भद्रपुर । प्राविधिक त्रुटीले निर्माणाधिन अवस्थामा रहेको पक्की शव दाह स्थल(घाट) भत्किएका कारण लाखौ रकम नष्ट भएको पाइएको छ । झापाको साविक चन्द्रगढी र हल्दिवारी गाविसको सीमानामा रहेको कलवलगुरी प्रशिक्षण केन्द्र छेउ देउनिया नदीमा निर्माणाधिन घाट कामै नलाग्ने गरि भत्किएको पाइएको हो । घाट निर्माणमा हालसम्म ७ लाख २५ हजार खर्च भइसकेको निर्माण समितिले जनाएको छ । स्टमेट अनुसार निर्माण नभएका कारण नदीमा आएको बाढीले घाट भत्काएको स्थानीयको भनाइ छ । मानिसको मृत्युपछि व्यवस्थित रुपले दाहसंस्कार गर्ने उदेश्य लिएर साविक चन्द्रगढी गाविस हाल भद्रपुरनगरपालिका क्षेत्रका केहि वडाका स्थानीयको भेलाले भद्रपुर १० तथा हल्दीवारी गाउपालिकाको सीमानामा रहेको देउनिया नदीमा मलामी विश्रान्ती भवनसहित घाट निर्माण गर्ने सोच बनाएका थिए । चार वर्ष अघि अर्थात् ०७० माघ ११ गते स्थानीयको भेलाले माधव प्रसाद गौतमको संयोजकत्वमा १३ जनाको भवन निर्माण तदर्थ समिति गठन गरेको थियो । भेलाले कलबलगुरी शव विश्रान्ती देवनिया घाट नामकरण गरेको थियो । सोहि महिनाको १९ गते राधाकृष्ण ढकालको संयोजकत्वमा सात जना सदस्य रहने गरि श्रोत संकलन र डिल्लीराम खतिवडाको संयोजकमा आठ जनाको निर्माण उपसमिति गठन भएको थियो । समितिको लामो छलफल तथा बैठकले एक कार्यक्रमको आयोजना गरि ०७१ वैशाख १७ गते शिलान्यास गरेको थियो । समितिले हल्दीवारी गाउँपालिकाका नरेश राजवंशीलाई डेढसय प्रति स्कुवायर फिटका दरले ज्याला मज्दुरी गर्ने गरि ठेक्का लगाएको थियो । भवन तथा घाट निर्माणको लागि स्थानीय दाता, संसदकोष र संघसंस्थाले दिएको २० लाख रकम मध्ये १९ लाख ७५ हजार खर्च भइसकेको कोषाध्यक्ष डिल्लीराम खतिवडाले बताए । जस्मा दाताहरुवाट साढे १२ लाख, संसद विकास कोषको ७ लाख र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिवाट ५० हजार रकम संकलन भएको खतिवडाको भनाइ छ । हालसम्म भवनमा साढे १२ लाख र घाटमा ७ लाख २५ हजार खर्च भइसकेको छ । तर, घाटमा भएको खर्च भने बालुवामा पानि भएको पाइएको छ । निर्माण समितिका संयोजक माधव प्रसाद गौतमले प्राविधिक लगायत कसैले पनि भनेको नमानी जवरजस्ती निर्माण गरेका कारण घाट भत्किएको स्थानीय नाग्रु राजवंशीले आरोप लगाए । हामीले बोल्दा त बाठो हुन्छस, तँलाइ के थाहा छ ? यस्ता काम कति गरियो गरियो भन्दै बोल्नै नदिने गरेको उनले बताए । उनको स्वभावले हचुवाको भरमा काम गर्दा जनताले दिएको घर लौरी र सरकारको रकम खेर गएको उनको भनाइ छ । निर्माणहुदै गर्दा गाडी चढेर ठुला ठुला मान्छे आउथे अहिले त कोहि पनि नआउने गरेको उनको भनाइ छ । वरिपरी तार घेरा नगरेका कारण झाडीले भवननै छोपिसकेको उनले बताए । सार्वजानिक संरचनामा सवैको लगानी परेकोले प्राविधिकको रेखदेख नपुगेर होकि नगरेर हो जनताको रकम पानीले भत्काएको भद्रपुर १० कलवलगुरीका रामजी दाहालले बताए । अध्यक्षको व्यत्तिगत स्वभावले पनी यस्तो घट्ना हुनसक्ने उनको भनाइ छ । घाटमा पिलर नउठाइ काम गरेका कारण कमजोरी भइ बाढीले भत्काएको उनले जनाए । प्राविधिकको स्टीमेट अनुसार भएको हो भने सरासर गलत भएको स्थानीय युवराज काफ्ले बताउँछन् । पिलर उठाएर तलवाट पानी बग्ने हुनु पर्नेमा सो नभई पानीको भेल जान नपाएका कारण घाट भत्किएको उनले बताए । मैले बारम्बार सो क्षेत्रमा उपयुक्त हुदैन भन्दा भन्दै जवरजस्ती निर्माण गरेका कारण भत्किएको तत्कालिन चन्द्रगढी सामुदायिक उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद भट्टराइले बताए । घाटमा खर्च भएको रकम पुर्णरुपममा खेर गएको उनको भनाइ छ । निर्माणाधिन अवस्थामा बाढी आएका कारण घाट भत्किन गएको निर्माण समितिका उपाध्यक्ष हरिकिशोर आचार्यले बताए । यो मात्र नभइ अन्य क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको उदाहरण दिर्दै प्राकृतिक विपत्तीले यस्तो भएको उनले बताए । सवै काम प्राविधिकले भने अनुसारनै गरेको उनले दाबी गरे । निर्माण समितिका सचिव ऋषि चापागाइलाई यो विषयमा जानकारी गराउदा खाता हेरेर मात्र विवरण दिन सकिने भएकोले केहि दिनमा विवरण उपलब्ध गराउने जवाफ दिएका थिए । सचिवले दिएको समयपश्चात बारम्बार फोन सम्पर्क गर्दा उनले रिसिभ गरेनन । सचिवले विवरण दिन आनकानी गरेको आधारमा निर्माण कार्यमा केहि अनियमितता भएको अनुमान लगाउन सकिन्छ । निर्माणाधिन संरचनाको स्टीमेट गर्ने जिल्ला प्राविधिक कार्यालय झापाका प्राविधिक सन्तोष आचार्यले घाट भत्किएको विषयमा आफुलाइ जानकारीमा नआएको बताउँछन् । नदीमा पिलर धसाएर स्टीमेट तयार गरेपनि समितिले रकम अभावले खर्चिलो हुन जाने बताएपछि समितिले गरेको निर्णयका आधारमा काम गरेको उनको भनाइ छ । खोलामा धेरै बाढी नआउने भएकोले अहिलेलाइ काम चलाउ बनाउने भन्ने समितिवाट कुरा आएपछि निर्माण सुरु गरिएको उनले जनाए । नक्सा अनुसार काम नभएको उनको भनाइ छ ।