दार्चुला । पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक छ लाख भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। कक्षा ३ सम्म मात्रै अध्ययन गर्नुभएका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बनेका छन्।

स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खोज्नेहरुले गणेशबाट सिक्नुपर्छ। पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा मौरीपालन शुरु गर्नुभएका उनले यसै व्यवसायबाट आठ जनाको परिवार सजिलैसँगै पालिररहेका छन्। रिड्स नेपाल नामक संस्थाले सुरुमा दुई घार मौरी उपलब्ध गराएको थियो।

त्यही दुई घार मौरीबाट गणेशले ३०० घार मौरी बनाए। अहिले भने उहाँसँग ५० घार मात्रै छ। उनले भने “३०० घार बनाएको भए पनि अरु घार बिक्री गरें। अब ५० घार बाँकी हुन।”  सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले यहाँ मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको उहाँको भनाइ रहेको छ। कक्षा ३ सम्म मात्रै पढेका गणेशले स्वदेशमै श्रम बेचेर आफ्नो घरधन्दा चलाइरहेका छन्।

“छोराछोरीको पढाइ गर्न कुनै समस्या छैन,” उहाँले भन्नुभयो – “घरधन्दा चलाउन कसैसँग मुख जोड्नुपरेको छैन।” वार्षिक ५० घार जति बिक्री गर्ने गरेको र चार क्विन्टल मह बिक्री गर्ने गरेको उनले बताए। स्थानीय बजारमा मह प्रतिकिलो ८०० का दरले बिक्री हुने गरेको छ। उनले भने “मौरीसहितको घार बिक्री गर्दा प्रति घार आठ हजार प्राप्त हुन्छ।”

मौरीपालन व्यवसायबाट उहाँको वार्षिक छ लाखभन्दा बढी आम्दानी हुने गरेको छ। मौरीपालन गर्दा सुरुमा केही अप्ठेरो आएको भए पनि अहिले आएर कुनै समस्या नभएको अनुभव उनले सुनाए। हाल रहेका ५० घार मौरीबाट अबको केही दिनभित्रै २०० घार बनाउने उनको लक्ष्य छ। आउँदो वर्षमा पाँच क्विन्टल मह बिक्री गर्ने सोच बनाएका ४४ वर्षीय गणेशले मौरी पाल्ने मोह नै आफूमा रहेको बताउछन्। उनले भने “व्यवसाय गर्न उमेर र पढाइ नभएर रोकिँदैन। काम गर्ने इच्छा हुनुपर्छ जाँगर आफैँ आउँछ।”

उनलाई मह बिक्री गर्न कुनै समस्या छैन। घरमै मह किन्न ग्राहक आउने उनले बताए। “दार्चुला, बैतडी, डडेल्धुरा तथा छिमेकी राष्ट्र भारतबाट समेत मह किन्न ग्राहक आउँछन्” उनले भने “मह तथा मौरी घार बिक्री गर्न कुनै समस्या छैन। घरमै आउने गरेका छन् ग्राहक।”  मौरी एक उपयोगी किरा हो। यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ।

यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्‍याएको हुन्छ।  थोरै लगानीमा वर्षभरि आम्दानी हुने भएपछि यहाँका अरु कृषक पनि मौरीमा लगानी गर्न हौसिएको उहाँले बताए। मौरी पाल्न खासै अध्ययन आवश्यक नपर्ने उनको अनुभव छ। उनले भने “हातमा सीप भयो भने मान्छेले जे पनि सक्दो रहेछ, पढाइ नभए पनि।” एकान्त ठाउँ मन पराउने मौरीको चरनका लागी चिउरी तथा तोरीको बारी आवश्यक हुन्छ।

उनले तोरीबारी नजिकै मौरीका घार राखेका छन्। मौरीले बिरुवाको परागसेचनमा सहयोग पुर्‍याउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकको भनाइ छ। यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ।  रासायनिक विषादीको प्रयोग बढ्नुजस्ता कारणले मौरीको चरन क्षेत्र खुम्चिँदै गएको उनको गुनासो छ। उनले भने “चिसो मौसममा चरन क्षेत्र कम हुने भएकाले चिनीको चास्नी खुवाउने गरेको छु।” मौरीपालनसँगै गणेशले तरकारी खेती र बाख्रापालन समेत गरेका छन्।

बाख्रापालन र तरकारी खेतीबाट समेत उहाँले थप आम्दानी गरिरहेका छन्। तरकारी खेतीबाट पनि मात्रै उनले वार्षिक तीन लाख कमाउछटन् भने बाख्रापालनबाट वार्षिक दुई लाख। मौरीपालन व्यवसाय गर्नसके निकै फाइदा हुने भएकाले यस व्यवसायमा लाग्न उनी अरु युवालाई सुझाव दिन्छन्। उनले भने “कम लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ, बेरोजगार युवाका लागि मौरीपालन व्यवसाय आम्दानीको भरपर्दो स्रोत हो।”

मौरीपालन व्यवसायबाट आत्मनिर्भर बनेका गणेश गाउँकै लागि उदाहरणीय भएको स्थानीयवासी मानबहादुर कार्कीले बताए। स–सानो लगानीमा थोरैथोरै मह उत्पादन गर्न सकिने भएपनि व्यावसायिक रुपमै मौरीपालन गर्न ठूलो लगानी गर्नुपर्छ। लगानीमैत्री वातावरण, आधुनिक प्रविधिसँगसँगै नेपाली मह उत्पादक कृषकलाई अन्तरराष्ट्रिय बजारसम्मको पहुँच दिलाउने राष्ट्रिय नीति आवश्यक भएको मौरीपालक किसानहरु बताउँछन्।