पानवारी । निर्माण सम्पन्न भएको २ वर्ष वितिसक्दा पनि धरान–६ पानवारीमा निर्मित डिप बोरिङ सञ्चालनमा आउन सकेको छैन ।

५१ लाख लागतमा निर्मित डिप बोरिङ प्रयोग विहिन बनेको छ । कृषि विकास योजना जनकपुरले आ.व. २०७२/७३ मा नै ५१ लाख ३७ हजार ३ सय ९६ रुपैया बजेट खर्च गरेर निर्माण गरेको डिप बोरिङ वेवास्ताको कारण प्रयोगविहिन भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि विकास योजना जनकपुरले तराईका २० जिल्लामा भूमिगत सिचाइको योजना निर्माण गर्ने गर्दछ । त्यसै अनुरुप सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ६ मा भूमिगत पानि निकालेर सिचाइ गर्ने उदेश्यले निर्माण गरिएको डिप बोरिङ स्थानिय तथा कृषि विकास योजना जनकपुरको वेवास्ताको कारण प्रयोग बिहीन बन्न पुगेको हो ।

२०७३ असार अगाडी सम्पन्न भएको बोरिङ सञ्चालन गर्न ‘डिप ट्युवेल जल प्रबन्ध समिति’ समेत कृषि विकास योजनाको समन्वयमा गठन भइसकेको छ । बोरिङबाट पानी प्रति सेकेण्ड ५ लिटरका दरले निस्कियो पनि । तर समितिले त्यसपछि बोरिङ चलाउन सकेको छैन ।

नाम नछाप्ने सर्तमा एक स्थानीयले ‘सिचाइको आवश्यकता भएपनि सञ्चालनको जिम्मा पाएको समितिको वेवास्ताको कारण बोरिङ सञ्चालनमा नआएको’ बताए । उनले भने –‘यो योजना निर्माण गर्दा बजेट जसरी पनि खर्च गरेर कमिशन लिन पल्किएका व्यक्तिले बोरिङ बनाएको हो र स्थानीय कृषकलाई पनि बोरिङ आवश्यकता नभएकोले अलपत्र परेको’ भन्दै होइन भने निर्माण सम्पन्न भएको २ वर्ष वित्दासम्म किन प्रयोगमा आएन ? उनले प्रश्न गरे ।’ ‘नेपाल सरकारको आधा करोड रुपैया लगानी भएको योजना सम्पन्न भएको २ वर्षसम्म सञ्चालनमा नआउनु भनेको राज्यको बजेट दोहन गर्नु भन्दा अर्काे उदेश्य नरहेको’ उनले बताए ।

२ वर्ष अघि सम्पन्न भएको योजना वेवास्ता भइरहदा यही वडामा सिचाइ गर्ने उदेश्यले नै अर्काे योजना सुरु भइसकेको छ । रेश्मा डिप बोरिङ कम्पनीले २७ लाखको ठेक्कामा डिप बोरिङको पहिलो चरणको काम सम्पन्न गरिसकेको छ । कम्पनीले डिप बोरिङ गरी १ सय ७० फुट खनेर पाइप लगाउने काम सकिसकेको छ । कम्पनीले करिब १० दिनमा काम सकेको हो । बहुवर्षे योजना अन्तर्गत भइरहेको उक्त योजना सम्पन्न भइ सञ्चालनमा आउन भने थप एक वर्ष लाग्ने बताइएको छ । त्यस्तै अरु दुईवटा योजना पनि यही वडामा गर्न लागिएको बताइएको छ ।

बोरिङ सञ्चालनको जिम्मा लिएको डिप ट्युबेल जल प्रबन्ध समितिका अध्यक्ष कृष्णप्रसाद गौतम भन्छन् –‘कृषि विकास योजनाका कर्मचारीले पानी निकालेर हिडेको भोलीपल्टदेखि पम्प नै चलेको छैन, के कारणले नचलेको हो भनेर पहिचान गर्न सकिएन ।’ गौतमका अनुसार दक्ष प्राविधिक नहुदा पम्प नचल्नुको कारण पत्ता लागेको छैन र बारम्बार कृषि विकास योजना जनकपुरमा सम्पर्क गर्दा कर्मचारीले आलटाल गरेकोले बोरिङ सञ्चालन हुन नसकेको बताउछन् ।

उता योजनाका इलेक्ट्रिकल हरिनाथ यादव भने सञ्चालनको जिम्मा समितिलाई दिइसकिएकोले उतैबाट सञ्चालन गर्नुपर्ने बताउछन् यद्यपी गम्भिर समस्या आएको खण्डमा हामीले नै पनि मर्मत गर्छाै । यादवले करिब १ महिना अघि मात्र हामीलाई बिग्रीएको भनी खबर गरेको भएपनि औपचारीक रुपमा जानकारी नगराएको बताए ।

योजना सम्पन्न भएपछि स्थानीय कृषकहरुको एक समुह गठन गरेर त्यसको सञ्चालन गर्ने जिम्मा दिइसकिएको पनि ओभरसियर सुनरैतले बताएका छन् । स्थानीय कृष्णप्रसाद गौतमको अध्यक्षतामा डिप ट्युबेल जल प्रबन्ध समिति गठन गरेर बोरिङको सञ्चालन जिम्मा सोही समितिलाई दिइएकोे थियो ।

डिप बोरिङबाट प्रति सेकेण्ड ५ लिटर क्षमता रहेको छ । बोरिङबाट सुख्खा याममा पनि २५ हेक्टर जमिन सिचाइ हुने कृषि विकास योजना जनकपुरका ओभरसियर महेन्द्र सुनरैतले बताएका छन् ।

बोरिङ सञ्चालनमा नआउनुबारे स्थानीय ६ नं. वडाका वडाध्यक्ष भुवनसिं बस्नेतलाई जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरे । उनले भने –‘पानी निकाल्न धेरै विद्युत खपत हुने र त्यसको लागत स्थानीय कृषकले व्यहोर्न नसक्ने भन्ने सुन्नमा आएको छ । तर किन सञ्चालनमा आएन ठ्याक्कै भन्न सकिएन ।’ तर अब सिचाइमा प्रयोगमा आएन भने हामी खानेपानीको लागी भएपनि प्रयोगमा ल्याउने योजनामा रहेको’ वडाध्यक्ष बस्नेतले बताए ।