बाँके । डुडवा गाउँपालिका होलिया क्षेत्रमा गरिएको सरकारी सर्वेक्षणले कुपोषणको अवस्था चिन्ताजनक रहेको देखाएको छ । यहाँका २५ प्रतिशत बालबालिका कुपोषणबाट पीडित छन् । तीमध्ये १० प्रतिशत बालबालिकामा कडा कुपोषण र १५ प्रतिशतमा मध्यम खाले पाइएको छ । सर्वेक्षणका क्रममा ७ सय बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो । बाँकेमा कुपोषणको अवस्था भयावह देखिएकाले सबै गाउँ र नगरपालिकाका शतप्रतिशत बालबालिकाको स्वास्थ्य जाँच गर्ने तयारीमा जुटेको जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खडकाको भनाइ छ । उनले थपे, “यो निकै डर लाग्दो तथ्यांक हो । विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो अवस्थालाई आपतकालीन भनिन्छ, ।” बाँकेका ग्रामीण क्षेत्रमा पोषण पुनस्र्थापना केन्द्र नहुँदा समस्या परेको छ । कुपोषण पीडित स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा अवस्था झनै भयावह बनेको हो । स्वास्थ्य संस्थाको सम्पर्कमा आएकाको तथ्यांकले भने जिल्लामा सरकारी र गैरसकारी संस्थाले खाद्यान्नको क्षेत्रमा लगानी बढाउँदै लगे पनि बालबालिकामा कुपोषणको अवस्था डरलाग्दो छ । नेपालगन्जस्थित पोषण गृहमा कुपोषित बालबालिका दैनिक उपचारका लागि आउने गरेका छन् । बाँकेका दुई वर्षमुनिका ५ प्रतिशत बढी बालबालिकामा कुपोषण पाइएको छ । यो स्वास्थ्य संस्थाको सम्पर्कमा आएकाको तथ्यांकअनुसार बाँकेका ५ प्रतिशत बालबालिकामा कडाखाले कुपोषण देखिएको छ । तर होलिया क्षेत्रको अवस्थाले धेरै बालबालिका कुपोषणको शिकार बनेका छन् । जिल्लामा ५ वर्षमुनिका करिब ५५ हजारभन्दा बढी बालबालिका छन् । सबैभन्दा बढी पीडित मधेसी, दलित समुदायका र भूमिहीन परिवारका रहेको स्वास्थ्यकर्मीले जनाए । त्यस्तै सन् २०११ मा सार्वजनिक नेपाल डेमोग्राफिक हेल्थ सर्वेले ४१ प्रतिशत बालबालिकामा पुडकोपनको समस्या छ । त्यस्तै २९ प्रतिशत बालबालिकाको उमेरअनुसार तौल नबढेको, ११ प्रतिशतमा ख्याउटे, ४६ मा रक्त अल्पताको समस्या छ । त्यसैले विश्व स्वास्थ्य संगठनले नेपालको कुपोषण अवस्था आपतकालीन सूचीमा राखेको हो । जिल्ला जनस्वास्थ्यले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा बाँकेका सबै बालबालिकाको स्वास्थ्य जाँच गर्ने तयारीमा जुटेको छ । त्यसका लागि जिल्ला भरिका ७८९ महिला स्वास्थ्यकर्मी र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको छ । तालिम प्राप्त महिला स्वास्थ्यकर्मीले कुपोषण भएका बालबालिकाको पहिचान गरी उपचार केन्द्रसम्म पुराउने छन् । स्थानीयस्तरमै उपचार सम्भव नभए नेपालगन्जस्थित पोषणगृह र सरकारी अस्पतालमा पठाउने छन् । स्वास्थ्य केन्द्रहरू स्थानीय सरकारमा हस्तान्तरण भएपछि बाँकेका ८ तहमा १४ वटा सेन्टर स्थापना गर्न थालिएको छ । जिल्ला भरिका बालबालिकाको स्वास्थ्य जाँचपछि कुपोषणको अवस्थाबारे थप तथ्यांक आउने विश्वास जिल्ला जन स्वास्थ्यको छ । हाल पीडित बालवालिका स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेकाले तथ्यांक बढ्ने देखिएको स्वास्थ्यकर्मी बताउँछन् । कुपोाषणबाट पीडित बालबालिकालाई प्रोटिनमा जोड दिनुपर्ने सुझाव उनीहरूको छ । घरमै पाइने अण्डा, पोषिलो खानेकुरा खुवाए कुपोषणबाट जोगिन सकिन्छ । अभिभावकले खानमा लापरबाही गर्दा बालबालिकालाई कुपोषण लाग्ने गरेको हो । मकै, भटमास, गहँुका परिकार मिलाएर खाने हो भने पनि उक्त रोगबाट बच्न सकिने उनीहरूले जनाए ।