सुनसरी । कोसी टप्पु वन्य जन्तु आरक्षमा रैथाने जंगली हाती मानववस्तीमा प्रवेश गरी आतंक मच्चाए पछि सरकारले हात्ती रोक्न पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ । हातीलाई मानववस्ती प्रवेशमा रोक्नका लागि सुनसरीतर्फ विद्युतीय घेराबेरा निर्माण गर्न उक्त बजेट छुट्याइएको हो । कोसी टप्पु क्षेत्रमा पर्ने सुनसरीसँगै सप्तरी र उदयपुर जिल्लाको मानववस्तीमा प्रवेश गरी स्थानीय रैथाने जंगली हातीले आतंक मच्चाउने गरेको छ । हातीले आतंक मच्चाउने क्रममा सवैभन्दा बढी सुनसरीमा मानवीय क्षती पु¥याए पछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको हरिपुरदेखि प्रकाशपुरसम्म दीर्घकालिन रुपमा विद्युतीय घेराबेरा गर्न बजेट छुट्याएको जानकारी दिए । उनले सुनसरीलाई वारम्वार भईरहेको समस्या रोक्न अभियान थालेको पनि जनाए ।
प्रकाशपुरदेखि श्रीपुरसम्म १४.७ किलोमिटर वद्युतीय घेराबेरा गरेपनि हातीले घेराबेरा नजिकैको रुख लडाएर घेराबेरा बिग्रारी गाउँ प्रवेश गर्ने गरेका छन् । ‘हातीले गर्दा धेरैले अकालुमा ज्यान गुमाउनु परेको पीडा अन्त्य गरि अब आइन्दा त्यस्ता घटना हुन नदिन बजेट छुटयाइएको हो,’ कार्कीले भने । कोशी टप्पु आसपास स्थानीय रैथाने जंगली हात्ती दिनहुँ गाउँमा प्रवेश गर्ने गर्छन् । कार्कीले कोशी टप्पु आसपासका क्षेत्रमा भईरहेको हात्ती आतंक रोकिने उनको भनाई छ ।
कोशी टप्पु वन्य जन्तु आरक्ष आसपास मंसिरको दोस्रो साता पाँच दिनको अवधिमा चार जनाको मृत्यु हुन पुगेको थियो । हातीको आक्रमणबाट आर्थिक बर्ष २०७३–०७४ को अवधिमा मात्र छ जनाको मृत्यु भएको थियो । भारतको पश्चिम वंगालबाट झापाको बाहुनडागी हुदैं चारकोसे झाडीको सिराहसम्म हाती आउँजाउँ गर्ने भएपनि पछिल्लो समय वन विनासले गर्दा मार्ग बन्द हुन पुग्दा कोशी टप्पुको आरक्ष क्षेत्रमै केही हाती सीमित हुन पुगेको जानकारी दिइयो । ‘हातीका लागि सीमित क्षेत्र भएकाले गर्दा आरक्ष क्षेत्रको मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने गरेका हुन् ।
हाती अन्तर्राष्ट्रिय जन्तु हो, यसलाई संरक्षण गर्ने दायित्व पनि हाम्रै हो,’ कोशी टप्पु वन्य जन्तु आरक्षका वार्डेन श्यामकुमार साहले भने, ‘अहिले पनि हातीलाई कसरी भाग्छ कर्मचारी परिचालन गरेर त्यही उपाय अप्नाउने गरिएको छ ।’ उनका अनुसार, पछिल्लो समय मुकाना नाम गरेको दात नभएको हात्तीले तीन जनाको ज्यान लिएपछि त्यसलाई भने सेटलाइट रेडियो कलर पनि लगाइएको छ । पछिल्लो समयमा जंगली हात्तीका कारण समस्या बढीरहेको शाहको भनाई छ ।
रेडियो कलर लगाउँदा हाती जहाँ जहाँ जान्छ इन्टरनेटको माध्यमबाट हेर्न सकिन्छ, गाउँ प्रवेश गर्नासाथ तत्काल रोक्न सकिन्छ । कोशी टप्पु वन्य जन्तु आरक्ष क्षेत्र आसपासका मध्यवर्ती क्षेत्रमा अहिले एउटा हात्तीले बढी विध्वंस मच्चाउँदै आएपनि जम्मा १५ वटा रैथाने हाती रहेका छन् । आरक्षमा हातीसँगै अर्नाको आक्रमणबाट पनि सर्वसाधारणको ज्यान जाने गरेको छ। २०६६ सालयता अर्नाको आक्रमणबाट मात्र १२ जनाको मृत्यु भइसकेको छ। आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् ।