धरान/बाँसको चोयाबाट निर्मित हस्तकला सामग्रीमा युवाहरुको आर्कषण लोभलाग्दो गरी बढेको छ । [caption id="attachment_67611" align="alignnone" width="1011"] तस्बिरः भाेजराज[/caption] यसका ज्वलन्त उदाहरण साघुँरीगढी गाउँपालिका–६ नाम्जेका नविनकुमार मगर बनेका छन् । चोयाबाट निर्मित उनको हस्तकला सामग्री हेर्दा २४ वर्षीय मगरमा बाँसका सामग्रीमा लगाव रहेको प्रष्ट हुन्छ । बाँसको चोयाबाट निर्मित सामग्री निर्माण गर्न थालेको तीनवर्ष भयो । त्यही सामग्रीले उनको परिचय फेरेको छ । घरेलु तथा साना उद्योग धनकुटाबाट तालिम पाएपछि उनले बाँसका सामग्री निर्माण गर्न थालेका हुन् । तर, उनमा बाँसको सामग्री निर्माण गर्ने ‘भोक’ धेरै अघिदेखि नै हो । भन्छन्, ‘बाँसको सामग्री बनाउने रोजन राईको कला देखेको थिएँ । इटहरीमा पनि हेरेको थिएँ । त्यहाँबाट प्रभावित थिएँ । त्यही बेला तालिम आयो, सिकेँ ।’ एक महिना बाँसको फर्निचर बनाउने तालिम लिएका उनले सिलाई बुनाईमा पर्ने बाँसका चोयाका सामग्रीमा ४५ दिन तालिम लिए । बाँसको कलात्मक सामग्री निर्माण गर्न कलाकार रोजन राई पूर्वका ‘टाइकुन’ हुन् । उनको कलात्मकता पूर्वमा मात्रै सिमित छैन्, नेपालभरी नै प्रख्यात छ । उनको सामग्री विदेशसम्म पनि पुगेको छ । उनले आफैले भेडेटारमा सञ्चालन गरेको होटल मनशान्तमा पनि अधिकांस सामग्री बाँसबाट निर्मित छन् । त्यो कलाबाट प्रभावित बनेका मगरले पनि त्यस्तै सामग्रीहरु बनाएर बजार पु¥याइरहेका छन् । त्यो बेला गाउँमा धेरै युवाले हस्तकलाको तालिम लिएका थिए । तर, निरन्तरता दिने उनी एक्ला युवा हुन् । ‘खैँ तालिम लिएको चाँही १०–१५ जनाले हो । तर, अहिलेसम्म कन्टिन्यु गर्ने चाहीँ छैन ।’ छैठौं भेडेटार फुड फेष्टिभलको स्टलमा भेटिएका उनी भन्छन् । चोयाँबाट हस्तकला सामग्री निर्माण गर्ने परम्परा पुरानो हो । पूराना पूस्ताहरुले घरगाउँमा बुन्थे । प्रयोग गर्थे । तर, परम्परागत यो सीप युवापूस्तामा हस्तान्तरण हुन सकेको थिएन । जसका कारण ढोको, नाम्लो, थुन्चे, ढाँकीलगायतका सामग्री लोप हुँदै गएको छ । ठीक विपरीत मगरले यी सामग्रीहरुलाई कलात्मक तरिकाले निर्माण गर्दै आम्दानीको स्रोत बनाइरहेका छन् । उनलाई बाँसका सामग्रीको माग आउने गरेको छ । ‘एकसय रुपैयादेखि ६ हजार रुपैयासम्मको सामग्री बनाउँछु ।’ उनी भन्छन् । कति कमाई हुन्छ भनेर जिज्ञासा राख्दा उनी थप्छन्, ‘ठ्याक्कै यति नै कमाई हुन्छ भन्ने हुँदैन । कुनै महिना १० देखि १५ हजार रुपैयासम्म हुन्छ । कुनै महिना २० हजार रुपैयासम्म पुग्छ ।’ उनले फूलदानी, ब्रसदानी, नाङ्लो, डालो, क्रोको, टी टेवल, कुर्सी, जुत्ता र्याग, सोफासेटसम्म बनाउँछन् । सोफासेट, टी टेवल र कुर्सीहरु चाही माग आएपछि मात्रै बनाउँछन् । अन्य सामग्रीहरु नियमित बनाउँछन् । उनको बाँसका सामग्रीको माग धनकुटा, धरानबाट हुने गरेको छ । र, बनेका सामग्रीहरु अधिकांस धनकुटा पुग्छ । जुत्ताचप्पल ¥याक उनको तालिमपछिको पहिलो सामग्री हो । र, कमाई पनि पहिलो नै हो । १३ सय रुपैयामा बिक्री गरेको ¥याकको पैसा हालसम्म चलाएका छैनन् । ‘शुरुमा तेह्रसयमा बेचेको हो । जिन्दगीको पहिलो आम्दानी त्यही तेह्रसय हो । त्यो पैसा राखिरा’छु ।’ प्लस टुसम्म अध्ययन गरेका मगर भन्छन् । बाँसको सामग्री बेचेर उनले एकलाख रुपैया जति बचत गरेको बताउँछन् ।