-
Home
-
पूर्व
-
पथरीशनिश्चरेमा कृषि उद्योगको अभियान
पथरीशनिश्चरेमा कृषि उद्योगको अभियान
शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा स्थानीय कृषकहरुले सामुहिक रुपमा कृषि प्रवद्र्धनको अभियान सञ्चालनको योजना बनाएका छन् ।
पथरीशनिश्चरे २ लाई उद्योगस्थल बनाएर लानका लागि कृषि सहकारी कृषक समूहले जैविक मल उद्योगको योजना अगाडि बढाएको छ । १ नम्बर प्रदेशस्तरका कृषि सहकारी र कृषक समूहलाई शेयर सदस्य बनाई उचित जैविक उद्योग प्रालि खडागरी जैविक मल उद्योग स्थापनाको कार्य अगाडि बढेको छ । उद्योगको कार्यालयको शुक्रवार एक कार्यक्रमकाबीच पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले शिलान्यास गरेका छन् ।
कार्यालय र उद्योग सञ्चालनका लागि हाल १ विगाहा जग्गा लिजमा लिइएको समूहका प्राविधिक कृष्णचन्द्र महर्जनले जनाए । २ करोड लगानी पुर्याएर नेपालकै व्यवस्थित जैविक मल उद्योग बनाउने लक्ष्य अनुसार हालसम्म ९ जिल्लाबाट शेयर सदस्यमा सामेल भइसकेको समूहका सदस्य आरके थुलुङले बताए । प्रतिदिन ४० टन उत्पादन क्षमता हुने उद्योगमा सुरुवाती वर्षमा प्रतिदिन ५ टन उत्पादन हुने लक्ष्य उनले सुनाए ।
‘यस प्रकारको जैविक मल उद्योग त १ नम्बर प्रदेशमा मात्र नभएर नेपालमै पहिलो हुनसक्छ ।’– उनले भने दिनदिनै बढिरहेको रासायनिक विषादीको प्रयोगलाई हटाएर अग्र्यानिक उत्पादनका लागि कृषकलाई सचेत बनाउने अभियान समेत हो यो ।’ समूहले कृषि सहकारीका लागि न्यूनतम ५ लाख र कृषक समूहका लागि १ लाख बराबरको शेयर आव्हान गरेको छ ।
यसैगरी, कृषि क्षेत्रको प्रवद्र्धनका लागि सोही वडामा रत्नबहादुर वस्नेतको संयोजकत्वमा चौतारी बहुउद्धेश्यीय कृषि समूह गठन गरी पथरीशनिश्चरे र उर्लाबारी नगरस्तरीय कृषकलाई समेटेर पशुपालनको योजना अघि बढेको छ । सहकारीशैलीको सो संस्थाले पशुपालनमा मुख्यगरी पाडापालनलाई प्राथमिकता दिँदै खसी वाख्रा, सुँगुर, माछा सहित मासुजन्य पशुपालन कार्य अगाडि बढाउन अढाइ विगाहा जग्गा लिजमा लिइसकेको संयोजक वस्नेतले बताए ।
‘पछिल्लो पुस्ताले कृषिप्रति बेवास्ता गरेको अवस्थामा कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सन्देश दिन हामीले सामुहिक व्यवसायिक अभियान अघि बढाउँदैछौं ।’– वस्नेतले भने सहकारीका नाममा शेयर सदस्य बनाएर पैसा वचत गर्न लगाउने कुरा भन्दापनि उनीहरुको शेयर व्यवसायमुखी वनाउन आजको आवश्यकता हो भन्ने कुरा व्यवहारमा लागू गर्छाैं ।’ त्यहाँ थप ८ विगाहा जग्गा लिजमा लिने र १० कठ्ठा जग्गा आफैंले खरिद गरेर स्थानीय क्षेत्रमा मासुको आपूर्ति पुरा गर्न नमूना पशुपालन गर्ने योजना समेत उनले सुनाए ।
समूहका लागि १ करोड हाराहारीको पूँजी बनाउने लक्ष्यमा हालसम्म १ सय २१ जना शेयर सदस्य तथा ११ लाख शेयरपूँजी जम्मा भएको छ । जसका लागि न्यूनतम ५ हजारदेखि अधिकतम ५० हजारको शेयर रकम राखिएको छ ।
अभियानलाई उत्साह प्रदान गर्न साविक पथरी गाविसका पूर्व अध्यक्ष तिलक वान्तवाले ५० हजारको शेयर खरिद गरी ५० हजार नै अनुदान दिएका छन् । ‘आफ्नो ठाउँमा हरेक कुराको सम्भावनाको विकास गर्न र आफ्नालागि आफैंले रोजगार सिर्जना गर्ने यो अभियान मलाई मन पर्यो ।’– वान्तवाले अभियानले सफलता हाँसिल गर्ने ठहर गर्ने क्रममा भने ‘ विपन्नहरुका लागि थोरै रुपैयाँको समेत शेयरले राम्रो आम्दामी गर्न सकिने कुरा यस क्षेत्रको सन्दर्भ सुहाउँदो छ ।’