पाँचथर/प्रदेश–१ को पहाडि जिल्ला पाँचथरका सरकारी चिया बगान बर्षौंदेखि बाँझै छन् । यहाँ सरकारी स्वामित्वका तीन वटा बगान छन् । जसले एक सय ६४ रोपनी क्षेत्रफल ओगटेको छ । जसमध्ये ७७ रोपनी जमिन बर्षौंदेखि खेर गइरहेको हो ।

[caption id="attachment_75681" align="aligncenter" width="710"] फिदिम नपा–३, लालीखर्कमा चिया विस्तार योजनाको कार्यालय सँगै रहेको बगान ।
तस्विर सन्देश सुब्बा[/caption]

राष्ट्रिय चिया तथा कफि विकास बोर्ड, चिया विस्तार योजनाको कार्यालय अन्तर्गत फिदिम नपा–३, लालीखर्कमा रहेको एक सय रोपनी जमिनको २६ रोपनी क्षेत्रफल बाँझो छ । त्यहाँ हालसम्म ६५ रोपनी जनिमनमा मात्र चिया रोपण गर्न सकिएको कार्यालयका योजना प्रमुख प्रेम कुमार थिङ बताउँछन् । बाँकि पाँच रोपनी भने कार्यालयले ओगटेको छ । त्यस्तै फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्दीन उपकेन्द्रको ३५ रोपनी क्षेत्रफलमध्ये दश रोपनी क्षेत्रफलमा मात्र चिया रोपण गरिएको छ । उता फालेलुङ गाउँपालिका–२, एकतीनमा रहेको उपकेन्द्रको अवस्था अझै नाजुक छ । २९ रोपनी क्षेत्रफलमध्ये गत आर्थिक वर्षमा केवल साँढे दुई रोपनीमा मात्र चिया लगाइएको छ ।

वि.सं.२०३९ मा तत्कालीन सरकारले पाँचथर सहित पूर्वका इलाम, झापा, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्र घोषणा गरेपछि पाँचथरमा व्यवसायिक चिया खेतीको सुरुवात भएको पाइन्छ । पाँचथरमा ४० को दशकदेखि नै सरकारी स्तरबाट चिया खेती बिस्तारको काम सुरु भएको हो ।  तर केन्द्रीय स्तरबाट पर्याप्त बजेट बिनियोजन हुन नसक्दा लामो समयसम्म सरकारी स्वामित्वका बगान बाँझो राख्नुपर्ने अवस्था आएको योजना प्रमुख थिङले बताए । चालु आर्थिक वर्षमा केही जमिनमा चिया रोपण गर्ने कार्यक्रमा रहेको बताइएको छ ।