–हेलो, दीपाजी हो ? –हजुर सर, बोल्दै छु । –कसरी चिन्नुभयो मलाई ? –सरको बोलीबाट चिनें । –आराम हुनुहुन्छ ? –हजुर सर । –तपाईंको नाम संघ कि प्रदेशका लागि सिफारिस भएको ? –प्रदेशका लागि सर । –‘डकुमेन्ट’ बुझाइसक्नुभयो नि ? –हजुर सर, बाग्लुङ जिल्ला पार्टीमा बुभाइसकेकी छु । –ठीक छ । त्यसोभए ढुक्क हुनुहोस् ।

केही समयअघि माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र सांसद दिलमाया रोका ‘दीपा’ बीच मोबाइलमा वार्ता भएको थियो ।  बिहानको समय । ८ बजेर १५ मिनेट गएको थियो । धौलागिरि अञ्चल अस्पतालमा नौ वर्षीय छोरा दिप्सन परियारको उपचारमा रहेकी दिलमाया रोका ‘दीपा’ को मोबाइलमा घन्टी बज्यो । ‘रिसिभ’ गर्नअघि नम्बर हेरिन् । नम्बर परिचित नभए पनि उनले हेलो भनिन् । उताको हेलो भन्ने आवाज रोकाले ठम्याइहालिन् ।

‘त्यतिबेला ?’ माओवादी केन्द्रबाट ४ नम्बर प्रदेश सांसद दीपाले सुनाइन्, ‘उहाँ प्रचण्ड को फोन आउँदा अचम्म लाग्यो ।’ प्रचण्ड र दीपाबीच वार्ता हुँदा माओवादी केन्द्र बाग्लुङले समानुपातिकतर्फ प्रदेशसभा सदस्यका लागि दलित महिलाको १ नम्बरमा उनको नाम पठाउन तयारी हुँदै थियो ।

मोबाइल वार्ता भएको साता दिनपछि ४ नम्बर प्रदेशको समानुपातिक सांसदको नामावली सार्वजनिक भयो । सार्वजनिक नामावलीमा दीपाको नाम समेटिएको थियो ।  9१२ वर्षमा खोला पनि फर्कन्छ भन्ने नेपाली उखान प्रचलित छ । सो उखान नवनिर्वाचित सांसद दीपाको जीवनमा लागू भएको छ । ‘शान्तिप्रक्रियामा आएपछि माओवादीले युद्धकालीन सहयोद्धा, सहिद, घाइते, बेपत्ता परिवारलाई बिर्सेजस्तो लागेको थियो । उसको पछिल्ला गतिविधि हेर्दा त्यस्तै लाग्थ्यो,’ उनले खुसी व्यक्त गरिन्, ‘तर, होइन रहेछ । प्रचण्डले १२ वर्षपछि सम्झेर फोन गर्नुहुँदा युद्धकालका घटना दिलदिमागमा ताजा भएका छन् ।’

सात कक्षामा पढ्दै गर्दा जनयुद्धमा होमिएकी उनी ‘प्रतिरोध सांस्कृतिक परिवार’ मा आबद्ध भइन् । उनले जनमुक्ति सेना चित्रबहादुर घर्तीसँग संवत् २०५८ मा प्रेमविवाह गरिन् । ०६१ मा दोस्रोपटक रुकुमको खारा आक्रमण सहायक बटालियन कमान्डर घर्तीले सहादत पाए ।

‘श्रीमान् गुमाउनुको पीडा छँदै थियो,’ उनले अतीत सम्झिन्, ‘एकातिर सानो बच्चा अर्कोतिर चर्किरहेको युद्ध । त्यतिमात्रै होइन, पार्टीसम्बद्ध माथिल्लो तहका नेताबीचको विवादले निराशा पैदा गरेको थियो ।’ तर, गाउँ फर्कने सम्भावना थिएन । उनले श्रीमान्को बलिदान खेर जान नदिने प्रण गरिसकेकी थिइन् ।

०६२ असोजमा चुनुबाङ बैठकपछि ‘अपेरा’ नाम दिइएको सांस्कृतिक कार्यक्रम भयो । बैठकमा सहभागी नेता तथा कार्यकर्ताले विविध सांस्कृतिक कार्यक्रम हेरे । कार्यक्रममा सहिद परिवारको भावना समेटेर गाइएको गीत ‘जित्नैपर्छ यो अन्तिम लडाइँ तिमिलीले लडेर, चुहिएका छानोहरू टुहुराई सन्तानहरू, बसेका छन् नयाँ दिन पर्खेर’ शीर्षाकृत गीतमा १४ महिनाको छोरी दीप्ति घर्ती पिठ्यूँमा बोकेर दिलमाया रोका ‘दीपा’ ले अभिनय गरेकी थिइन् । उनको अभिनय देखेर माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, डा। बावुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ लगायत नेता तथा कार्यकर्ता रोएका थिए । सबैभन्दा धेरै प्रचण्ड रोएका थिए । शान्तिप्रक्रियापछि सो भिडियो सार्वजनिक हुँदा सबै रोएको दृश्यले चर्चा पाएको थियो ।

‘गोली–बारुदसँग जुधेका हाम्रा नेता कठोर हुन्छन् भन्नी लागेको थियो तर सांस्कृतिक कार्यक्रममा गाइएको गीत र मेरो अभिनयले उहाँहरूलाई रुवाउँदा अचम्म लाग्यो,’ नवनिर्वाचित सांसद दीपाले विगत सम्झिन्, ‘अभिनय गर्दा १४ महिनाको छोरी पिठ्यूँमा बोकेकी थिएँ । त्यो क्षण अझै बिर्सेको छैन । सहिद परिवारको तर्फबाट सन्देश दिने हिसाबले अभिनय गरेकी थिएँ ।’

स्व. खुसीराम पाख्रिनको शब्द–संगीत, प्रेमकुमारी रामदाम र कर्ण परियार ‘विद्रोही’ को स्वर र दिलमाया रोका ‘दीपा’को मुख्य अभिनय सकिएपछि छोरी समातेर म पनि बेस्सरी रोएँ,’ उनको बुझाइ थियो, चुनवाङ बैठकपछिको सांस्कृतिक कार्यक्रमले भावनात्मक रूपमा सबै नेतालाई एकठाउँमा ल्याएको थियो ।’

माओवादी १० वर्षे जनयुद्धमा रुकुमको चुुनुवाङ सबैभन्दा चर्चामा थियो । ०६२ को चुनुवाङ बैठकअघि तात्कालिक माओवादीभित्र केही महत्वपूर्ण घटना घटे । लोकतान्त्रिक गणतन्त्रसम्बन्धी पार्टीभित्र विषय उठान गर्दा डा. भट्टराई कारबाहीमा परे । अर्का नेता दीनानाथ शर्माको राजीनामा मागियो । त्यतिमात्रै होइन, नेताहरू खुला रुपमै एक–अर्काबीच आरोप–प्रत्यारोप गर्थे । बादललाई लिनप्याओको आरोप लागेको थियो । पार्टी विभाजन हुने अवस्थासम्म पुगेको थियो ।

ताराखोला गाउँपालिका–२ अर्गल बाग्लुङमा जन्मेकी दीपा प्रतिरोध सांस्कृतिक परिवारमा रहेर सांस्कृतिक कार्यक्रम र संगठन विस्तारका लागि नेपालका अधिकांश जिल्ला पुगेर आफ्नो भूमिका निर्वाह गरेकी थिइन् । ०४१ सालकी उनले श्रीमान् गुमाउँदाको पीडा छोरीको भविष्य हेरेर मलहम लगाउने प्रयास गरिन् । वर्ष दिनकी छोरीले बाबु गुमाए पनि उनी जनयुद्धबाट विचलित भइनन् । ‘घर फर्कन सम्भव थिएन । ०५९ मा मेरो माइती र दिवंगत श्रीमान्को घर ध्वस्त गरिएको थियो,’ उनले प्रस्ट्याइन्, ‘जसोतसो आफूलाई सम्हाल्दै माओवादी आन्दोलनमै रहें । छोरीको भविष्य र सानैमा एकल जीवन बिताउन कठिनाइ हुने जनयुद्धमै रहेका साथीसंगीको सुझावपछि ०६४ मा सामना सांस्कृतिक परिवारसम्बद्ध मल्म बाग्लुङकाका जनवादी गायक कर्ण परियार ‘विद्रोही’ सँग बिहे गरें ।’

जनयुद्ध घोषणापछि जनवादी गीत गाउँदै युद्धमा होमिएका विद्रोहीले प्रचण्डपथका धेरै गीत गाएका छन् । माओवादी पार्टी शान्तिप्रक्रियामा आएपछि बिहे गरेकी सांसद दीपाले साह्रोगाह्रो पन्छाउँदै जीवन निर्वाह गर्दै आएकी थिइन् । जीवनमा जस्तोसुकै अप्ठ्यारो आए पनि राजनीतिबाट टाढा रहिनन् । राजनीतिमै क्रियाशील रहिनन् । माओवादी केन्द्र केन्द्रीय सदस्य उनी शान्तिप्रक्रियापछि अध्ययन थालिन् । दस जोड दुईसम्मको अध्ययन पूरा गरी चार वर्षदेखि बाग्लुङ सदरमुकामको युनिभर्सल सबलाइम बोर्डिङ स्कुलमा अध्यापन गर्थिन् ।

४ नम्बर प्रदेश सांसदको सपथ लिइसकेकी उनले जिल्लाको विकास, जनयुद्धका घाइते, सहिद तथा बेपत्ता परिवार हितका लागि काम गर्ने प्रतिबद्धता जनाइसकेकी छन् ।

रातोपार्टी