सिड्नी/ नेपाली विद्यार्थीको चाप मात्र बढिरहेको छैन अस्ट्रेलियामा। पछिल्लो समय नेपाली चलचित्र निर्माता तथा कलाकर्मीका लागि पनि आकर्षक मुलुक बनेको छ अस्ट्रेलिया। मध्यम खालको चलचित्रले पनि अस्ट्रेलियाबाट १० देखि २० लाख रुपैयाँसम्म उठाउन सक्ने अवस्था छ। तर, सबै चलचित्रले नाफाकै व्यापार भने गर्न सकेका छैनन्। पछिल्लो समय अस्ट्रेलियामा नेपाली चलचित्रको व्यापारमा वितरकबीच अस्वस्थ प्रतिस्पर्धा पनि चल्न थालेको छ। देखासिखी तथा अहम्का कारण फिल्म भित्र्याउने प्रवृत्तिका कारण बजारमा पनि असर पर्न थालेको कतिपयको आकलन छ।

अस्ट्रेलियामा नेपाली चलचित्र वितरण गर्ने वितरकहरू नेपालमा चलेका र बढी चर्चा पाएका आधारमा चलचित्र किन्ने गरेको बताउँछन्। तर, सबैको हकमा यस्तो देखिँदैन। कतिपय वितरकले निर्माता चिनेजानेको र निकट भएको हिसाबले गुणस्तरहीन फिल्म पनि किन्ने गरेका छन्। ‘लुट’ र ‘वडा नम्बर ६’ फिल्म वितरण गरेका खिलेन्द्र तिमिल्सिनाका अनुसार व्यावसायिक सोचभन्दा पनि चिनजानको आधारमा चलचित्र ल्याउन खोज्ने केही व्यक्तिका कारण बजार बिग्रिन थालेको छ। त्यही कारण पहिलेको तुलनामा अस्ट्रेलियामा नेपाली फिल्मको बजार खस्केको उनको ठम्याइँ छ।

‘पुरानो डुंगा’, ‘लुट २’ जस्ता चलचित्र महँगोमा किनेर चर्चामा आएका तिमिल्सिना बजार राम्रो बनाउन राम्रो चलचित्रभन्दा पनि चिनजानका आधारमा हाम्रो चलचित्र भन्ने सोच त्याग्न आग्रह गर्छन् ‘अरूको चलचित्रमा रिस्क लिएर ल्याउनुभन्दा आफैं चलचित्र बनाउँ भन्ने सोचेर मैले दुई चलचित्र कागजपत्र र मिस्टर भर्जिन बनाउन लागेको हुँ’, उनले बताए।

पछिल्लो समय केही चलचित्रले आशा गरे अनुरूप व्यापार नगरेपछि अस्ट्रेलियामा नेपाली चलचित्र किन्नेहरू पनि झस्किन थालेका हुन्। लामो समयदेखि सिड्नीमा बसेर चलचित्र निर्देशन र प्रदर्शनमा लागिपरेका मनोज अधिकारीको बुझाइमा चलचित्र किन्न अस्वस्थ प्रतिस्पर्धा चलेकाले नै बजारमा नकारात्मक असर परेको हो। ‘एउटाले यति रकम दिन्छुभन्दा अर्कोले त्योभन्दा बढी दिन्छु भन्छन्, उनले भने, ‘बजारको ख्याल नगरिकन अव्यावसायिक काम गर्दा नराम्रो अवस्था देखिएको हो।’

चलचित्र वितरकबीच तारतम्य नमिल्दा एकातिर लगानी उठ्न गाह्रो परेको छ भने अर्कोतिर जस्तो पायो त्यस्तो चलचित्र ल्याउँदा दर्शकमा नेपाली चलचित्रको बारेमा नै गलत प्रभाव पर्न थालेको छ। राम्रो प्रचारप्रसार गर्न सकियो र राम्रो चलचित्र भयो भने नेपाली चलचित्रको व्यापार झनै उकासिने कुरामा जोड दिन्छन् आरके एस अस्ट्रेलियाका रवीन्द्रकुमार शर्मा। उनीले चलचित्र दुई रुपैयाँको १० वटा सो गरेका थिए।

लामो समयदेखि अस्ट्रेलियामा बसेका र चलचित्र ‘नाइँ नभन्नु ल, राधालगायतका चलचित्रसमेत निर्माण गरेका दिनेश पोखरेल फिल्म निर्माताले अस्ट्रेलियामा फिल्म बेचेर बढी पैसा पाउने महत्वाकांक्षा त्याग्नुपर्ने सुझाव दिन्छन्। अस्ट्रेलियामा चलचित्र बेच्दा बजार नै नहेरी हचुवाको भरमा धेरै पैसा मागेमा यहाँ भएको केही बजार पनि गुम्न सक्ने उनको भनाइ छ।

अस्ट्रेलियामा चलचित्र बेच्दा बजार नै नहेरी हचुवाको भरमा धेरै पैसा मागेमा यहाँ भएको केही बजार पनि गुम्न सक्ने बताउँछन ‘हो र होइन होलाका’ रोशन भट्टराई। ‘बजारको माग र चर्चा नै नभइकन बढी रकम माग्ने कार्य नरोकिएमा भएको बजार पनि गुम्न सक्ने अबस्था आउन सक्छ’, भट्टराईको सुझाब छ।