धरान/धरान विमान स्थल निर्माण कार्यमा सरोकारवालाहरुको राय संकलन विषय सार्वजनिक सुनुवाईमा बोल्न नदिएको भन्दै रेल्वेवासीहरुले आक्रोस पोखेका छन् । ‘नागरिक सोध्नै नपाउने हो भने किन नागरिक सुनुवाई गरेको ?’ धरान एयरपोर्टको लागि नम्बरी जग्गासमेत दिएका जीवन भट्टराईले भने । जग्गा प्रदान गर्न पहल गरेका भट्टराईलगायत २४ रेल्वेवासीले धरान एयरपोर्टको लागि २०६० चैत्र १० गते यति इन्कपोर्रेट प्रालिलाई जग्गा प्रदान गरेका थिए । जग्गा प्रदान गरेको १४ वर्ष बितिसक्दा पनि ‘निम्छरो पहल’ गरिरहेको आरोप लगाउँदै नागरिकहरुले सार्वजनिक सुनुवाईमा आक्रोस पोखेका हुन् । भट्टराईले एयरपोर्ट बन्नु पर्ने तर, जग्गादाताहरुलाई विश्वास दिलाउने वातावरण तयार पार्नु पर्ने बताए । ‘यति इन्कपोर्रेटलाई हामीले जग्गा बेच्न दिएका होइनौं ।’ उनले भने, ‘हामीले धरान नगरपालिकामा एयरपोर्ट बनेन भने खरिद गरेकै मूल्यमा फिर्ता गर्ने सहमति गरेर दिएका हौं ।’ स्थानीय समून्द्र राईले पनि नागरिक सुनुवाई भनिए पनि नागरिकलाई बोल्न नदिएकोप्रति गम्भीर आपत्ति प्रकट गरिन् । स्थानीय ममिता राईले ‘एयरपोर्ट स्यालको कथा’ जस्तै भइसकेको टिप्पणी गरिन् । उनले आफू एयरपोर्ट बन्ने पक्षमा भए पनि जग्गादाता तथा सुकुम्बासीहरुलाई आस्वास्त पार्नु पर्ने बताइन् । धावनमार्ग मै घर पर्ने याम किरातीहरुले एयरपोर्ट बन्दा सरोकारवााले त्यहाँको सुकुम्बासीलाई कहाँ कसरी व्यावस्थापन गर्ने त्यसको निचोड दिन माग गरे । ‘हामी विकास विरोधी हौइनौं । तर, सुकुम्बासीहरूलार्इ क्षतिपूर्ति विना नै कहाँ र कसरी राख्छ ।’ उनले भने । जग्गादाता इन्द्र कटुवालले बाउवाजेले आर्जेको सम्पत्ती कौडीको भाउमा दिएकाले एयरपोर्ट कहिलेसम्म बनिसक्छ त्यसको लिखितनामा दिनु पर्ने दाबी गरे । ‘जग्गा लिने बेलामा छलकपट गरियो । बनेन भने सहमति अनुसार नै फिर्ता गर्नुपर्छ ।’ उनले भने । राजनीतिकर्मी तथा स्थानीय जसकुमार राईले एयरपोर्टको काम कसरी अघि बढिरहेको छ त्यो जनतालाई आश्वास्त पार्न आग्रह गरे । उनले भने, ‘हाम्रो जनप्रतिनिधिहरुको पहुँचको हिसावले एयरपोर्ट बन्ने सम्भावना न्युन देख्छु ।’ नागरिक उड्डयन प्राधिकरणले एयरपोर्टको लागि ९३ विगाहा जग्गाको आवश्यकता पर्ने बताएको छ । उक्त जग्गा भए मात्रै एयरपोर्टको लागि सम्भव रहेको उनको भनाइ थियो । उक्त जग्गा प्राप्त गर्नको लागि केही सुकुम्बासीबस्तीलाईसमेत हटाउनु पर्ने छ । सुकुम्बासीका नेता सुवास राईले १९५ घरधुरी सुकुम्बासीहरु त्यहाँबाट विस्थापित हुने बताए । ‘उनीहरुलाई नपाले कहाँ व्यवस्थापन गर्छ त्यो प्रष्ट पार्न अनुरोध गर्छु ।’ उनले भने । सार्वजनिक सुनुवाईमा धरान एयरपोर्ट निर्माणको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) अध्ययन सम्बन्धमा तयार पारिएको मस्यौदा प्रतिवेदनको संक्षिप्त जानकारीसमेत गराइएको थियो । त्यस विषयमा मुरारी सुवेदीले उक्त प्रतिवेदनमा थुप्रै अस्पष्टताहरु रहेको बताए । नागरिकहरुको राय संकलनपछि धरान उपमहानगरका नगर प्रमुख तारा सुब्बाले जनताको भावना विना धरान उपमहानगरले कुनै पनि योजना अघि नबढाउने प्रतिवद्धता गरे । उनले जनताको आक्रोस स्वभाविक रहेको बताउँदै यो छलफल एयरपोर्ट बनाउँदा पर्ने असरको विषयमा रहेको प्रष्टाए । ‘बस्तुगत आधारमा चिन्तन मनन गरौं ।’ उनले भने, ‘वातवरणीय असरको विषयमा छलफल गरेका हौं ।’ उनले कसैलाई पनि सुकुम्बासी तथा भूमिहीन बनाएर योजना अघि नबढाउने प्रतिवद्धता गरे । ‘ठाडै बनाउनु हुँदै नभनेर हैन, बनाउँदा के के फरक पर्छ त्यो विषयमा सोचौं ।’ उनले भने, ‘विकासको नाममा विनास हुन्छ भने विरोध गर्नुपर्छ तर, विकासको विरोध गर्नुहुँदैन ।’ [caption id="attachment_69953" align="alignnone" width="1280"] तस्बिरः उपेन्द्र चाम्लिङ[/caption] त्यस क्रममा सुकुम्बासी क्षेत्रका बासिन्दाहरुले एयरपोर्ट बन्नु हुँदैन भन्दै प्लेकार्डहरु प्रदर्शनसमेत गरेका थिए । अधिकांस सुकुम्बासीहरु प्लेकार्डका साथ देखा परेका थिए । कार्यक्रमको विरोधकोशैली देखेर धरानका बरिष्ठ प्रशासकीय अधिकृत गणेश तिम्सिनाले विरोधको कार्यक्रम गरेर मात्रै समस्याको समाधान नहुने भएकाले त्यसैको लागि राय सुझाव लिइएको बताए ।