पानवारी/ सर्दु खोलाले कटान गरेर बगर बनाएको धरान–१६ स्थित नौलो बस्ती नजिक बाल उद्यान सहितको ‘भूमि पार्क’ बन्ने भएको छ ।धरान–१६ मा रहेको नौलो बस्ती नजिक २०४५–४६ सालमा आएको बाढीले कटान गरी मरुभूमिमा परिणत भएको करिब २३ कठ्ठा जग्गामा बालबालिकाहरुको लागी खेल्न तथा मनोरञ्जन लिने स्थान बनाउन पार्क बनाउन लागिएको हो ।

विस्तारै विस्तारै सहर साघुरीदै गएको तथा खुल्ला क्षेत्र सहरमा नभएको अवस्थामा पार्क बन्न लागेपछि आसपासका स्थानीय निकै हौसिएका छन् । आफ्नै घर नजिक खुल्ला क्षेत्र सहितको पार्क बन्न लागेपछि स्थानीय हर्षित हुने त भइहाले पार्क बन्ने मात्र होइन खोला नियन्त्रण समेत हुने भएकोले अहिले स्थानीयमा खुसी छाएको हो । पार्क निर्माणको लागि धरान उपमहानगरपालिकाले ६० लाख विनियोजन गरिसकेको छ भने निर्माण समिति समेत बनिसकेको छ ।

स्थानीय मेखबहादुर राईको नेतृत्वमा भुमि पार्क निर्माण समिति बनेको छ । बहुवर्षे योजना अन्तर्गत निर्माण हुने पार्क आउदो वर्ष २०७५÷७६ भित्र सम्पन्न हुने निर्माण समितिका अध्यक्ष राईले बताएका छन् । उनका अनुसार यस आर्थिक वर्ष असार मसान्त भित्र खोलाको छेउमा रिटेनिङ वाल उठाएर जग्गा सम्याइसकिने छ । जग्गा सम्याइसकेपछि पनि फुलबारी बगैचाको लागी उपयुक्त जग्गा नभएकोले एक फुट भन्दा बढी माटो भरेर फुलबारी बनाउने योजना रहेकोले फुलबारीको लागी उपयुक्त माटो भरिने राईले बताएका छन् ।

धरान उपमहानगरपालिकाका साथै स्थानीय जनसहभागीतामा निर्माण हुने पार्कमा स्थानीय जनताको समेत २० प्रतिशत सहभागीता हुने १६ नं. वडा समितिका अध्यक्ष दिलकुमार गिरीले बताएका छन् । अध्यक्ष गिरीका अनुसार यस अघि पनि स्थानीयले जोरसखुवा खानेपानी जस्तो विशाल योजना आफैले निर्माण सम्पन्न गरिसकोले पार्क २ वर्ष भित्रमा बनिसक्ने दाबी गरे । उनले भने –‘सहर दिनप्रतिदिन साघुरीदै गएकोले हामीले धेरै अगाडीदेखी खुल्ला क्षेत्र आवश्यक हुन्छ भनेर संरक्षण गरेर राखेका थियौ । खोलाको छेउ भएकोले अतिक्रमणमा पर्न सक्ने उत्तिकै भय थियो तर पनि १६ नं. बासीमा पार्क बनाउने ठूलो इच्छाशक्ति भएकोले संरक्षण गर्न सफल भएका हौ ।’

१६ नं. वडाबासीले देखेको सपनालाई धरान उपमहानगरपालिकाले पनि साथ दिएको छ । २ वर्ष भित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी उपमहानगरले योजना बनाएको इन्जिनियर सुरज श्रेष्ठले बताए ।

पार्कको शिलान्यास यही साताभित्र गरिसक्ने गरी लागी परेको निर्माण समितिका अध्यक्ष मेखबहादुर राईले बताएका छन् । पार्क निर्माण सम्पन्न भएपछि आन्तरिक पर्यटनमा टेवा पुग्ने राईले दाबी गरेका छन् भने खोला नियन्त्रण र धरानेहरुको लागी रिफ्रेस हुने स्थलको रुपमा विकास हुने समेत राईले बताए ।