बिराटनगर । प्रदेश १ मा माओवादी केन्द्रभित्र भाँडभैलो मच्चिएको छ । वाम एकताको विरोध गर्दै पार्टी पुनर्गठन अभियानमा लागेको घोषणा गरेका गोपाल किरातीले सिंगै पार्टी कब्जा गरेको भन्दै २९ जना केन्द्रीय नेताहरुले प्रचण्डसँग हारगुहार गरेका छन् । प्रदेश १ का संयोजकसमेत रहेका गोपाल किरातीले भने आज र भोलि बस्ने भनिएको प्रदेश सचिवालयको बैठक स्थगित गरिदिएका छन् ।

प्रदेशसभामा दलको नेता, उपसभामुख र सचेतकको उम्मेदवार छनोट गर्न आज र भोलि माओवादी केन्द्रको प्रदेश कमिटी सचिलायल बैठक बोलाइएको थियो ।

पार्टीका सचिवालय सदस्य एवं प्रदेशसभा सदस्य टंक आङबुहाङको नेतृत्वमा १९ जना पोलिटब्यूरो सदस्यहरुले गोपाल किरातीलाई अनुशासनको कारवाही गर्न लिखित माग गरेपछि संयोजक किरातीले बैठक स्थगित गरिदिएका हुन् ।

गोपाल किरातीले वाम गठबन्धनको विरोध गरेको, पार्टी एकताविरुद्ध गतिविधि सञ्चालन गरेको र गुटबन्दी गरेर पार्टी फुटाउन खोजेको भन्दै उनीमाथि कारवाही गर्न डेढ दर्जन केन्द्रीय नेताहरुले प्रचण्डसमक्ष तीन दिनअघि लिखित माग गरेका थिए ।

साथै, प्रदेश १ मा बसोबास गर्ने पोलिटब्युरो नेताहरुले किरातीले बोलाएको प्रदेश सचिवालयको बैठकमा सहभागी नहुने भन्दै माघ २५ र २६ गते बस्ने बैठकमा पार्टी अध्यक्ष प्रचण्ड आफैं उपस्थित हुनुपर्ने मागसमेत गरेका थिए ।

आफूले बोलाएको बैठकमा सहभागी नहुने नेताहरुको मागलगत्तै संयोजक किरातीले बैठक नै स्थगित गरिदिएका छन् । बैठक स्थगित भएपछि प्रदेशमा उपसभामुख र दलको नेताको उम्मदेवार छनोट गर्ने प्रक्रियामा समेत असर पर्ने देखिएको छ ।

प्रदेश १ को सभामुख र उपसभामुखको निर्वाचन फागुन गते हुँदैछ । वाम गठबन्धनबाट सभामुख एमालेले पाएको छ भने उपसभामुख माओवादीको भागमा परेको छ ।

अविलम्ब बैठक बोलाउन माग गर्दै बुधबार जारी वक्तव्यमा भनिएको छ– ‘१ नं. प्रदेश पार्टीको बैठक लामो समयदेखि बस्न नसकेको परिस्थितिमा माघ २५ र २६ गते बोलाएको बैठक पनि विनाकारण अचानक स्थगित भएको घटनाले हामीलाई गम्भीर आशंका पैदा गराएको छ । संसदीय दल र प्रदेश सरकारमा प्रतिनिधित्व गराउने सन्र्दभमा महत्वपूर्ण निर्णयहरु लिनुपर्ने भएकाले अविलम्ब अध्यक्ष प्रचण्डको उपस्थितिमा प्रदेश सचिवालयको बैठक राख्न संयोजक समक्ष जोडदार माग गर्दछौं ।’

साथै सचिवालयको वैठक नबसी कुनै पनि विषयमा निर्णय नलिन सयोंजक गोपाल किरातीसँग नेताहरुले माग गरेका छन् । उनीहरुले तत्काल बैठक डाकेर पार्टी सञ्चालनको विधि, पार्टीभित्र देखिएका अराजकतावाद र चरम अवसरवाद एवं समग्र विषयमाथि गम्भीर समीक्षा हुनुपर्ने माग गरेका छन् ।