विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशको संसदीय दलको बैठकले दलको नेता र सरकारको नेतृत्वको टुंगो लगाएको छ । ताप्लेजुङ्गका नेता टंक आङबोहाङ संसदीय नेतामा सर्वसम्मत निर्वाचित भएका छन् भने भने गठवन्धन सरकारमा पार्टीको तर्फबाट पाँचथरका इन्द्र आङबोले नेतृत्व गर्ने निर्णय गरेको हो ।

पार्टीले विहिवार विराटनगरको होटल स्वागतममा पत्रकार सम्मेलन गरी दलको नेता निर्वाचित भएको र सरकारको नेतृत्वको विषयमा पनि निर्णय गरिएको जानकारी दिइयो । नेकपा माओवादी केन्द्र १ नम्वर प्रदेश इन्चार्ज गोपाल किराँती र संयोजक सावित्रिकुमार काफ्लेको उपस्थितीमा बसेको बैठकले गठवन्धन सरकारमा सहभागि हुने मन्त्रिहरु र आफ्नो भागमा परेको उपसभामुखको विषयमा पनि छलफल गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रदेशसभामा एक स्वतन्त्र रुपमा निर्वाचितसहित १६ जना सांसद रहेको माओवादीले सर्वसम्मत रुपमा आङ्बुहाङलाई दलको नेता चयन गरेको पार्टीका प्रदेश संयोजक सावित्रिकुमार काफ्लेले जानकारी दिए । पत्रकार सम्मेलनमा प्रदेश नं १ का संयोजक सावित्रिकुमार काफ्लेले प्राविधिकरुपमा स्वतन्त्रको हैसियत भएपनि उदयपुरबाट बिजयी प्रदेशसभा सदस्य नारायणबहादुर मगर वामगठवन्धनकै आधिकारिक उमेदवार भएकोले १६ जनाको निर्णयबाट दलको नेता निर्वाचित गरेको जानकारी दिए ।

जनयुद्धकै समयबाट भूमिगत राजनीतिमा सक्रिय रहेका आङ्बोहाङ २०६२÷६३ को जनआन्दोलनपछि गठन भएको अन्तरिम संसदमा सदस्य थिए । त्यसपछि २०६६ सालमा उन राष्ट्रिय क्रिकेट संघको अध्यक्ष भएका थिए ।

पाँचथरबाट निर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले पनि संसदीय दलको नेता दावी गरेपछि माओवादीलाई नेता छान्न सकस परेको थियो । अहिले आङ्बोलाई प्रदेश सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर पठाउने सहमति जुटेको छ । ‘अब आङ्बुहाङले संसदमा र आङ्बोले सरकारमा पार्टीको नेतृत्व गर्नुहुनेछ’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक काफ्लेले भने, ‘प्रदेश कार्यालयले सर्वसम्मत रुपमा निर्णय गरेकोले अब पार्टीमा कुनै विवाद छैन ।’

निर्वाचनको बेला निस्कृय बसेर पार्टी विरोधी गतिबिधिमा सक्रिय रहेका नेता गोपाल किरातीले आङ्बोलाई दलको नेता बनाउन खोजेको भन्दै असुन्तुष्टि चर्किएको थियो । किरातीमाथि कार्वाहीको माग गर्दै २९ जना पोलिटब्युरो सदस्यहरुले अध्यक्ष प्रचण्डलाई उजुरीसमेत गरेका थिए ।

पार्टी प्रदेश कार्यालयले मनोमानी रुपमा निर्णय गरेको भन्दै सोमबार २९ जना पोलिटब्यूरो सदस्यहरुले तत्काल अध्यक्ष प्रचण्डको उपस्थितिमा प्रदेश सचिवालयको बैठक बोलाउन प्रदेश संयोजक सावित्रीकुमार काफ्लेसमक्ष मागसमेत गरेका थिए । विवादबीच बिहीबार विहान विराटनगरमा जम्मा भएका नेताहरुले प्रदेश संसदीय दल र सरकारको जिम्मेवारी बाँडफाँड गर्ने सहमति जुटाएका हुन् ।

यसअघि किरातीको नेतृत्व स्वीकार नगर्ने बताएको असन्तुष्ट पक्षले त्यसबारे पार्टीमा अन्तरसंघर्ष चलाउने र बैठकमा छलफल गर्ने जनाएको छ । ‘अहिले सरकार र संसदमा पार्टीको नेतृत्वबारे सहमतिमा निर्णय गरिएको हो’ असन्तुष्ट पक्षका एक नेताले भने ‘विगतको निर्वाचनमा किरातीको भूमिका र कार्यशैलीबारे पार्टी नेतृत्वको उपस्थितिमा बैठक बसेर छलफल हुनेछ ।’ असन्तुष्ट पक्षले किरातीले बाम गठबन्धनको विरोध गर्दै चुनाबमा निष्कृय रहेको र एकता विरोधी गतिबिधि गरेको कारण पार्टीलाई क्षति पुगेको बताउँदै आएको छ ।

पत्रकार सम्मेलनमा नेता किरातीले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्नेगरी पार्टी काममा फर्किएको बताए । ‘माओवाद र पहिचानको छोडेर एकता गर्नु हुँदैन भन्ने मेरो मत हो तर पार्टी एकताको विरोधी म होइन ।’

माओवादीले संसदीय दलको नेता र सरकारमा नेतृत्व गर्ने व्यक्तिबारे टुंगो लगाएपनि अन्य मन्त्री, उपसभामुख र दलको सचेतकबारे निर्णय गरेको छैन । त्यसबारे नेकपा एमालेसँगको छलफलपछि निर्णय गरिने संसदीय दलका नेता आङ्बोहाङले जानकारी दिए ।

पार्टी भित्र गुटवन्दी भएको र गुटगत आधारमा प्रदेश कार्यालय संचालन भइरहेको भन्दै चलेको भ्रम सर्वसम्मत नेतृत्व चयनको विषयले खारेज गरेको भन्दै पत्रकार सम्मेलनमा स्पष्टिकरण दिइएको थियो ।