सुनसरीमै ३.४ प्रतिशत बच्चामा कुपोषण
धरान/सुनसरी जिल्लामा पाँचवर्ष मुनीका करिव ३ हजार बच्चा कुपोषण (ख्याउटेपन) को मारमा छन् ।
साविक प्रकाशपुर–३ सुनसरी (हाल बराहक्षेत्र नगरपालिका) का २ वर्षीय अंकितचन्द्र बन्साईलाई एकवर्ष अघि कुपोषण देखियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनमा कुपोषणको शिकार भएको पत्ता लाग्यो । तीनदिनको उपचार पछि घर फिरे । त्यस्तै धरान–१७ का पर्वत बराइलीमा पनि प्रतिष्ठानमै उपचार गराउने क्रममा कुपोषण भएको पत्ता लाग्यो । परिवारले उनलाई पनि केही दिन उपचार गराएपछि घर लगे । बन्साई र बराइली झै सुनसरीमा कुपोषण हुनेको प्रतिशत ३ दशमलव ४ छ ।
खाद्यान्न उत्पादनको हिसावले सुनसरी देशकै तेस्रो–चौथो जिल्लामा पर्छ । सुनसरीमा वार्षिक एकलाख १६ हजार ३१६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । प्रतिव्यक्ति प्रतिवर्ष १४६ केजी भए पुग्छ । तर, सुनसरीमा प्रतिवर्ष एकलाख ६२ हजार एकसय ७० मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । जिल्लामा ४५ हजार ८५४ मेट्रिक टन खाद्यान्न बचत हुने जिल्ला कृषि विकास कार्यालय सुनसरीको आर्थिक वर्ष २०७२÷०७३ को तथ्याङ्क पुस्तिकामा उल्लेख छ ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार जिल्लामा ७ लाख ९६ हजार ६८५ जनसंख्या छ । जसमा सून्यदेखि ४ वर्ष उमेरसमूहका ८२ हजार २७१ दशमवल ९९ जना छन् । जुन् सुनसरीको कुल जनसंख्याको १० दशमलव ८४ प्रतिशत हो । जसमध्ये ३ दशमलव ४ प्रतिशतमा कुपोषण (ख्याउटेपन) को मारमा रहेको तथ्याङ्क छ । ८२ हजार २७१ लाई सय प्रतिशत मान्ने हो भने २ हजार ७९ मा कुपोषणको मारमा छन् । जिल्ला कृषि कार्यालयका प्रमुख राजकान्त झा गरिवीपन तथा चेतनाको कमीका कारण कुपोषणको शिकारमा परेको बताउँछन् ।
‘उत्पादन मात्रै भएर भएन, मुसहर बस्ती, दलित बस्तीहरुसँग जग्गाजमिन छैन । अधिया गरेर खान्छन् ।’ उनी भन्छन्, ‘उनीहरुमा जनचेतना पनि छैन ।’ सुनसरीमा बालमृत्यु दर पनि बढी छ । सुनसरीमा प्रतिहजारमा ११५ जना मृत्यु हुने गरेको छ भने शिशु मृत्युदर प्रतिहजारमा ७७ जना छन् । यता मातृमृत्युदर प्रतिलाखमा ८५० छ । यसरी समग्र हेर्दा उत्पादकत्वको हिसावले बच्चामा कुपोषणको स्थिति चर्को छ ।
बीपी प्रतिष्ठानमा उपचार गराउनेहरुको संख्यालाई आधार मान्ने हो भने प्रत्येक वर्ष कुपोषण हुनेहरु बढिरहेका छन् । सन् २०१६ मा ८ जना कुपोषणका विरामीहरु भेटिएको देखिन्छ भने सन् २०१७ मा १७ जना कुपोषणबाट शिकार भएको तथ्याङ्क छ । ‘भिटामिन, मिनरल, प्रोटिन, कार्वोहाइडेट हाम्रो सरीरलाई जति मात्रामा चाहिन्छ त्यो भएन भने मालन्युट्रिसियन हुन्छ ।’ बीपी प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीसंकर साह भन्छन्, ‘राम्ररी पाचन क्रिया भएन भने पनि कुपोषण हुन सक्छ ।’
उनका अनुसार एउटा बच्चादेखि अर्को बच्चाको जन्मान्तर कम भएमा पनि राम्ररी खान नपाउने हुँदा कुपोषणको शिकार हुने गरेको छ ।
पोषणका लागि करोडौं खर्च
कुपोषण, मातृमृत्युदर, बालमृत्युदरलाई कम गर्नको लागि सरकारले सुनौलो हजार दिन कार्यक्रमसमेत ल्यायो । २०६९ मा ल्याएको उक्त कार्यक्रमको उद्देश्य आमा, बच्चाको स्थिति सुधार गर्नु थियो । २०६९ मा मात्रै एककरोड ६ लाख ६ हजार रुपैया रकम बजेट स्वीकृत गरेको थियो ।
सुनसरीको ६ वटा गाविस बराहक्षेत्र, गौतमपुर, रामनगर भुटाहा, मधुवन, भोक्राहा र महेन्द्रनगरमा बजेट स्वीकृत गरेको हो । त्कालीनसमयमा प्राविधिक सहयोग गरेको गैरसरकारी संस्था इन्फो एडका अनुसार बराहक्षेत्रमा १३ लाख ५९ हजार सातसय ५० रुपैया खर्च, गौतमपुर १२ लाख ८७ हजार नौसय २५ रुपैया, रामनगर भुटाहा २२ लाख २६ हजार एकसय, मधुवन ६ लाख ८५ हजार ३ सय, भोक्राहामा ८ लाख ९६ हजार आठसय ९६ र महेन्द्रनगरमा ११ लाख ४० हजार आठसय ९० रुपैया खर्च भएको थियो ।
जसमध्येको ९४ लाख रुपैया बढी बजेट फ्रिज भएर गएको थियो । एमव् रितले तीनवर्ष बजेट विनियोजन भएको थियो । पोषण सुधार गर्न बजेट विनियोजन भए पनि प्रभावकारी कार्यान्वयन हुन सनक्दा जिल्लाको कुपोषण पखाल्न नसकेको माथिको तथ्याङ्कले पुष्टी गर्दछ ।