काठमाडौं/ पहिले पहिले नयाँ नयाँ प्रविधिहरु नआउँदासम्म हामीले यही कुरा बुझ्थ्यौं कि प्रेम दिवस फेब्रुअरी १४ मा पर्छ । यो दिन आफूलाई मनपरेको प्रेमी वा प्रेमिकालाई निर्धक्कका साथ आफ्नो मनको कुरा व्यक्त गर्न पाइन्छ । यसरी प्रस्ताव राख्दा मन नपरे पनि उजुर बाजुर गर्न पाइँदैन । कार्ड दिनुपर्छ, गिफ्ट दिनुपर्छ, गुलाफको फूल दिनुपर्छ अनि उसले अथवा उनले स्वीकार गरे–गरिन् भने बल्ल मायालु जोडी बनिन्छ ।

लामो समय प्रतीक्षा गरेर यही दिन कुर्ने चलन थियो । केहीले यो दिनको फाइदा उठाउँदै मनको कुरा भन्थे, यद्यपि त्यसको संख्या न्यून नै थियो । किनभने प्रेमी–प्रेमिकाको खोजी गर्ने प्रपोज राख्ने, भेट्ने, गफ गर्ने आदि कुरा गरी खुलेर कुराकानी गर्न सक्ने हुन लामो समय लाग्थ्यो । फेरि घरपरिवारकै सदस्यको रोजाइमा विवाह गर्नुपर्ने बाध्यता थियो । यद्यपि अहिले समय परिवर्तन भएको छ । न प्रपोज राख्न भ्यालेन्टाइन डे कुर्नुपर्छ, न मनका कुरा भन्न लामो समय नै लाग्छ । अहिले एकैछिनमा लव पर्छ, एकैछिनमा ट्राजिडी हुन्छ । घरपरिवारका सदस्यले भनेको भन्दा आफैं खोजेर विवाह गर्नेहरू बढ्दैछन् ।

लभ पर्नु, विवाह हुनु, सम्बन्धविच्छेद हुनु तथा फेरि विवाह हुनु सामान्य मानिन थालेका छन् । घरमा श्रीमान् हुँदाहुँदै परपुरुषको प्रेमजालमा पर्नेहरू हुन् वा घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग रोमान्स गर्नेहरू हुन्– दिन–प्रतिदिन बढ्दैछ । यस्ता गतिविधि बढ्नुको मुख्य कारण भएको छ– फेसबुक । कुनै युवती वा युवक मनपरे फेसबुकमार्फत फ्रेन्ड रिक्वेस्ट पठाइन्छ । चोबिसै घण्टा मोबाइलमा झुन्डिने भएकाले यस्ता रिक्वेस्ट उतिखेरै एसेप्ट हुन्छन् अनि कुराकानी सुरु हुन्छ । उस्तैपरे त्यही दिन प्रपोज राखिन्छ, लभ पर्छ, फेसबुकमै रोमान्स चल्छ, उस्तै परे त्यही दिन ट्राजिडी ।

यस्तो अवस्थामा कहिले भ्यालेन्टाइन डे आउला र प्रपोज गरौला भन्ने कुरा हुँदैन । जब फेसबुकमार्फत हुने कुराकानी बढ्दै जान्छ, उनीहरूले आफ्ना सबै कुरा बताउँछन् । शंका लागे फेसबुकमार्फत नै उसका स्टाटस, तस्बिर आदि विवरण चेक गरिन्छ । यसरी विवरण हेर्दा ठीक लागे कुराकानी सुरु हुन्छ । आफ्नो मनका बह पोख्छन् भेट्छन्, रोमान्स गर्छन् । मन परे केही समय रोमान्स जारी रहन्छ मन नपरे कुराकानी हुन छोड्छ उस्तै परे ब्लक लिष्टमा राखिन्छ ।

छोरा–छोरी घरमै छन् भन्दै बाबु–आमाहरू ढुक्क हुन्छन् तर उनीहरू घर बसीबसी फेसबुकमार्फत नै सम्बन्ध विस्तार गरिरहेका हुन्छन् । विवाहित महिला तथा पुरुषले समेत फेसबुककै प्रयोग मार्फत रोमान्स गर्दै आएका छन् ।

प्रणय दिवसमा समेत फेसबुककै प्रयोग गरी शुभकामना आदान–प्रदान गरिन्छ । यसले प्रणय दिवसप्रतिको पुरानो बुझाइलाई अन्त्य गरेको छ । त्यसैले भन्न सकिन्छ प्रणय दिवसको भिलेन फेसबुक लगायतका सामाजिक सञ्जाल बन्दैछन्, अझ भन्नुपर्दा फेसबुक प्रेम गर्नेहरूका लागि सधैं प्रणय दिवस जस्तै भएको छ । अहिले जो कसैले लाइक, कमेन्ट, च्याट गर्दै सधै आफ्ना प्रेमी–प्रेमिकाको केयर गर्न पाएका छन् । आफ्ना प्रियजनका हरेक गतिविधि नियाल्न पाएका छन् । फेसबुक मात्र नभएर अन्य सामाजिक सञ्जालले समेत एक अर्कासँग निर्धक्क कुरा गर्ने वातावरण मिलाइ दिँदा मनको कुरा भन्न प्रणय दिवस नै कुर्नुपर्ने अवस्था छैन ।