धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही चिकित्सकहरुले कमिसनको लाेभमा बिरामी तथा विरामीका आफन्तहरुलाई निश्चित मेडिकल हलबाट औषधि ल्याउन सिफारिस गर्ने गरेका छन् । [caption id="attachment_67489" align="alignnone" width="963"] एमआरपी मूल्य भएको सर्जिकल सामग्री र एमआरपी उल्लेख नभएको सामग्री (पहिलाे)। धर्म मेडिकल हलबाट खरिद गरेको औषधिको बिल (दाेस्राे राताेमा) । तस्बिरः भाेजराज[/caption] चिकित्सकहरुले सिफारिस गरेका औषधि तथा औषधिजन्य सर्जिकल सामग्रीहरुमा ‘मूल्य ट्याग’ समेत भेटिदैन । यसका भुक्तभोगी धरान–१७ का भक्त पौडेल भन्छन्, ‘डाक्टरहरुले यहीँ चाहियो भनेर बिल लेखेर पठाइदिन्छ । जुन औषधिको मूल्यसमेत हुँदैन । बजारमा १५०–२ सय जति रुपैया पर्छ । हामीले ११ सय रुपैया माथि तिर्नुपर्छ ।’ पाठेघर सम्बन्धी समस्या भएर श्रीमती पार्वता पौडेलको उपचार गराइरहेका पौडेलले ‘डाक्टर र औषधि पसल’ मिलेर विरामी तथा विरामीका आफन्तलाई सरासर ठगी गरिरहेको आरोप लगाए । उनले किनेको सामग्री सल्यक्रियापछि प्रयोग गरिने धागो हो । जसको बजार मूल्य उल्लेख भएको देखिएन । भारतको मेरिल इण्डो सर्जरी प्रालि गुजरातले उत्पादन गरेको ‘एसपिरोन’ नामक उक्त सामग्रीमा बजार मूल्य टाँस गरेको पाइएन । ब्राण्डेड त्यही सामग्रीको एमआरपी मूल्य ३९० उल्लेख गरिएको हुन्छ (हे. तस्बिर)। नाम नछाप्ने शर्तमा एक औषधि पसलका सञ्चालकले भने, ‘यसको बजार मूल्य एकसय रुपैया माथि हुँदैन । कतिपय औषधि पसलेले एमआरपी काटेर पनि बेच्ने गरेका छन् । अझ भारतको बम्बईमा यो सामग्री केजीको ३ सय रुपैया पर्छ ।’ उनका अनुसार चिकित्सकहरुलाई उक्त कम्पनीका प्रतिनिधिहरुले ‘राम्रो प्रतिशत’ दिएका कारणले त्यही सामग्री सिफारिस गर्ने गरेको छ । ‘हामीलाई नै २० प्रतिशतसम्म मुनाफा दिएको हुन्छ ।’ ती पसलेले हाँकाहाँकी भने, ‘झन डाक्टरहरुलाई कति दिएका होलान् ।’ उक्त सामग्री जुनसुकै पसलेहरुले राख्दैनन् । निश्चित पसल तोकिएको हुन्छ । त्यही पसलमा गएर किन्नु पर्ने र त्यो पनि महंगो मूल्य तिर्नु पर्ने बाध्यता रहेको विरामीका आफन्तहरु बताउँछन् । ‘विरामीलाई मार्ने काम गरिरहेको छ ।’ पौडेल भन्छन्, ‘सिधै ठगी भइरहेको छ ।’ एक साता अघि हर्नियाका एक बिरामीको उपचारमा संलग्न भएकी समाजसेवी तथा महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्य भन्छिन्, ‘चाहिने औषिधहरु सबै बाहिर किनाउने त्यो पनि सबै दोकानमा किन्न नपाउने, एउटै दोकान तोकिदिएको हुन्छ ।’ उनका अनुसार ती मजदुरलाई सल्यक्रियाका लागि चाहिने औषधि तथा सामग्रीहरु ७ हजार मूल्य तिरेर अन्य पसलबाट लगेको केही क्षणपछि नै डाक्टरहरुले फर्काएको थियो । ‘बाहिर किनेर लाँदा त्यो लगाइदिएन, अर्को पसलबाट ल्याउँदा भएन्, रातारात अर्को किनायो । त्यस्तो गरिव मान्छेले २५ हजार रुपैया हालेर किन्यो ।’ उनले भनिन् । किन एउटै दोकानबाट किन्न बाध्यता बनाउनु भयो ? भनेर डाक्टरलाई फोन गरेर बुझ्दा उहाँको त्यस्तै खाल्को केश थियो । त्यो कारणले उहाँलाई चाही राम्रै खाल्को जाली लगाउनुपर्छ भन्ने जवाफ फर्काएको उनले बताइन् । वर्ड नामक कम्पनीको उक्त जाली धर्म मेडिकल हलबाट किनाइएको बिल ब्लाष्टसँग सुरक्षित छ । यी दुई प्रतिनिधि घटनाबाट पनि प्रतिष्ठानका चिकित्सकहरुले ‘कुनै न कुनै तवरबाट’ कमिसन लिने गरेको तथ्य उजागर हुन्छ । निश्चित मेडिकल हललाई उक्त ‘सर्जिकल’ सामग्री बेच्न दिने कारण अन्य मेडिकल हलहरुले उक्त सामग्री राख्ने गरेको पाइदैन । ती मजदुरलाई किनाएको औषधिमासमेत एमआरपी मूल्य देखिदैन । जसको बजार मूल्य कति हो भन्नेसमेत ज्ञान हुँदैन । नागरिकको सूचनाको हक–२०६४ अनुसार उपभोक्ताले प्रत्येक सामानको मूल्य थाहा पाउने अधिकार राख्दछन् । त्यति मात्रै हैन, आफूलाई चाहेको पसलबाट खरिद गर्न सक्ने मौलिक अधिकारसमेत संविधानले प्रत्याभूत गरेको छ । तर, डाक्टरहरुले औषधि र पसलेबाट छुट्टाछुट्टै कमिसन पाउने लोभमा बिरामी तथा आफन्तहरुलाई ठगिरहेका छन् भन्ने माथिको प्रतिनिधि घटनाबाटै प्रष्ट हुन्छ । यस विषयमा प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले भने, ‘दवाईमा एमआरपी मूल्य लेखेको छैन भने त्यो अनुगमन गर्ने काम ड्रग एडमिनिस्टे«सनको हो । त्यसमा प्रतिष्ठानले केही गर्न सक्दैन । तर, कुनै चिकित्सकले विरामी वा आफन्तलाई निश्चित पसलबाट किन्न फोर्स गर्छ भने त्यो गलत कुरा हो त्यो माथि कडा भन्दा कडा कारबाही हुन्छ ।’ कसैले प्रमाण ल्याए कारबाही मात्रै हैन, प्रतिष्ठानले निलम्बनसमेत गर्ने उनले बताए । यस विषयमा औषधि व्यवस्था विभाग प्रदेश १ कार्यालय विरानटगरमा सम्र्पक गर्दा कार्यालयले अनुगमन गरेर छानविन गरिने बतायो ।