सुनसरी/  सुनसरीमा विषादी प्रयोग घट्नुको सट्टा हरेक वर्ष बढिरहेको छ । अझ, सुनसरीको दक्षिणी भेगहरुमा प्रतिबन्धित विषादीहरुको अधिकतर प्रयोग हुने गरेको छ ।

इनरुवा नगरपालिका–१० जल्पापुरका सुल्तान आलम (जो वडा अध्यक्षसमेत हुन्) ४ विगाहा क्षेत्रफलमा तरकारी खेती गर्छन् । त्यही खेतीबाट १० जना परिवारको गुजारा चल्छ । उक्त खेतीबाट वार्षिक ३ देखि ४ लाख रुपैयासम्म चोखो आम्दानी लिन्छन् । तर, उनको बारीमा फल्ने अधिकांस तरकारीमा प्रतिबन्धित विषादी प्रयोग हुन्छ । ‘नेपालको दबाई यता युज गर्यो भने कामै लाग्दैन । भारतको दबाईले धेरै काम गर्छ ।’ सुन्तानको जेठा छोरा फिरोज आलम भन्छन्, ‘रकेट, मिराकुलेन, डाईथिन जति पनि दबाई हुन्छ । त्यो मिलाएर हाल्नुपर्छ ।’

किरा मार्न मात्रै हैन, उत्पादन बढाउनको लागि पनि कृषकहरुले भारत कै विषादीहरुको भर पर्छन् । कतिपय कृषकहरुलाई विषादीको प्रभाव बारे ज्ञान नहुँदा पनि जुन पायो त्यही विषादीको प्रयोग गरिरहेका छन् । ‘पढेलेखेको छुइन, दवाई दोकानमा जे दिन्छ । त्यही दवाई हाल्छु ।’ जल्पापुरका अग्रज कृषक आसिन मन्सुरी भन्छन् ।

मन्सुरीले वार्षिक १० कठ्ठामा फूलकोपी मात्रै लगाउँछन् । सुनसरीको दक्षिणी भेगका अधिकांस किशानहरुले नेपालमा प्रतिबन्धित किटनासक विषादीहरुको प्रयोग गर्ने गरेको तथ्य लुक्न सकेको छैन् । ‘दक्षिणी भेगहरुमा प्रतिबन्धित विषादीहरु आइरहेको छ । त्यसलाई नर्कान मिल्दैन ।’ जिल्ला कृषि कार्यालय सुनसरीका प्रमुख राजकान्त झा भन्छन्,–‘किशानमा अज्ञानताको अभाव छ । सजगताको अभाव छ ।’

हरेक वर्ष बढ्दै नेपाल सरकारले फुकुवा गरेका किटनासक तथा ढुसीजन्य विषादीहरुको प्रयोग हरेक वर्ष बढेको पाइएको छ । सुनसरीको तथ्याङ्क हेर्दा नै त्यो पुष्टी हुन्छ । जिल्ला कृषि कार्यालयका अनुसार २०७२ सालमा झोलजन्य विषादी ७ हजार ५ सय लिटर प्रयोग भएको थियो भने पाउडर जन्य विषादी २ हजार ५० टन प्रयोगमा आएको थियो ।

यो २०७३ मा बढेर झोलजन्य मात्रै ९ हजार लिटर पुग्यो भने पाउडर जन्य २ हजार ४६० टन पुग्यो । यो २०७२ सालको भन्दा २० प्रतिशतले बढेको जिल्ला कृषि कार्यालय योजना शाखाका प्रमुख तुलसीराम चौधरी बताउँछन् । २०७४ मा ५ प्रतिशतले मात्रै घटेको छ । अर्थात् झोलजन्य विषादी ८ हजार ५५० लिटर र पाउडर जन्य २ हजार ३३७ टन प्रयोग भएको देखिन्छ । नेपालमा गत वर्ष ५७४ टन खास विष विषादी आयात भएको तथ्याङ्क छ । गतवर्ष मात्रै करिव ६९ करोडको खास विष विषादी आयत गरिएको थियो ।

आयत भएका विषादी मध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको वाली संरक्षण निर्देशनालय काठमाडौंले जनाएको छ । अन्य देशको तुलनामा नेपालमा प्रतिहेक्टर प्रतिवर्ष ३९६ ग्राम मात्रै खास विषादी प्रयोग हुने गरेको तथ्याङ्क वाली संरक्षण निर्देशनालय काठमाडौंसँग छ । यो केही वर्ष अघिसम्म एकसय ४२ प्रतिहेक्टर प्रतिवर्ष प्रयोग हुने गरेको तथ्याङ्क थियो ।

खुल्ला सीमाका कारण प्रतिबन्धित विषादी जिल्ला कार्यालयको आँकडामासमेत नदेखिने गरी भारतबाट वर्षेनी हजारौं रुपैयाको प्रतिबन्धित विषादीहरु भित्रिने गरेको छ । नेपालमा विषादीहरुले काम नर्गने भन्दै खुल्ला सीमानाका कारण किशानहरुले भारतबाट झोलजन्य र पाउडरजन्य विषादीहरु ल्याउने गरेका छन् । जल्पापुरका प्रवेज आलम मन्सुरी भन्छन्, ‘दिदैन, लुकाएर ल्याउनु पर्छ ।’ सामान्य विषादीहरुले रोग किराको प्रकोप अन्त्य नर्गदा कृषकहरु प्रतिबन्धित विषादी भित्रयाउन बाध्य छन् ।

किराको पनि विषादी पचाउने सक्ने क्षमतामासमेत वृद्धि हुँदै गइरहेको वाली संरक्षण अधिकृतहरु बताउँछन् । जसका कारण कृषकहरुले उत्पादन बढाउन कै लागि पनि त्यस्ता विषादीहरु भित्रयाउने गरेको कृषि विकास कार्यालयका वाली विकास अधिकृत दिपेन्द्र पोखरेले बताउँछन् । ‘उत्पादन बढाउन प्रयोग गर्छन् ।’ उनले भने, ‘रोग किरा देखियो भने अन्धाधुन्द हान्नुपर्छ भन्ने मानसिकता किशानमा छ ।’ उनीहरुलाई उक्त विषादीको प्रभावसमेत थाहा हुँदैन । कतिपय विषादीहरुको अवसेस ३० वर्षसम्म माटोमा रहिरहन्छ । जसले गर्दा माटो मात्रै हैन, किशान तथा उपभोक्ता त्यसको प्रत्यक्ष मारमा परिरहेका छन् ।

विषादी बारे कृषकलाई छैन ज्ञान जसरी जल्पापूरका अग्रज कृषक आसिन मन्सुरीलाई विषादी बारे ज्ञान छैन । त्यसैगरी अन्य कृषकहरुलाई पनि विषादी प्रयोग कसरी, कतिबेला गर्ने भन्ने बारेमा ज्ञान छैन् । ‘विषादी कसरी लगाउने हो त्यो थाहा छैन्, कसैले सिकाउँदैन आफैले अनुभवले हाल्ने हो ।’ कृषक आलम भन्छन् । त्यसलाई थप पुष्टी गर्दै योजना शाखाका प्रमुख चौधरी भन्छन्, ‘९० प्रतिशत किशानलाई विषादीको प्रयोग बारे जानकारी छैन् ।’

उनका अनुसार सुनसरीमा बढीजसो उत्तरी भेग भन्दा दक्षिणी भेगहरुमा विषादीको प्रयोग ज्यादा हुने गरेको छ । ‘अनुमगनका क्रममा अधिकांस व्यवसायिक कृषकहरुले प्रतिबन्धित विषादी प्रयोग गरेको भेटियो ।’ उनी भन्छन्, ‘मानव हर्मोनलाई प्रभाव पार्ने खाल्का विषादी पनि प्रयोग भइरहेको छ । जस्ले माटोको उर्वरा शक्तिलाईसमेत नष्ट गरिरहेको छ ।’ किशानहरुले एउटै तरकारी बालीमा २० दिनको फरकमा १० पटक भन्दा बढी विषादी छर्किने गरेका छन् ।

प्रभावकारी अनुमगन र सचेतनाको अभाव जिल्ला कृषि कार्यालय सुनसरीले प्रभावकारी अनुगमन नर्गदा प्रतिबन्धित विषादीहरुको प्रयोग बढेको पाइएको छ । कृषकहरुमा पनि सचेतनाको अभाव उस्तै गरी देखिएको छ । तर, कृषि कार्यालयले भने कृषकहरुलाई विषादी प्रयोग बारे सचेतना गराउँदै आइरहेको दाबी गरेको छ । ‘सचेतनाकै कारण २०७४ मा ५ प्रतिशतले विषादी प्रयोग घट्यो ।’ योजना शाखाका चौधरी भन्छन् । तर, अनुगमन प्रभावकारी नभएको विषयमा कृषि कार्यालय स्वीकार्छ । प्रमुख राजकान्त झा भन्छन्, ‘निश्चत रुपमा अनुगमन गर्न नसकेको हो । खुल्ला बोर्डर त्यसले गर्दा किशानहरुलाई कन्ट्रोल गर्न धेरै मुस्किल नै पर्छ ।’ तर, सरकारले हरेक वर्ष ‘विषादी प्रयोग मुक्त सप्ताह’ मनाउने गरेको छ । विषादीको नकरात्मक असर बारे जनचेतना अभिवृद्धि गर्नको लागि गरिने यो प्रयास अर्थहीन बनेको माथिको उदाहरणबाट पुष्टी हुन्छ ।

विषादीको मानव शरीरमा प्रभाव विषादी प्रयोग भएको तरकारी तथा फलफूल खाएमा तत्काल मुर्छा पर्ने, झाडापखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्युसम्म हुन सक्छ । दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्यूमर, नपुङ्सकता, बाझोपन, विकृत वच्चाको जन्म, शरीरका विभिन्न अङ्गहरुमा असर, नशा सम्वन्धि समस्या जस्तै पक्षघात जस्ता समस्या ल्याउने गर्दछ । संसारमा हरेक वर्ष ४ करोड मानिसलाई विषादीको कतै न कतै असर पु¥याएको विश्व स्वास्थ्य सङ्ठनको अनुमान छ । विश्वमा विषादीकै कारणले वार्षिक करिव ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको आँकडा छ ।

यी हुन् प्रतिबन्धित विषादी नेपालमा क्लोरोडेन, डिडिटी, डाइअल्ड्रिन, इन्डिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, इण्डोसल्फान, टोक्साफेन, विएचसी, लिन्डेन, फस्मामिडन, मिथायल माराथायन, अर्गेनोमर्करी क्लोराइड, मोनोक्रोटोफस, र फोरेटलाई प्रतिबन्धित लगाएको छ । तर, कतिपय अवस्थामा खुल्ला सीमानाका कारण किशानहरुमा सहजै पहुँच हुने गरेको छ ।