भद्रपुर । कुष्ठरोगी भएका जिल्ला मध्ये झापा उच्च जोखिममा रहेको छ । केही बर्ष अघि कुष्ठरोगीको संख्यामा कमी आउँन थालेपनि घरदैलो अभियान सूरु भएपछि बिरामीको संख्या बढन थालेको हो ।

कृष्ठ रोग मुक्त समाज निर्माण, बालबालिकाहरुमा शून्य अपाङ्गगता हाम्रो अभियान” भन्ने सन्देशका साथ ६५ औ विश्व कुष्ठरोग दिवस २०७४ को सन्र्दभमा जनस्वास्थ्य कार्यालयले शनिवार पत्रकारसंग गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ् देखाएको हो ।

गत आर्थिक बर्ष ०७३।७४ मा जिल्लामा १५७ जना बिरामी रहेको र चालु आर्थिक बर्ष ०७४।७५ कार्तिक मसान्त सम्म उपचारमा रहेका ४९ महिला ७२ जना पुरुष गरी १२१ बिरामी रहेको कार्यालयले जनाएको छ । त्यसमा ४१ जनाले उपचार पूरा वा छाडिसकेका छन् । नयाँ बिरामी तर्फ ७३ गरी जिल्लामा हाल ६७ महिला र ८६ पुरुष गरी १५३ जना बिरामी रहेको जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले बताए ।

प्रति १० हजारमा संक्रमण दरतर्फ १दशमलव ७१ प्रतिशत र नयाँ रोगी पत्ता दर ७दशमलव ७१ प्रतिशत रहेको बताए । झापामा बिशेष गरी कचनकवल, भद्रपुर, बिर्तामोड, मेचीनगर उच्च जोखिममा रहेको उनको भनाइ छ । कचनकवलमा ४०, भद्रपुरमा १९, बिर्तामोडमा १७ र मेचीनगरमा ११ जना कुष्ठरोग लागेका बिरामी रहेको अधिकृत दाहालले जानकारी दिए । उनीहरु नियमित रुपमा स्वास्थ्य संस्थाबाट ६ महिना वा एक बर्षे औषधि सेवन गरिहेको उनले जनाए ।

जिल्लालाई कुष्ठरोगबाट र्निमुल बनाउन कार्यालयले घरदैलो मार्फत औषधि सेवन अभियानलाई तिव्रता दिएको छ ।

नेपाल सरकारले ७६ जिल्लामध्ये विशेष गरी झापा, मोरङ र पर्सा जिल्लामा कुष्ठरोगीको संख्यामा कमी नआएपछि यसलाई र्निमुल बनाउन तीन बर्षीय घरदैलो अभियान सुरु गरेको हो । सोही अभियान अन्तरगत जिल्लामा रहेका कुष्ठरोगीको तंथ्याक बमोजिम घरदैलो मार्फत औषधि सेवा गराउने अभियानमा जुटेको नेपाल कुष्ठरोग संगती एलपिइपिका सुपरभाइजर पशुराम पोखरेलले बताए ।

आर्थिक बर्ष ०७१/०७२ बाट जिल्लामा अभियान सुरु गरेको उनको भनाइ छ । अहिले सम्म ७२५ जना कुष्ठरोगीको घरमा गएर औषधि सेवन गराइसकेको उनले जानकारी दिए । कुष्ठरोगी भएका घर आसपासका छरछिमेक गरी १६ हजार ८११ जनालाई पनि औषधि सेवन गराइएको उनले बताए । झापाका स्वास्थ्य संस्थाहरुमा नयाँ बिरामी फेला पर्न साथ स्वास्थ्यकर्मी, नर्स तथा महिला स्वयमसेविकासहितको टोली घरदैलोमा गएर औषधि सेवन गराउँदै आएका छन् ।

अभियानको क्रममा चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म जिल्लामा ९६ जना नयाँ बिरामी समेत फेला परेको छ । उनका अनुसार एक जना बिरामी बराबर २३ जनालाई औषधि खुवाउने कार्यक्रममा रहेको छ । कुष्ठरोग एक प्रकारको सरुवा रोग भएपनि मानसिक, शारिरीक र सामाजिक रुपमा हतोत्साहित हुने कारणले बिरामीहरु खुलेर बाहिर आउन नसक्दा केही समस्या उत्पन्न भएको चिकीत्सकको भनाइ छ ।