बाहिर चर्चा जे चलेको थियो वास्तविकता त्यो भन्दा बिल्कुल फरक थियो बिनाको । उहाँका बारेमा चलेका हल्लाले उहाँलाई आत्महत्या गर्ने निर्णयमा पुर्यायो ।
साथमा ६ वर्ष पुग्न लागेकी छोरी अनि १६ महिनाका छोरा थिए । छोरीलाई कोठामै छोडेर छोरालाई लिएर बिना राती २ बजे काठमाडौंको कालो पुलमा पुग्नुभयो । छोरालाई छेउमा राखेर आफैंले ओढेको सलको एक छेउ पुलमा बाँध्नुभयो । अर्को छेउ घाँटीमा । सलले घाँटी कसेर झुण्डिनुभयो । ‘तर काल आएको रैनछ’ यति भन्न नपाउँदै बिनाको अनुहार रंग नै फेरियो ।
झुण्डिइसकेपछि धेरै कमले मात्रै पाउने जीवन पाउनुभयो अर्थात पुनर्जिवन पाउनुभयो बिनाले । उहाँ झुण्डिएको सल तन्किएर खुट्टाले भुइँ छोयो । बिनाको ज्यान जोगियो ।
सास गएन । होस चाहिँ गएछ सायद । त्यसैले २ घण्टा मात्रै सलमा झुण्एिको तर खुट्टा टेकेको अवस्थामा पाउनुभयो आफूलाई । झिसमिसे उज्यालो हुँदै गर्दा उहाँको आँखा छोरा तिर गयो । छोरा फोहोरको थुप्रोमा फ्याँकिएको प्लाष्टिक चुसिरहेका रहेछन् ।
झुण्डिनु अघि सबैलाई माया मारेकी बिनालाई त्यसपछि भने छोराको मायाले सतायो । त्यसैले छोरालाई लिएर कोठामै फर्किनुभयो ।
यस्तो छ आत्महत्याको बाटो रोज्नुको कारण रामेछापकी बिनाको छिमेकी गाउँमा बिहे भयो । त्यति बेला बिना १३ वर्षकी मात्रै हुनुहुन्थ्यो । बिना घरकी एक्ली बुहारी । घर व्यवहारको जिम्मा सबै उहाँको काँधमा आयो । पहाडको पाखो जमिन, त्यो पनि सिँचाई नहुने । खेती गरेर घर चलाउने गाह्रो हुन थाल्यो ।
आफ्नो जमिन खनिखोस्री गर्दा परिवारका लागि दुई छाक अन्न पनि जुट्दैनथ्यो । व्यवहार चलाउने उपाय खोज्न बिनाका श्रीमान मलेसिया जाने हुनुभयो । मलेसिया पुगेका बिनाका श्रीमानले महिनामा ७ सय रिंगिट तलब थाप्नुहुन्थ्यो ।
बिनालाई दुई तीन महिना २०÷२२ हजार रुपैयाँ पठाइदिनुहुन्थ्यो । उहाँले पठाएकै पैसाले घर धानेर छोरी हुर्काउँदै हुनुहुन्थ्यो । ‘गाउँमा चाम भन्दा काम प्योरो हुन्छ भन्छन नी त्यस्तै थियो’ बिना भन्नुहुन्छ ‘म पनि त्यसरी नै खट्थें तर सासु ससुरालाई खुशी पार्नै सकिनँ ।’
परिवारका सबैलाई खुशी पार्ने सपना पुरा नभएपछि बिना ३ वर्षकी छोरी लिएर काठमाडौं जानुभयो । २ वर्षमा श्रीमान् पनि घर बिदामा काठमाडौं आउनुभयो । परदेशीका जोडीको भेट केही दिनका लागि त हो । बिनाका श्रीमान् दुई महिनामै मलेसिया फर्किनुभयो ।
काम उही थियो । काम गर्न पाउने समय पनि उही तर श्रीमानले पहिलाको जस्तो पैसा पठाउनुभएन । पैसा घटेर आउन थालेपछि बिनालाई छोरीको पढाइको खर्च र घर खर्च धान्न गाह्रो भयो । फेरि गाउँमा रहेका सासु ससुरालाई पनि पठाउनुपर्यो ।
जसरी पनि व्यवहार धान्नुपर्ने भएपछि एक वर्षको छोरो काखीमा च्यापेर बिनाले बाटोमै तरकारी बेच्न थाल्नुभयो । तरकारी बेचेर भएको कमाइले छोरीलाई बोर्डिङ पढाउन सक्नुभएको थियो । तर केही समयमा श्रीमानले पैसा पठाउन छोड्नुभयो । ‘काम नभएर हो कि किन हो मलाई केही थाहा भएन’ बिना भन्नुहुन्छ ।
मलेसियाबाट पैसा नआएपछि रामेछाप पठाउन सक्ने कुरै भएन । त्यही विषयमा बिनाको घरमा दिनहुँ झगडा हुन थाल्यो । पैसा कसरी कमाउने होला भन्ने सोचिरहेकी बिनालाई सामान्य चिनजान भएकी साथीले भारतमा काम लगाइदिने आश्वासन दिइन् । बिनालाई त्यतिबेला पैसा मात्रै चाहिएको थियो ।
त्यसैले दोस्रो कुरा केही पनि नसोची तिनै साथीसँग भारत पुग्नुभयो छोराछोरी लिएरै । तर काम लगाइदिने भन्दै भारत पुर्याइकी साथी मान्छे बेच्ने दलाल रहेछ भन्ने बिनाले त्यहाँ पुगेपछि थाहा पाउनुभयो ।
आफूलाई बेच्न ल्याएको थाहा पाएपछि बिना चलाखी अपनाउँदै फुत्किन सफल भइन् । ‘मैले त्यहाँ घर सफा गर्नुपथ्र्यो । त्यही फोहोर फ्याँक्ने बहानामा छोराछोरीलाई पनि लिएर भागें’ बिनाले दलालको चङ्गुलबाट फुत्किन लगाएको जुक्ति सुनाउनुभयो ।
बिना छोराछोरीसहित बेपत्ता भएको खबर पाएपछि श्रीमान पनि तत्काल नेपाल फर्किनुभयो । बिना दलालको चङ्गुलबाट फत्किनुभएको थियो । तर काठमाडौंदेखि गाउँसम्म भने भए नभएका हल्ला चलिसकेका थिए । प्राय सबैले अर्कैसँग हिँडेको कुरा गरिरहेका थिए । तर बिनालाई परेको अपत कसलाई के थाहा ।
भारतमा दलालको पञ्जाबाट जेनतेन फुत्किनुभयो तर उहाँलाई परेका समस्या श्रीमानले बुझ्नुभयो न परिवारले । एक हप्ता हराएकाले बिग्रिएकी भनेपछि उहाँले त्यो पीडा सहनै सक्नुभएन । ‘इण्डियाबाट फुत्किँदा त नर्कबाटै निस्किएँ जस्तै भएको थियो तर घर आइसकेपछि त बेचिन लागेको थाहा पाउँदा भन्दा पनि धेरै पीडा भयो’ बिना भन्नुहुन्छ ।
छोराछोरी अरुलाइ हेर्न लगाएर उहाँ अरुका घर सफा गर्ने अनि लुगा धुने काम गर्न थाल्नुभयो । त्यतिञ्जेल श्रीमानसँग भेट भएको थिएन बिनाको । संयोगले नै होला घर सफा गर्ने क्रममै श्रीमानसँग पनि भेट भयो ।
भारतबाट फर्किंदा बुझाउन नसकेकी बिनाले त्यतिबेला भने फेरि आफ्ना बाध्यता सुनाएर बुझाउने प्रयास गर्नुभयो । ‘त्यतिबेला चाहिँ उहाँले मेरो कुरा बुझ्नुभयो’ श्रीमानले बिगत बिर्सिएर स्वीकारेको कुरा सुनाउँदा बिनाको अनुहार खुलेको थियो ।
श्रीमानले उहाँलाई रामेछाप पनि पुर्याउनुभयो । तर सासु ससुराले बिनालाई घर भित्र्याउन मानेनन् । बुवाआमाले नस्वीकारेपछि बिनालाई उहाँकै फुपु दिदीको घरमा छोडेर उहाँ मलेसिया फर्किनुभयो ।
ज्यान बच्यो, समस्या सकिएन पहिला भारतमा बेचिनबाट अनि दोस्रो पटक पासो लगाइसकेपछि पनि बिनाको ज्यान बच्यो । तर सासु ससुराले घर पस्नै नदिएपछि बिनाको व्यवहार फेरियो । ‘मनमा पहिल्यैका कुराहरु दोहोरिएर आउन थाल्यो अनि त आफूलाई सम्हाल्नै सक्दिन थें’ बिनाले भन्नुभयो ।
मनोसामाजिक समस्यामा परेकी बिना श्रीमानसँग फोनमा झगडा गर्न थाल्नुभयो । कोही मान्छे छेउमा आएर बोल्दा दिक्क लाग्ने, कसैसँग रिस उठ्यो भने छोराछोरीलाई पिट्न थाल्नुभयो ।
यी समस्या सामान्य भए जतिबेला बिनालाई फेरि पनि छोराछोरीलाई मारेर आफू पनि मर्छ भन्ने सोच आउन थाल्यो । बिनाको समस्या मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा आएपछि अहिले बिनाका समस्या समाधान भएका छन् ।
यसरी फेरिइन बिना केन्द्रका मनोपरामर्शकताले बिनासँग गोप्य कुरा कहिँ कतै सार्वजनिक नगर्ने मनोपरामर्शको मान्यता सुनाउँदै परामर्श सुरु गरे । परामर्शसँगै औषधी पनि आवश्यक देखिएपछि उहाँलाई दुवै सँगसँगै अघि बढाइयो ।
फुपु दिदीको घरमा छोडेर गएका श्रीमानले पैसा पठाउनुभएको थिएन् । उपचार गर्ने पैसा थिएन । उपचारमा पनि सुरक्षित आप्रवासन परियोजनाले आकस्मिक कोषबाट सहयोग गर्यो ।
एकातिर पैसाको अभाव अर्कोतिर आमा समस्यामा । बिनाका छोराछोरी विद्यालय जान छोडिसकेका थिए । उनीहरुलाई पनि सामीले प्रोत्साहनका लागि शैक्षिक सामग्री दिएको छ । १३ हप्तासम्मको परामर्शमा बिनालाई आत्मबल बढाउने प्रश्न गरे मनोपरामर्शकर्ताले ।
बिना जहिले पनि आफूँले अब केही गर्न सक्दिन भन्ने गर्नुहुन्थ्यो । ‘उहाँको त्यो कुरा मनबाट हटाउन हामीले उहाँले गर्न नसक्ने केही छैन सबै गर्न सक्नुहुन्छ भनेर आत्मबल बढायौं’ मनोसामाजिक परामर्शकर्ता प्रमिला घिमिरे भन्नुहुन्छ ।
परामर्शसँगै औषधि पनि खुवाएपछि बिना अहिले ठिक हुनुभएको छ । ‘मेरै सोचाइले मलाई खाइसकेको रहेछ तर अहिले त त्यस्तो केही पनि सोच्दिन’ बिना भन्नुहुन्छ ।
श्रीमानले त्यतिबेला पैसा नपठाउनुको कारण बिनालाई थाहा छैन तर अब चाहिँ उहाँले पैसा पठाउँछु भन्न थाल्नुभएको छ । त्यसले पनि बिनालाई राहत मात्रै होइन आँट पनि दिइरहेको छ । जीवन त्याग्न पासो लगाएकी बिनाको श्रीमानसँग मात्रै होइन पहिलेको जीवनसँग पनि पुनर्मिलन भएको छ ।
शान्ता पुलामी/उज्यालाेअनलाइनबाट