काठमाडौं । २० वर्षिया चन्दा गुप्ताको उदास अनुहारमा नवविवाहित दुलहीको बालापन र आँखामा विवाहको पहिलो वर्षमै जन्मिएको छोरा गुमाउनु पर्दाको दुःख एक साथ झल्किन्छ । कुशीनगरको रामकोला क्षेत्रमा पर्ने फरना गाउँकी चन्दाको पहिलो बच्चाको मृत्यु ११ अगस्ट २०१७ को रात बाबा राघवदास (बीआरडी) मेडिकल कलेजमा अचानक रित्तिएको अक्सिजनका कारण ।

मृत्युका बेला उनको छोराको उमेर मात्र आठ दिन पुगेको थियो । बच्चाका बारमा कुराकानी सुरु भए चन्दा सबैभन्दा अघि भन्छिन्, “बाबु यति सानै थियो कि हामीले उसको नामसम्म राखेका थिएनौं । मृत्यु प्रमाण पत्रमा पनि ‘चन्दाको छोरा’ नाम लेखिएको थियो ।’’

घरको सबैभन्दा भित्रपट्टीको कोठामा बसेकी चन्दा पत्रकार देख्ना साथ रुन थालिन् । आँशुले भिजेको अनुहार आफ्नो पच्छयौराले पुछ्दै उनले भनिन्, “हामी सोनोग्राफी गर्न गएका थियौं । त्यो बेला बाबु पेटमा घुमी रहेको देखेकी थिए ।’’

चन्दाले थपिन्, “मेरो तौल पनि ठिक थियो । नौ महिना पूरा भएर १० औं महिनाको तेस्रो दिन मलाई व्यथाले च्याप्यो । ४ अगस्टका दिन मेरो रामकोलाको सरकारी अस्पतालमा गए र नर्मल डेलिभरी भएको थियो । बाबु जन्मिदा अढाई किलोको थियो तर जन्मिने वित्तिकै मेरो बच्चाको स्वास्थ्य बिग्रियो ।’’

चिकित्सकले आमाको पेटमै हुँदा बच्चाले फोहोर पानी पिएका कारण स्वास्थ्य अवस्था बिग्रिएको भन्दै रिफर गरेको अस्पतालमा आफुहरु उपचारका लागि गएको उनले जानकारी दिइन् । सरकारी अस्पतालले पठाएको पडरौना जिल्ला अस्पतालले खोप लगाएको दुई घण्टा पछि गोरखपुर मेडिकल कलेज लैजान सल्लाह दिएको चन्दले बताइन् । श्रीमान र ससुरासँग अस्पताल पुगेकी चन्दको बच्चालाई गोरखपुर मेडिकल कलेजले आईसीयू (नियो नेटल इन्टेन्सिभ केयर यूनिट) मा भर्ना गरेको थियो ।

अस्पताल भर्ना भएको सुरुवातकै एक–दुई दिनमा आफ्नो बच्चालाई सञ्चो लागेको जानकारी दिँदै उनले भनिन्, ‘‘त्यहाँ डाक्टरहरु उसलाई दिनदिनै सुई लगाउँथे ।’’ श्रीमान र ससुरासँग अस्पतालले सधै दुई–तीन हजार रुपैयाको रगत मगाउने गरेको भन्दै चन्दले यसरी ल्याइएको रगत बच्चालाई चढाउँथे वा चढाउँदैन थिए भन्ने बारेमा कसैलाई पनि जानकारी नभएको बताइन् । उनले अस्पताल प्रशासनले डायपर, तौलिया दर्जनौंको संख्यामा मगाउने गरेको पनि बताइन् ।

“मलाई डाक्टरहरु तपाईको बच्चालाई सञ्चो भइसकेको छ, फलफूल मगाएर खानुस् भन्थे । भोलीबाट बच्चाका लागि तपाईको दुध चाहिन्छ र बच्चाले दुध चुस्न सके तपाईलाई छुट्टी दिन्छौं भन्थे ।’’ चन्दाले भनिन्, ‘‘तर १० अगस्टको राति  अचानक डाक्टरले बाबुको मुखमा लगाइएको अक्सिजनको पाइप निकालेर एक पम्प जस्तो कपडाको गुब्बारा (अक्सिजन सकिएपछि विरामीलाई दिइने अम्बू ब्याग) दिए । र हामीहरुलाई जनालाई पालैपाला त्यो गुब्बारा दबाउन भनियो ।’’

तर त्यसमा अक्सिजन नै नभएकाले आफ्नो बच्चाले श्वास फेर्न नसकेको उनले बताइन् । ‘‘विस्तारै सबैलाई अक्सिजन नभएको बारेमा थाहा भयो, त्यतिञ्जेलसम्म मेरो बाबु मरिसकेको थियो,’’ उनले रुँदै भनिन् ।

बच्चाको मृत्यु भएपछि पनि अस्पतालले शव र मृत्यु प्रमाण पत्र दिन आनाकानी गरेको चन्दाले गुनासो गरिन् । ‘‘शव र मृत्यु प्रमाण पत्रका लागि हामीले दुई घण्टा अस्पताल प्रशासनसँग लड्नु पर्यो’’ उनले भनिन्, ‘‘अधिकारीहरु सबै गइसकेपछि मात्रै तिमीलाई तिम्रो बच्चा दिन्छौं भन्थे ।’’

साभार बीबीसी हिन्दीबाट