विजयपुर/धरान नगर सरकारले बिजयपुर दरबार क्षेत्रको बिकास र प्रर्बधन गर्न सहित सात वटा प्रस्ताबहरुलाई प्राथमिकतामा राखेर शहरी बिकास मन्त्रालयमा पेस गरेको छ । एसियाली बिकास बैकको प्राबिधिक सहयोगमा शहरी विकास मन्त्रालयले आयोजनाहरु सञ्चालन गर्न प्रस्ताब माग गरेपछि धरान नगर सरकारले बिभिन्न सातवटा प्रस्ताबहरु पेस गरेको थियो ।

नगर सरकारले बिजयपुर दरबार क्षेत्रको विकास र प्रर्बधनलाई प्राथमिकतामा राखेर प्रस्ताब पेस गरेको हो । धरानबाट पेस गरेका प्रमुख सातवटा प्रस्ताब मध्ये विजयपुर दरबार क्षेत्रको विकास र संम्रक्षण गर्ने प्रस्ताबलाई प्राथमिकतामा राखेको छ ।

नगर सरकारले विजयपुर दरबार क्षेत्रको बिकास र संम्रक्षण,सर्दू सेउती रिभर करिडोर,कृषि र पर्यटन पहुच मार्ग निर्माण तथा विकास,कोकाह खोल रिक्रिएसन ड्याम निर्माण,धरान बिष्णुपादुका र धरान भेडेटार केबलकार सञ्चालन,कृषि प्रसोधन केन्द्र निर्माण,रिजनल बसपार्क निर्माण र एयरपोर्ट निर्माणको प्रस्ताब केन्द्रिय सरकारलाई पेस गरेको छ ।

यी सात मध्ये केही योजना स्वीकृतहुने लगभग निश्चित छ,कुन कुन योजना पर्छ त्यो अहिले फाइनल भएको छैन धरानका मेयर तारा सुब्बाले भने ।सुब्बाले बिजयपुर दरबार क्षेत्रको समग्र बिकास गर्ने उपमहानगरको योजना रहेकाले त्यसकालागि प्रस्ताब पेस गरिएको बताए । उपमहानगरको बजेटले मात्र बिकास सम्भव नभएकाले केन्द्रिय सरकारसँग योजना माग गरेको उनले बताए । प्रस्ताबमा बिजयपुर दरबार क्षेत्रको ऐतिहासिक प्रमाणिकरण,उत्खनन तथा पुर्ननिर्माण जस्ता कार्यक्रमहरु राखेर प्रस्ताब पेस गरिएको मेयर सुब्बाले बताए ।

धरान उपमहानगरपालिकाका बरिष्ट इन्जिनियर सुरज श्रेष्ठले प्रस्ताब स्वीकृत भए आगामी आर्थिकबर्ष बाटै यसको कार्य अगाडि बढ्ने बताए । प्रस्ताब स्वीकृत हुने अवस्था हामीले बुझेका छौ इन्जिनियर श्रेष्ठले भने‘प्रस्ताब स्वीकृत हुन साथ यसको डिटेल प्रोजेक्ट रिपोर्ट तयार हुन्छ । यो प्रस्ताब स्वीकृत हुन साथ धरान उपमहानगरपालिकाले बिजयपुर दरबार क्षेत्रलाई बिश्व सम्पदासुचिमा दर्ता गर्नपनि प्रकृया अगाडि बढाउने इन्जिनियर श्रेष्ठले बताए ।

विजयपुर दरबार क्षेत्रको विकास र प्रबर्धन गर्ने बिषयमा धरान उपमहानगरपालिकाले किरात जन्य सघंसस्थाहरु सँग पनि प्रतिबद्धता तथा सहमती जनाइ सकेको छ । पछिल्लो समय धरानमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाले दरबार क्षेत्रको एक स्थानमा खानेपानीको रिजर्व ट्याङकी बनाउने भएपछि उक्त स्थानमा पुरातत्वीक बिभागले प्रारम्भिक उत्खनन समेत गरेको थियो ।रिजर्भ ट्याङकी बनाउने स्थानमा गरिएको प्रारम्भिक उत्खननका क्रममा पुरातात्वीक महत्वका कुनैपनि बस्तुहरु फेला नपरेको रिपोर्ट पुरातत्व बिभागले धरान उपमहानगरपालिकालाई पठाई सकेको छ ।

‘ट्याङकी निर्माण गर्ने भनिएको स्थानमा कुनैपनि पुरातत्वीक महत्वको बस्तुहरु फेला नपरेको ब्यहोरा विभागले पठाएको छ’ एकिकृत शहरी विकास आयोजना धरानका आयोजना प्रमुख राजु पोख्रेलले भने । सरकारले धरान,इटहरी,इनरुवा,दुहवी,विराटनगरलाई औधोगिक करिडोरको रुपमा बिकास गर्ने समेत तयारी गरेको छ ।