मोरङ/ निर्माणको प्रक्रिया थालिएको ठीक २५ वर्षपछि ट्याक पुरा भएर आफ्नै अगाडिबाट यातायातका साधन गुडेपछि स्थानीय निकै हर्षित छन् । यो हर्ष झापाको दमकदेखि पाँचथरको रविसम्म जोड्ने दमक–चिसापानी–रवि (फाल्गुनन्द मार्ग) बाट प्रत्यक्ष प्रभावित विशेष गरी पहाडी जिल्ला पाँचथर, इलामका साथै उत्तरी झापाका वासिन्दाको हो ।
मेची अञ्चलको तराई र पहाडलाई जोड्ने सबैभन्दा छोटो दूरीको मानिएको यो मार्ग ०४९ सालदेखि स्थानीयस्तरबाट निर्माण प्रक्रिया थालेर स्थानीयको उत्साहमा ०५१ देखि निर्माणको काम अघि बढाइपनि यसबेला मात्र सम्पूर्ण खण्डमा ट्रयाक खुलिसक्यो । अन्यत्र ट्रयाक खुलेर १५ वर्षअघिदेखि हिँउदमा यातायात सञ्चालनमा आएपनि साढे ११ किलोमिटर क्षेत्र भनें रतुवा खोलाको वगरै वगर थियो । ट्रयाक खुल्न वाँकी रहेकाले खोलै खोला यातायात सञ्चालन गर्नुपर्ने हुँदा वर्षाको ३, ४ महिना त यातायात पूर्ण अवरुद्ध वन्दै आएको थियो । अप्ठेरो सो क्षेत्रमा समेत यसबेला ट्रयाक खुलेर पुल समेत निर्माण भई यातायात सञ्चालन भएपछि यसले पश्चिम इलाम र दक्षिणी पाँचथर क्षेत्रबाट मानिसहरुका साथै कृषिजन्य सामग्री तराईसम्म पुग्न सहज बन्यो ।
जसले गर्दा विकासले कुनो परेको ती क्षेत्रका साविक १ दर्जन वढी गाविस प्रत्यक्ष लाभान्वित भई विकासको गतिमा अघि बढ्ने स्थानीयको आशा पलाएको छ । दमकबाट चिसापानी पञ्चमी हुँदे रविबाट राँकेको वाटोसँग सडकको यातायात जोडिएको छ । ग्राभेल हुँन वाँकी रहेकाले वर्षाको समयमा भासिने तथा वाढी पहिरोको चपेटामा पर्न सक्ने अवस्था भनें छ । ग्राभेल हुँदै सडक कालोपत्रे नै गर्ने यसअघिको लक्ष्य पुरा हुन केही समय लाग्ला । ‘अव ग्राभेल हुँदै कालोपत्रेको प्रक्रियामा जाने आशा सहित यसले विशेष त पहाडी क्षेत्रका वासिन्दालाई उत्साहित वनाएको छ ।
सडक पूर्णरुपमा सञ्चालनमा आएमा पश्चिम दक्षिणी इलाम र दक्षिणी पाँचथरका बासिन्दाको विकासले गति लिई आय स्तर बढ्ने छ ।’– सडक निर्माण उपभोक्ता समितिका उपाध्यक्षसमेत रहिसकेका माङसेबुङ–६, इलामका किरण राईले भने ‘बाटो नहुँदा यहाँको इस्कुस, सागसव्जी सहितका कृषिजन्य उत्पादन तथा दुधले बजार पाएको थिएन, अव यो विकट ठाउँमा पनि केही हुने आशा पलाएको छ ।’ बाटो नभएकाले नै ढुवानी समस्याकै कारण कृषि उपजले मूल्य नपाएको र पहाडी क्षेत्रका बासिन्दा दैनिक उपभोग्य समान र उपचार नपाएर हैरानी भोग्दै आएको उनले पीडा सुनाए ।
सडकमा साना सवारी साधनहरू सडककै ट्रयाकबाट चल्न सक्ने डिभिजन सडक कार्यालय दमकले जनाएको छ । यो सडक इलामको चुलाचुली, माङसेबुङ र दक्षिणी पाँचथरका बासिन्दाको ‘लाईफ लाईन’को रुपमा रहेको निर्माण उपभोक्ता समितिका महासचिव चिसापानी पञ्चमी निवासी हेमन्त राईको प्रतिक्रिया छ । सोही ठाउँकी लोक गायिका कल्पना राई भन्छिन् ‘अव चाँही हामीलाई पनि तराई झर्न र फर्कन सजिलो हुने भयो । हाम्रा उत्पादन विक्ने भए ।’
सडक पुरा भएर यातायात सूचालू हुन थालेपछि तराईका बजारबाट दैनिक उपभोग्य सामग्री त्यता पठाउन सहज बन्ने भएपछि व्यापार प्रवद्र्धनमा थप सहयोग पुग्दै जाने देखिएको सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रेवतराज पुरी गगनले वताए । त्यसमा पनि दमक पहाडी ती क्षेत्रका लागि व्यापारिक केन्द्रका रुपमा रहने हुँदा दमकको व्यापारले फड्को मार्ने अवस्था देखिन्छ । सडकको ट्रयाक खुले पनि निर्माण पूरा हुन सवा २ अर्ब रुपैयाँभन्दा बढी रकम आवश्यक पर्ने अध्यक्ष पुरीले औंल्याए । ‘यसलाई पूर्णता दिन थप २ अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्छ’ उनले भने, ‘केन्द्रीय सरकारको प्राथमिकतामा परिसकेकाले निर्माण पूरा हुनेमा ढुक्क छौं ।’ २ वर्षअघि सरकारको बहुवर्षीय योजनामा सो सडक सूचीकृत भइसकाले गत वर्षदेखि १५ करोड रुपैयाँ विनियोजन हुँदै आएको छ । त्यसअघि स्थानीयको ठूलो रकम सहित सरकारबाट समेत गरी करीव २० करोड रुपैयाँ सो सडकमा खर्च भइसकेको थियो ।
दमकबाट पाँचथरको रविसम्मको दुरी ४७ किलोमिटर छ । तर, इलामदेखि राँके बजार हुँदै घुमेर तराई झर्नुपर्दा १ सय ७८ किलोमिटरको दूरीको यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले वेलिविस्तार लगाए ।