म्यारी जे व्लिजले भनेकी छन्–म को हुँ भन्ने मलाई थाहा छ, म पूर्ण छैन । म संसारको सवैभन्दा सुन्दर आइमाई होइन तर ति मध्येकी एक हुँ । लगभग नेपालकी बैंकर रवीना देशराज श्रेष्ठसँगको कुराकानीका केही घन्टाको निचोड पनि यहि थियो । झट्ट हेर्दा उनी सुन्दर छिन् र उनको विचार पनि त्यस्तै नै छ । कन्ट्रोभर्सी होस् या समाचारका सुर्खियाँहरू प्रायः रवीनाको नाम मिडियामा आइ नै रहेको हुन्छ । अझ, आजभोली उनी मिडियामा निरन्तर छाउनुको कारण हो– उनी मिडियासँग नजिक छिन्, फिल्मनगरीसँग सम्बन्ध राख्छिन् र एलिट समाजमा हिँड्न जानेकी छन् ।

उनलाई नियाल्ने हो भने उनको अनुहारमा चमक छ, हातमा ‘फ्रिडम’ भनेर ट्याटु खोपिएको छ । उनको खुट्टामा पनि ट्याटु रहेछ, जुन सहज देख्न सकिँदैन । यसका दुईटा कारण उनले सुनाइन् । पहिलो, अध्यात्ममा पनि उनको लगन छ, खुसी हुने तरिका उनी खोजीरहेकी छन् । दोस्रोचाहीँ, उनी हरेक मानिस स्वतन्त्र हुन पाउनुपर्ने दाबी गर्छिन् र उनका केही साधारण दलिलहरू छन्, त्यसउपर । त्यसकारण ट्याटु उनका लागि सन्तुष्टिको ट्याव्लेट नै बनेको रहेछ । समाजमा महिलाको ऐना बन्न खोजेको प्रयत्नहरू कोट्याउने रवीनाका अंग्रेजी शव्दहरू गह्रौं छन् जवाफहरूमा नेपाली वाक्यको तालमेल नभएपनि भावार्थ बुझ्न सकिन्छ ।

बाल्यकालबारे विस्तृत नखुलेकी उनी भन्छिन्,‘पुतलीसँग खेलेर र हावासँग नाचेर मेरो बालापन वित्यो ।’ त्यसबाहेकका उनका समयहरू विद्यालय, होस्टेल, कलेजका अनुशासनमा वितेका कारणले पनि होला किशोरावस्थाका चकचकबारे उनी खुलिनन् । उनी आफ्नो परिचयको अगाडी ‘बैंकर’ थप्ने गर्दी रहिछन् । एक शव्दमा उनको परिचय ‘बैंकर रवीना’ भनिन् ।

२५ वर्ष बैंकिङ क्षेत्रमा सक्रियताका साथ काम गरिरहेकी उनको उमेरको हिसावकिताव हुँदैन । उनको अनुहारको चमक र शारिरीक बनोटले भन्छ– उनी शरिरप्रति संवेदनशिल छिन्, स्वास्थ्यप्रति सजग । फिल्मी क्षेत्रमा यदाकदा नाम जोडिएर आउने उनी फिल्म क्षेत्रकै संगठनहरूमा आवद्ध पनि छन्, उनले एउटा फिल्ममा अभिनय पनि गरेकी थिइन् । त्यसबाहेक उनका छोराहरू अयुष्मान र आशिरमान देशराज श्रेष्ठका कारण पनि उनको फिल्मी क्षेत्रसँगको सम्बन्ध प्रगाढ रहेको दाबी गर्छिन् । मेगा बैंकको उपमहाप्रबन्धक पदमा रहेकी रवीना त्यहाँ प्रमुख सूचना अधिकृतको जिम्मेबारीमा पनि छन् ।

भारतको वेस्ट वंगालमा रहेको डा. ग्राहम्स् होम्स स्कुलमा औपचारिक शिक्षा पुरा गरिन् । १९७२देखि १९८५ सम्म त्यस स्कुलमा पढ्ने क्रममा उनलाई ‘ट्वाइलेट सफा’ गर्नेसम्मका फरक कामहरू सिकाएको उनले बताइन् । त्यहाँ सवै विद्यार्थीलाई फरक चिजहरू सिकाइन्थ्यो । उनी भन्छिन्,‘त्यस स्कूलले मलाई ट्वाइलेट सफा पनि गर्न सिकायो र एउटा सानो बच्चाको केयर गर्न, रेडि बनाएर स्कूल पठाउन, होमवर्क गराउन आदि कुराहरू सिकाएको थियो ।’ त्यहि आधारका कारण होला अहिले पनि उनी फरक कामहरूमा पनि त्यति नै सक्रिय हुन्छिन् ।

१९८६ देखि १९८७ सम्म मैले मोडन इन्डियन स्कूल पढेकी उनी १९८७ देखि १९९० सम्म शिक्षायतन कलेज, कलकत्ता विश्वविद्यालयमा पढेकी थिइन् । सोही क्रममा उनी समाजसेवातिर पनि आकर्षित भइन् । भन्छिन्,‘बिहान कलेज जान्थें, दिउँसो मदर टेरेसा होम्स फर चिल्ड्रेन एण्ड इल्डरली ।’ तीनवर्षसम्म उनको समाजसेवी यात्रा त्यहि वितेको थियो । यहि समयखण्डलाई उनी ‘रङ्गीन’ ठान्छिन् । विकासका काममा सहभागी हुने लक्ष्य भएपनि उनी बैंकिङ क्षेत्रमा प्रवेश गरिन् । उनलाई लाग्यो– यहि क्षेत्रबाट पनि विकासका काम गर्न सकिन्छ । स्ट्यान्डर्ड चार्टर बैंकबाट उनले सन् १९९७ बाट नीजि क्षेत्रको जागिरे जीवन सुरू गरिन् । उनले म्यानेजरका रूपमा जागिर सुरू गरेकी थिइन् । त्यहाँ १३ वर्ष काम गरेकी उनको यो यात्राको निरन्तरता भने सिनियर म्यानेजरले गरेको आग्रहले पायो । विदेश जान खोजिरहेकी रवीनाले बैंकिङको निरन्तरता दिइन् र यहि क्षेत्रमा अहिलेसम्म २५ वर्षको अनुभव बटुलेकी छन् ।

सम्पन्न परिवारमा जन्म लिएका कारणले उनलाई विपन्नताको अनुभव त्यतिबेला भयो जतिबेला उनी मदर टेरेसामा काम गरिरहेकी थिइन् । ‘जब न्यानो ओछ्यानमा सुतीराखेको थिए, मिठो खाइराखेको थिए, मलाई मेरो मुमाबुबाले राम्रै स्कूलमा पढाइराख्नु भएको थियो । यहाँसम्म कि मेरो लुगादेखि जुत्तासम्म आफै आउथ्यो भने मैले त्यहाँ बिरामी मानिस महिनाको १० रूपियाँमा बाँचेको देख्दा मलाई अचम्म लाग्यो ।’, उनी अनुभव कोट्याउँछिन्,‘जीवनमा एउटा यस्तो व्यक्ति भेटेको थिए जो लिप्रसी(कुस्टरोग)को प्यासेन्ट थियो, उसको म हेरचाह गर्थे । उसको हात र खुट्टा थिएन तर उसले अत्ति हसाउँथ्यो । मैले कलकत्ताको पार्क स्ट्रिटमा यत्तिकै हिड्दै गर्दा एउटा गल्लीमा मैले बिरामीलाई लाइनै राखेर विदेशीले हेरचाह गरेको देखे त्यसपछि म त्यहाँ गएर सोधे त्यसपछि मलाई थाहा भयो त्यो डा.ज्याक प्रिगर भन्ने पेभमेन्ट डाक्टरको क्लिनिक रहेछ र त्यहाँ विदेशीहरू आएर सहयोग गर्नुहुँदो रहेछ अनि म पनि हेल्प गर्छु भनेर मैले भने ।’

समाजसेवामा अग्रसरता बढेपछि उनी त्यहिँ लालयित भइन् । उनले अगाडी थपिन्,‘त्यसपछि तिम्रो हात देखाउ त भनेर डा. प्रेगरले भन्नुभयो अनि म चाहिँ पहिले देखि नै नङ् पाल्ने उहाँले मलाई त्यो नङ काट्नपर्छ भनेर भन्नुभयो । त्यसपछि म त्यहाँ काम गर्न रेडि भए र त्यहाँ म मात्र त्यसतो व्यक्ति थिए जसलाई बेङगोली, हिन्दी र अङ्ग्रोजी आउथ्यो । म पछि कलकत्ताबाट फर्किर्नु अघि मैले त्यहाँका धनी मानिसहरूबाट केही लुगा वा जे हुन्छ त्यो सहयोग गर्न लगाए । मलाई त्यहाँ काम गर्दा आफू स्वस्थ भएको महसुस भयो र यसतो हुँदा पनि असहायलाई सहयोग किन नगर्ने भन्ने सोच आयो ।’

सामाजिक क्षेत्रमा आफ्नो सक्रियतासँगै सामिप्यता देखाएपनि उनको पारिवारिक जीवन भने एकल रहेको छ । २३ वर्षको उमेरमा विवाह गरेकी रवीनाले १७ वर्षपछि दाम्पत्य जीवनलाई त्यागिन् । २ छोरासहित उनी एक्लै बस्छिन् । उनी त्यसलाई एकल महिलाको रूपमा व्याख्या गर्छिन् । ‘मेरो सोच नमिलेपछि मैले श्रीमान्सँग अलग्गिएर बस्ने निर्णय गरें तर परिवारका अन्य सदस्यसँग मेरो सम्बन्ध अहिले पनि सुमधुर नै रहेको छ’, उनले सुनाइन्,‘चाहेको बेलामा मेरा श्रीमान्सँग अहिले कुराकानी पनि हुन्छ ।’ उनले सोच नमिल्नुको कारण भने खुलाउन चाहिनन् ।

प्रत्येक मान्छेको हातमा दिनको २४ घन्टा हुने र त्यसको सदुपयोग गर्न जान्दा खुसी हुनसक्ने अनुभव उनले सँगालेकी छन् । समयको सदुपयोग र व्यवस्थापन गर्न सक्नु नै कुशलता रहेको व्याख्या गर्ने उनी भन्छिन्,‘अनुभवका आधारमा नै मैले समयको व्यवस्थापन गर्दा धेरै क्षेत्रमा हात हाल्न सफल भएको छु ।’ दर्जनौं संघ संस्थाको आवद्धताको व्याख्या गरेकी रवीना न्यायाधीश सपना मल्ल प्रधानसँगको संस्थामा पनि आवद्ध रहेको बताउँछिन् ।

हरेक समयको उनीसँग अनुसूची हुन्छन् । जीवनलाई पनि उनले व्यवस्थापकीय हिसावले चलाउने गरेकी छन् । उनलाई फुर्सदका समयमा घुम्न मनपर्छ । उनी देशविदेश पनि घुम्छिन् पनि । ‘मेरा लागि म पर्याप्त समय निकाल्छु, यदि म ठिक भइन भने कसैसँग पनि ठिक व्यवहार गर्न सक्तिन त्यसकारण समय निकालेर आफुलाई पनि स्वतन्त्र राख्ने गरेकी छु ।’, उनी थप्छिन्,‘म फ्रि थिङ्कर, सिंकर, स्पिरिचुअल मेटेरियालिस्ट, ओमनिस्ट, कोच, हिलर र अन्त्यमा बैँकर पनि हो ।’

बैंकरका रूपमा नै उनले विभिन्न देशमा अवार्ड समेत हात पारिसकेकी छिन् । केही समयअघि मात्र उनले कोरियाबाट अवार्ड समातेर नेपाल फर्किएकी थिइन् । ‘मलाई भाग्यमानी भएको महसुस हुन्छ, अन्तर्राष्ट्रिय स्तरमा महिला भएर बाहिरबाट उहाँहरूले ट्याप गरेर पहिलो अवार्ड त ३२ वटा देशको ६ हजार महिलाबाट चुनिएको थिएँ । पछि म एम्बेसडर पनि भएँ’, उनी भन्छिन्,‘इन्टरनेशनल म्यापमा नेपाललाई पनि चिनाउ भनेर २ जना पुरूष र १ जना महिलालाई मैले रेकोमेन्ड गरेर पठाएको पनि थिएँ । दोस्रो अवार्ड १६ वटा देशको ३ हजार महिलाबाट चुनिएको थिएँ ।’

काम व्यवस्थापनको भएपनि जीवन व्यवस्थापन एउटा कार्यालयको चारघेरमा मात्र होइन, मिडिया, समाजसेवादेखि सवैतिर गर्न सकिन्छ भन्ने उदाहरण आफुमा रहेको एकप्रकारको ‘घमन्ड’ उनमा छ । ‘कोही मानिस समाजमा चिनिनु, प्रख्यात हुनु भनेको जिम्मेबारी बढ्नु हो भन्ने लाग्छ, आफुले आफुलाई अघि बढाउँदै जानुपर्छ भन्ने जिम्मेबारी बोध पनि हुन्छ’, उनी भन्छिन्,‘त्यसकारण अहिले मेरा कुराले वा मेरा भनाईले कसैको जीवन परिवर्तन हुनसक्नुपर्छ भन्ने मान्यता मैले राखेकी छु ।’

विभिन्न र्याम्पहरूमा पनि उनी मोडलका रूपमा देखा पर्छिन् । बैंकहरू सिरियस र बोरिङ भनेर चिनिने प्रचलनलाई चिर्नका लागि पनि आफ्नो सक्रियताले काम गरेको उनी ठान्छिन् ।

सामाजिक सञ्जालमा निक्कै सक्रिय रहेकी रवीना त्यहाँ भएका पोष्टका कारण पनि विवादमा आउँछिन् । उनले विदेश भ्रमणका क्रममा आफ्नो विकनीसहितको तस्बिर पोष्ट गरेपछि धेरैले जिब्रो टोकेका थिए । आलोचनाको पात्र पनि बनेकी थिइन् । तर, उनले त्यो आफ्नो नीजि मामलाका रूपमा मात्रै व्याख्या गरिनन्, त्यो तस्बिरसँगै सन्देश दिएको पनि दाबी गरिन् । भनिन्,‘त्यो विकीनीसहितको तस्बिरमा एउटा एकदमै डिप मेसेज छ जुन मैले एण्ड अफ द डेमा राखेको थिएँ । त्यसमा महिला सशक्तिकरणको कुरा होस् अथवा शिक्षित वर्गको माइन्ड परिवर्तन गर्नको लागि होस् त्यहाँ मेसेजसहितको प्रयास लिएर राखिएको थियो ।’ तर, त्यहाँ के म्यासेज दिएको भन्नेबारेमा भने उनले थप व्याख्या गरिनन् ।

मान्छे हर प्रकारले स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता उनमा छ । नीजि स्वतन्त्रताका कारण आइपर्ने हरेकप्रकारका परिणामको भोगी पनि उनी हुने भएकाले स्वतन्त्रतामा कन्जुुस्याँई गर्न नहुने उनको तर्क छ । सेक्स, रिलेनसीप होस् वा अन्य विषय त्यसमा स्वतन्त्र हुनु नै मानवता हुने उनको तर्क छ । तर, स्वतन्त्रताको अपव्याख्या गरेर चाहीँ अघि बढ्दा ठिक नहुने बताउने रवीनालाई लाग्छ– कोही मान्छेलाई बन्देज गरियो भनेदेखि बाध्ने नै हात र खुट्टा हो त्यसै हात र खुट्टा दुवै ठाँउमा फ्रिडमको ट्याटु उनले खोपेकी हुन् । भन्छिन्, ‘जहिले मान्छेले मलाई यस्तोउस्तो भन्यो भनेर भन्छन् अनि म यसलाई हेर्छु । र त्यो मेरो लागि रवीना त ठीक छस् भन्ने सन्देशको प्रतिकका रूपमा प्रतित हुन्छ ।’

नेपालका सीमित धनाड्यहरूको सौखिन जीवनमा हुर्किएका उनीबारेका निबन्धहरू आइरहेका हुन्छन् । मनभरी समाजसेवाका अनेकन विचारहरू भएपनि उनी जीवनलाई सौखका हिसावमा बाँच्ने भएकाले महँगो गाडी, सुविधानजनक फोनहरू र प्रविधिको उच्चतम् प्रयोग पनि गर्छिन्, जुन एक बैंकरले गर्नैपर्ने हुन्छ ।