भद्रपुर/ दशगजा अतिक्रमण रोकथामका लागि नेपाल–भारत दुवै देशका सुरक्षा निकाय सहमत भएका छन् । भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लाको डीआरडीए सभाघर रचना भवनमा शुक्रबार आयोजित प्रदेश नम्बर १ स्तरीय नेपाल–भारत बोर्डरको प्रशासन तथा प्रहरी प्रमुखसंग भएको सीमा सम्बन्धी बैठकमा दुवै देशका सुरक्षा निकाय सीमा अतिक्रमण रोक्न सहमत भएका हुन् ।
बैठकले पूर्वी नेपालको ताप्लेजुङ्गदेखि झापा हुदै सुनसरी सम्मको सीमा स्तम्भ भित्र पर्ने दशगजा भित्रको जमिन अतिक्रमण भए भारतसंग सहकार्यमा त्यसको स्थलगत सर्वे गरी अतिक्रमण हटाइने सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी बिष्णुकुमार केसीले जानकारी दिए ।
दुवै देशको सीमांकन स्तम्भ हराएको वा भत्किएको भए त्यसको पनि सर्वे गरि त्यस ठाँउमा नयाँ स्तम्भ राखिने बारेमा लिखित सहमति भएको एसपी केसीले बताए । सीमा सम्बन्धी कुनै मुद्धा बल्झिए दुवै देशका प्रशासनिक तथा प्रहरी प्रमुखले त्यस बारेमा छलफल गरेर मुद्धा टुंगो लगाउने बिषयमा पनि गम्भिर छलफल भएको उनले जनाए ।
एक घण्टा सम्म चलेको बैठकमा बिषेशगरी तीन बिषयमा व्यापक छलफल भएको थियो । मेची नदीमा आएको बाढीले भत्काएको वा बगाएको स्तम्भहरु हराएकोले त्यस स्थानमा नयाँ स्तम्भ राखिने, नदीमा देखिने डाँलफिनको संरक्षणमा ध्यान दिइने र विराटनगर– जोगवनी जोड्ने दशगजा क्षेत्रमा सीमा चिन्ह खडा गरी अतिक्रमण मुक्त पारिने विषयमा छलफल भएको वुझिएको छ ।
बैठकमा मेची नदीमा देखिने डाँलफिनको संरक्षणको बिषयमा चर्चा गर्दै राष्ट्रिय जल जीवलाई बचाउन दुवै देशको कर्तब्यको बारेमा छलफल भएको थियो । त्यसैले स्तम्भ निर्माण गर्ने बेलामा त्यसलाई ध्यानमा राखेर सर्वे गर्ने राष्ट्रिय सर्वे टोलीलाई आग्रह गरिएको थियो । सीमा स्तम्भ राख्दा नदीमा रहेको डलफिनलाई असर नपर्ने गरी काम गर्न दुवै देशका सरकारी निकाय सहमत भएका छन् ।
विहारका सुपौल डिएम बैद्यनाथ यादवको अध्यक्षता भएको बैठकमा नेपालको तर्फबाट झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका प्रशासन तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो भने, भारतको तर्फबाट सुपौल, दार्जिलिङ, सिक्किम, किशनगञ्जका प्रशासन, एसएसबी, भारतीय प्रहरी प्रमुखको सहभागिता थियो ।
पूर्व क्षेत्रको ताप्लेजुङ्गदेखि सुनसरी सम्मको नेपाल–भारत सीमानामा १ हजार १सय ७३ स्तम्भ रहेका छन् । त्यसमध्ये ७ सय स्तम्भ निर्माण भइसकेकोे छ भने ४ सय ७३ स्तम्भ निर्माण हुन बाँकी छ । सर्वै अफ नेपाल भारतका पदाधिकारीका अनुसार सीमा क्षेत्रमा साना, मझौला र ठूला गरी १ हजार १सय ७३ स्तम्भ निर्माण गर्नुपर्ने देखिन्छ ।
बाढीले बगाएको स्तम्भको हकमा अहिले दुवै देशका सर्वे टोलीले मेशीन मार्फत सर्वे सुरु गरिसकेको जनाइएको छ । सर्वे पश्चात चिन्ह लगाएर नयाँ स्तम्भ राखिने छ । झापा र मोरङसंग जोडिएको किशनगञ्ज सीमा क्षेत्रमा मात्र १ सय ९१ वटा स्तम्भ निर्माण हुन बाँकी देखिन्छ ।