेको फोहोरलाई मोहोरमा रुपान्तरण गर्न नगरपालिकाको केही वर्षयताको सोच हो । फोहोरलाई प्रसोधन गर्ने मात्र नभएर त्यसबाट विद्युत अथवा ग्यास उत्पादन गर्नका लागि सरोकारवाला पक्षले चासो देखाएपछि नगरपालिका कार्यालय उत्साहित बनेको छ ।
[caption id="attachment_66946" align="aligncenter" width="701"] फायलफाेटाे[/caption]पहिलो चरणका रुपमा नगरका जनप्रतिनिधिसँग वैकल्पिक उर्जा केन्द्रले छलफल चलाएको छ । केन्द्रका विज्ञहरुसँगको छलफलले सकारात्मक मोड लिएको छ । ‘मैले काठमाडौंमा गएर वैकल्पिक उर्जा केन्द्रमा प्रस्वाव राखें । त्यसपछि त्यहाँका प्राविधिक आएर यहाँ हामीसँग पहिलो चरणमा छलफल गरे ।’– दमक नगर प्रमुख रोमनाथ ओलीले भने ‘उनीहरुले फोहोर र त्यसबाट उत्पादन हुने उर्जा सम्बन्धि समेत सर्भे गरिसकेका छन् । यो काम अघि बढ्ने चरणमा पुगेकोले हामीलाई उत्साहित बनाएको छ ।’ यहाँको फोहोरबाट मोहर उत्पादनका लागि बायो ग्याँस उत्पादन क्षमता, ग्यास, विद्यूत उत्पादन क्षमता र जैविक मल उत्पादन गर्न सकिने भन्दै नगरपालिकासंग सहकार्यको प्रस्ताव अघि बढाएको ओलीले बताए । उनले नगरवासीको सहयोगमा यसखाले परियोजना सञ्चालनका लागि तयारी गरिने उल्लेख गरे ।
छलफलमा सहभागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ प्राविधिक शशिमान अमात्यले दमकको फोहोरबाट दैनिक ३३ किलोवाट भन्दा बढी विद्युत उत्पादन हुने देखिएको बताए । विद्युत उत्पादन नगरी त्यसलाई ग्यासमा रुपान्तरण गर्दा भनें दैनिक १६ वटा सिलिण्डर बराबरको ग्यास उत्पादन हुने पनि अमात्यले उल्लेख गरे । अहिले दमकमा समस्याको रुपमा रहेको फोहोरबाट ४ सय ८२ घनमिटर बायोग्यास उत्पादन गर्न सकिने उनको दावी छ । यसमा पनि करिव ९ टन फोहोर बायोग्यास प्रविधिमा प्रयोग गर्न सकिने र कुहिने फोहोरको रुपमा रहेको समेत केन्द्रले जनाएको छ । केहि समय अघि केन्द्रले यस बिषयमा सर्भेक्षणमुलक अध्ययन गरेको थियो ।
दमकमा दैनिक करीव २० टन फोहोर उत्पादन हुने गरेको र करीव १५ टन फोहोर संकलन हुने गरेको पाइएको छ । जसमा उर्जा निस्कनेखाले जैविक फोहोर ४० प्रतिशत छ । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले फोहोरलाइ उर्जामा परिणत गर्ने विषयमा गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । ‘यहाँको फोहोरबाट नगरपालिकाले राम्ररी लाभ लिन सक्छ । त्यसका लागि हामीले छलफल अघि बढाएका छौं ।’– दमकको फोहोर व्यवस्थापनबाट उर्जा निकाल्ने कुरामा सकारात्मक बन्दै केन्द्रका प्राविधिक अमात्यले भने ।
दमकको फोहोरबाट स्थानीय किसानहरुका लागि लाभदायक आग्र्यानिक मल समेत उत्पादन भएकाले यसबाट प्रशस्तै आम्दानी लिन सकिन्छ । दैनिक १ हजार ७ सय ९८ केजि कम्पोष्ट मल उत्पादन क्षमता दमकको फोहोरले राख्दछ ।
दमकमा समस्याका रुपमा बढेको फोहोरको व्यवस्थापनका लागि नगरपालिकामा कुनै काम गर्न जाँदा नगरवासीले सबैभन्दा पहिले सरसफाई कार्ड लिएर शुल्क तिरेको रसिद देखाएपछि मात्र अरु कामको प्रक्रिया अगाडि बढाईने प्रावधान गत ०७३ साउन १ बाट लागू गरेको थियो । वातावरणमैत्री स्थानीय शासन प्रारुप ०७० तथा फोहोरमैला व्यवस्थापन ऐन ०६८ ले त फोहोर गर्ने पक्षलाई विजुली, पानी, टेलिफोन सहितका अत्यावश्यकीय सेवा समेत बन्द गर्न सक्ने नीति बनाएको छ । अर्कातर्फ ६ महिनासम्म सजाय र ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने कानूनी प्रावधान छ ।
नगरको फाहोर व्यवस्थापनका लागि ‘सार्वजनिक निजि साझेदारी कार्यक्रम’ को अवधारणा अन्तर्गत सुनसरीको पाथवे नेपाल प्रालि र नेपाल ग्रिनलिंक फाउन्डेशनलको संयुक्त परियोजनाका रुपमा ०७२ वैशाख १ गतेबाट काम अगाडि बढ्यो । नगरपालिकाले ५ वर्षका लागि सम्झौता गरेर संयुक्त परियोजनालाई फोहोर व्यवस्थापनको जिम्मा लगायो । सो परियोजनामार्फत ५ वर्षका लागि फोहोर व्यवस्थापनको जिम्मा लिएर पहिलो वर्ष फोहोर जथाभावी फाल्न नहुने कुराको सचेतिकरण तथा सामाजिक कारवाही स्वरुप फोहोर फ्याक्नेलाई नै उठाउन लगाउने र परिचयपत्र वितरणको काम भएको थियो । दोस्रो वर्षमा फोहोरको व्यवस्थापनमा चुस्तता अपनाइ प्रशोधनको पहल थाल्दै नगरपालिकाको फोहोर व्यवस्थापन खर्चलाई घटाउने र तेस्रो वर्षमा खर्च सून्यमा झार्ने र चौथो वर्षबाट फोहोरबाटै उल्टो आम्दामी गर्ने योजना बनाएको थियो । तर सो अनुरुप चुस्त काम हुन भनें सकिरहेको छैन । ०७२ मंसिर ५ गतेबाट ‘दमक सफाई अभियान’ थालेर प्रत्येक शनिवार चोक तथा बजार बढार्ने कार्यक्रम १ वर्षसम्म चल्यो । फोहोर हाल्ने डस्टविन वितरण र ग्रिनसिटी बनाउनका लागि प्रत्येक घरमा विरुवा रोप्ने अभियान पनि चलाइएको थियो । त्यसयता फोहोर व्यवस्थापन केही सुस्ताएको अवस्थामा छ ।
फोहोर व्यवस्थापनको महत्वपूर्ण अंगका रुपमा पूर्वाञ्चलमै पहिलोपटक दमकमा १ वर्षअघि निर्माण भएको फोहारमैला प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा पनि फोहोर व्यवस्थापनमा समस्या रहिरहेको छ । प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरपालिकाबाट उत्पादन हुने दैनिक १५ टन फोहोर दमक २ स्थित रतुवा खोलाको बगरमा फालिने गरेको छ । प्रसोधन केन्द्र स्थापना भएपनि सञ्चालनमा नहुँदा दमकको फोहोर ब्यवस्थापनमा चुनौती भएको पाथवे जेभी प्रालिका अध्यक्ष सुवास बस्नेत वताउँछन् । ‘प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा फोहोर ब्यवस्थापनमा हाम्रो खर्च धेरै बढेको छ । अनि फोहोर व्यवस्थापनमा हामीले प्रभावकारी काम गर्न नसकिएको भनिनु पनि प्रशोधन केन्द्र सञ्चालन नभएर हो ।’
फोहोरमैला प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको दमक नगरपालिकाकी उपप्रमुख तथा नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले बताएकी छन् । यता त्यसखाले प्राविधिक नपाइने र सरकारले केन्द्रबाट मेसिन जोड्ने प्राविधिक नपठाएर प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन नसकिएको उनको तर्क छ । प्रशोसन मेसिन सञ्चालनमा ढिलाई भइरहेको अवस्थामा बरु दमकको फोहोरलाई धान्ने अहिलेको भन्दा ठूलो मेसिन आफुहरुले माग गरिरहेको पनि उनले उल्लेख गरिन् । फोहोर ब्यवस्थापन गर्न प्रशोधन केन्द्रका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट आर्थिक वर्ष ०७१/०७२ र ०७२/०७३ मा १ करोड ३० लाख रुपयाँ बजेट बिनियोजन भएको थियो । फोहोरमैला व्यवस्थापन र प्रसोधन केन्द्र सञ्चालनका लागि हम्सेदुम्से सामुदायिक वन क्षेत्रको ३ विगाह जग्गा छुट्याइएको छ । प्रसोधन केन्द्रका लागि ३ कोठे पक्कि कार्यालय भवन, विद्युत लाइन बिस्तार लगायतका कार्य सम्पन्न भएको छ ।
प्रसोधित फोहोरबाट जैविक फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने नगरपालिकाको लक्ष्य छ । अजैविक एवम् प्लाष्टिकजन्य फोहोरबाट विभिन्न सामग्री निर्माण गरिने छ ।