धरान/सामान नेपालको क्षमता विकास तालिम धरान–१५ की इन्द्रकला सुब्बाको लागि बरदान सावित भएको छ ।
[caption id="attachment_69122" align="alignnone" width="800"]
तस्बिरः भोजराज[/caption]
अहिले क्षमता विकास तालिमका कारण उनी कुखुरा पालनमा होमिएकी छन् । उनलाई वैदेशिक रोजगारीबाट फर्किएका उदयपुरका राज कटुवालले साथ दिएका छन् । बैदेशिक रोजगारीको क्रममा कतार र मलेसिया बसेका उनीले नेपालमै केही गर्ने सोचका साथ फर्किएको बताउँछन् ।
त्यही क्रममा सुब्बाले कुखुरा पालन गर्ने भएपछि साझेदारीमा गत साउनदेखि बोइलर कुखुरा पालनमा होमिएका छन् । धरान–५, देवीगाउँमा ३ कठ्ठा जग्गा लिजमा लिएर कुखुरा पालन थालेका हुन् । सुब्बालाई एकवर्ष अघि क्षमता विकास तालिम अन्तर्गत उद्यमशिलता तालिम प्रदान गरेको थियो । ‘त्यो तालिमबाटै आफू यो क्षेत्रमा आइपुगेको छु ।’ उनी भन्छिन् ।
तीन लाख रुपैया खर्चेर उनीहरु दुबैले १ हजार र ७ सय क्षमताको दुईवटा खोर बनाएका छन् । र, हाल ७ सय क्षमताको अर्को पनि खोर निर्माण गरेका छन् । १ हजार कुखुराबाट शुरु गरेका उनीहरुले अहिले १६ सय पु¥याएका छन् । एक हजार कुखुराबाट राम्रै मुनाफा गरेका उनीहरु कुखुरा पालनमा सन्तुष्ट छन् । ‘राम्ररी गर्दाचाँही विदेशलाई जित्दो रहेछ ।’ कटुवाल भन्छन् ।
अहिले उनीहरु बंगुर पालन गर्ने योजनामा छन् । ‘बगुंरको सोच छ ।’ कटुवाल थप्छन् । वैदेशिक रोजगारीमा नजाने सोच लिएर आएका कटुवाल अहिले कुखुरा सम्बन्धी तालिम लिन्छन् । र, आफूले जानेको तालिमको सीप अन्यत्र पनि प्रयोग गरिरहेका छन् । पाँचवर्षसम्म जग्गा लिजमा लिएकाले ढुक्कसँग कुखुरा पालन र बंगुरपालनलाई एक साथ लिएर जाने उनीहरुले बताए ।
एक हजार कुखुराबाट राम्रै आम्दानी भएको बताउँछन् । ‘दाना चारो पानी काटेर एक लाख रुपैयाजति हुँदो रहेछ ।’ उनीहरुले भने । गर्न सक्दा नेपालमै केही हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेका उनीहरुले एक जनालाई रोजगारसमेत दिएका छन् । ‘मासिक ६ हजार रुपैया दिएका छौं ।’ सुब्बाले भनिन्, ‘बंगुर बढाएपछि अरु कामदार थप्छौं ।’
तालिम लिने मध्येकी सुब्बा आत्मनिर्भर बन्ने पहिलो महिला बनेकी छन् । तालिमले गर्दा कुखुरा पालन गर्ने आँट पलाएको बताउँछिन् । ‘उद्यमशिलता तालिमले कुखुरा पालनमा आँट पलायो ।’ उनी भन्छिन् । त्यही बेला कटुवाल साझेदारीको लागि तयार भएपछि कुखुरा पालनमा थप हौसला मिलेको उनी बताउँछिन् । कुखुरा पालनमा भविश्य देखेका उनीहरुले केहीलाई रोजगार दिने सोच पालेका छन् । ‘स्थानीयबासीलाई रोजगारी दिने सोचेका छौं ।’ उनीहरुले भने ।
सरकारले कृषि क्षेत्रमा रहेका कृषकहरुलाई प्राविधिक तालिमको व्यवस्था भए थप यस्ता व्यवसाय माथि उठ्ने उनीहरु बताउँछन् । अहिले आफ्नै बलबुँताले गरिरहेका उनीहरुको लागि प्राविधिक सीप भए थप कुखुरा पालन सहज हुने विश्वास लिएका छन् । सरकारले बजार व्यवस्थापन गरे यस्ता व्यवसायमा थप युवाहरु रमाउने कटुवालको अनुभव छ ।