शनिश्चरे/नेपालको पूर्वको नाका झापाको काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयात बढेको छ । गत वर्षको पहिलो चार महिनाको अवधि भन्दा यो आर्थिक वर्षको चार महिने अवधिमा २२ करोड बढी रुपैयाँको कृषिजन्य वस्तुको निर्यात भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनामा काँकरभिट्टाबाट ८३ करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको क्षेत्रीय प्लान्ट क्वारेण्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । गतवर्षको सोही अवधिको तुलनामा २२ करोड ४० लाख ३३ हजार रुपैयाँले निकासी व्यापारमा बृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष २०७३/७४ को पहिलो चार महिनामा ६१ करोड ३१ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु निर्यात भएको कार्यालयले जनाएको छ । सोही अवधिमा १ अर्ब १५ करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरका कृषिजन्य वस्तुहरु आयात भएको छ । निर्यात बढेपनि आयात नै बढी मुल्यका कृषिजन्य उपज आयात हुने गरेकाले परनिर्भरता भनें कायमै रहेको देखिन्छ । यो नाका हुँदै सबैभन्दा बढी मुसुरो दालको निर्यात भएको देखिन्छ । मुसुरो दाल विशेषगरी बंगलादेश निर्यात हुने गरेको कार्यालयका प्लान्ट क्वारेण्टाइन अधिकृत सुरेशकुमार साहले जनाए । ‘निर्यातलाई वढाएर आयात घटाउने कुरामा कृषिजन्य क्षेत्रको प्रवद्र्धनमा सरकारी लगाव थप आवश्यक छ ।’– उनले भने ।

सो नाकाहुँदै बन्दाकोपी, मुसुरो दाल, अदुवा, अम्लिसो, तोरीपिना, राइसब्रान तथा जडीबुटीलगायतका वस्तुहरु निर्यात हुने गरेको अधिकृत साहले सुनाए । चालु आर्थिक वर्षको साउनदेखि कत्तिक महिनासम्म ५ करोड ७४ लाख ४८ हजार रुपैयाँ मूल्य बराबरको ७ हजार १ सय ८१ मेट्रिक टन बन्दाकोपी भारततर्फ निर्यात भएको उल्लेख गरे । गतवर्षको सोही अवधिमा ४ करोड ९८ लाख ६४ हजार रुपैयाँ मूल्य बराबरको ६ हजार २ सय ३३ मेट्रिक टन निर्यात भएको थियो ।

३४ करोड ६६ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको ३ हजार ८ सय ५२ मेट्रिक टन मुसुरो दाल, २५ करोड १९ लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको ११ हजार २ सय ४९ मेट्रिक टन अदुवा र १२ करोड ७४ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको ३ हजार ९ सय ८४ मेट्रिक टन अम्रिसो निर्यात भएको छ । त्यसैगरी, ३ करोड ५३ लाख ८ हजार रुपैयाँ बराबरको १ हजार २६१ मेट्रिक टन तोरीपिना र ५८ लाख ५९ हजार रुपैयाँ बराबरको ४ सय ९४ मेट्रिकटन राईसब्रान, २६ लाख ९६ हजार रुपैयाँ बराबरको ४५ दशमलव ३ मेट्रिकटन जडीबुटी, पूर्वी नाका भएर निर्यात भएको तथ्यांकले देखाउँछ ।

चीन, भारत, अष्ट्रेलिया, क्यानाडालगायतका देशबाट कृषिजन्य वस्तुहरुको आयात हुने गरेका छन् । काँकरभिट्टा नाका भएर सबैभन्दा बढी दलहन आयात भएको देखिन्छ । पहिलो चार महिनामा मात्रै ७६ करोड २४ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको ८ हजार ३ सय ९५ मेट्रिक टन दलहन, गेडागुडी क्यानडा र अष्ट्रेलियाबाट आयात भएको छ ।

यसैगरी, ८ करोड ४५ लाख २ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ८ सय ६८ मेट्रिक टन फलफूल, ५ करोड ७३ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ३८८ मेट्रिक टन कोदो, ३ करोड २८ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको १ हजार ३ सय ३७ मेट्रिक टन मकै, १ करोड ७५ लाख १० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ६ सय ६१ मेट्रिकटन ताजा तरकारी आयात भएको विवरण छ ।

आयात हुने अन्य कृषिजन्य बस्तुहरुमा ५१ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १० मेट्रिक टन मकैको बीउ, ५ करोड ७१ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको १ हजार ९०५ मेट्रिक टन प्याज, १२ करोड ५५ लाख ५१ हजार मूल्य बराबरको ६ हजार ३२५ मेट्रिक टन आलु तथा ८ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको १२ मेट्रिकटन लसुन रहेको छ ।

कार्यालयले प्रवेश अनुमतिपत्र वापत निकासीतर्फ सोही अवधिमा ८७ हजार २ सय र पैठारीतर्फ १ लाख ८५ हजार २ सय गरी जम्मा २ लाख ७२ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले पैठारीतर्फ प्रवेश अनुमतिपत्र सिफारिस वापत २ सय र निकासीतर्फ १ सय रुपैयाँ लिने गरेको छ ।

खाद्यान्न, तरकारी तथा फलफूलको उत्पादनको पर्याप्तको सम्भावना रहेपनि कृषि क्षेत्रलाई व्यवसायिक बनाउन नसक्नु तथा कृषकले उत्पादनको उचित मूल्य नपाउनु लगायतका कारणले नेपाल कृषि क्षेत्रमा आत्मनिर्भर बन्न नसकेको कृषि विज्ञहरुको भनाई छ ।