पनौती/ भूकम्पपछि पानीका मुहान सुकेसँगै काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० का स्थानीय दूध बेचेर पानी किन्न बाध्य छन्। भूकम्पपछि पानीका मुहान सुकेसँगै दैनिक पिउन र सरसफाइका लागि पानीको कमी भएपछि अभाव हटाउन दूध बेचेर पानी किन्न बाध्य भएका हुन्।
[caption id="attachment_76314" align="aligncenter" width="750"] काभ्रेको कोसीपारि क्षेत्रमा खानेपानीको चरम अभावसँगै स्थानीयवासी तथा चौरीखोला पाथीभरा लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खनेको खानेपानीको ट्यांकी। श्रीराम केसी[/caption]करिब तीन हजार जनसंख्याले भोगचलन गर्दै आएको पानीको मुहान सुकेकाले चण्डेनीमण्डन भेगका स्थानीय दूध बेचेर पानी किन्न बाध्य भएको मण्डनदेउपुर नगरपालिका–१० का कुमार लामा बताउँछन्। ‘चण्डेनीमण्डन भेगमा भूकम्पपछि खाने पानीको हाहाकार छ, बिहान दूध बेच्न लैजान्छन् र फर्कंदा दूध बेच्न लगेको त्यही भाँडोमा पानी किनेर ल्याउँछन्’, उनले भने, ‘यहाँ मात्र होइन, मण्डन भेगका ज्याम्दी, जैसीथोक, महादेवस्थान र चण्डेनीमण्डनका करिब २० हजार जनसंख्या दूध बेचेर पिउने पानी र घर बनाउने पानी किन्न बाध्य छन्।’
प्रतिलिटर ठाउँ हेरेर एकदेखि पाँच रुपैयाँसम्म किन्नुपर्ने र दैनिक ५० हजार लिटरभन्दा धेरै पानी मण्डनदेउपुर नगरपालिकाको चण्डेनीक्षेत्रमा उपयोग हुने गरेको लामाको भनाइ छ। ‘सरकारले आवास निर्माण गर भनेर समय तोकेको छ, यता घर बनाउन पानी छैन’, उनले दुखेसो पोखे, ‘एउटा सानो घर बनाउन ३० देखि ५० हजार रुपैयाँसम्मको पानी किन्नुपर्छ। हामी गरिबले कसरी सक्छौं ?’
पिउने पानी लिन मुहान पुग्न घरबाट तीन घण्टा हिँड्नुपर्ने र त्यसमा पनि राति नै गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको उनले बताए। गर्मी सुरु भएसँगै सरसफाइ र पिउने पानी शुद्ध नहुँदा विभिन्न रोगको संक्रमण हुने गरेको गुनासो स्थानीयको छ।
भूकम्पपछि जिल्लाका विभिन्न ठाउँमा पानीका मुहान सुकेसँगै खानेपानी र आवास पुनर्निर्माणमा समस्या आएको सोही वडाका मदन नेपाल बताउँछन्। ‘पानीको समस्या भएसँगै खेतबारी बाझिने र युवा पलायन हुने बसाइँ सराइसमेत बढेको छ’, उनले थपे, ‘स्थानीयको मुख्य आयस्रोत तरकारी खेती र पशुपालन भए पनि भूकम्पपछि पानी अभावमा किसानले खेतबारी बाँझै राख्ने र पशुपालन छाडेका छन्।’ अधिकांश बासिन्दा बेसीमा बसाइँ सर्न थालेका छन् भने कसैले पानी किनेर घर बनाउन सुरु गरेका र केही भने बर्खा कुरेर बसेका छन्।
चण्डेनीमण्डन, ज्याम्दी, देउपुर, पलाञ्चोक, तेमाललगायत क्षेत्रमा पानीको हाहाकार भएपछि भूकम्पपीडित सकसमा छन्।
खोलाको पानी किनेर आवास पुनर्निर्माण गरेको मण्डनका स्थानीय रामचन्द्र पराजुलीले बताए। ‘मैले गाउँमै हजार लिटर पानीको १५ सय रुपैयाँका दरले १ लाख लिटर पानी किनेर पक्की घर बनाएँ’, उनले भने। चण्डेनीमण्डनमा मात्र नभई ज्याम्दी, देउपुर, पलाञ्चोक, तेमाल र जिल्लाका उच्च भूभागमा पनि अहिले खानेपानी र आवास निर्माण गर्न पानीको हाहाकार भएपछि भूकम्पपीडित सकसमा छन्। भूकम्पले जिल्लाका ३२ प्रतिशत मुहान सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलले बताएको छ। जिल्लामा खानेपानीका संरचनामा ७० करोड रुपैयाँभन्दा धेरै क्षति पुगेको थियो।
चौंरीखोलाको पानी असारसम्म ल्याउन निर्देशन काभ्रेको दुर्गम क्षेत्र मानिने कोसीपारीको कात्तिके देउरालीमा खानेपानी अभावमा स्थानीय काकाकुल हुनुपरेको छ। भूकम्पपश्चात् भएका अधिकांश मुहान सुकेपछि अहिले एक गाग्री पानीको जोहो गर्न घण्टौं टाढा धाउनुपर्ने यहाँका अधिकांश स्थानीयको दैनिकी बनेको छ। गाउँमा खानेपानीको चरम समस्या अन्त्य गर्न रामेछाप सीमास्थित चौरीखोलाबाट गाउँकै माथिल्लो भूभागमा रहेको पाथीभरा डाँडासम्म पानी लिफ्टिङ गरी वितरण गर्न पाँच वर्षअघि चौरीखोला पाथीभरा लिफ्टिङ खानेपानी योजना निर्माण थालिए पनि बजेट अभाव र राजनीतिक खिचातानीले निर्माण सुस्त भइरहेकोमा अब छिट्टै यसको काम सकिने अपेक्षा पलाएको छ।
खानेपानीको चरम अभावसँगै स्थानीय र चौरीखोला पाथीभरा लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको व्यापक दबाबपछि निरीक्षणमा गएको जिल्ला खानेपानी डिभिजनका प्रमुख रामचन्द्र काफ्ले, इन्जिनियर राजेन्द्र श्रेष्ठ, फिल्ड सुपरभाइजर रामप्रसाद बडाललगायतको टोलीले असार मसान्तसम्म आयोजनाको काम सक्न निर्देशन दिएको र बजेट अविलम्ब छुट्याउन प्रतिबद्धता जनाएको समितिका अध्यक्ष यादव गिरीले जानकारी दिए।
हालसम्म आयोजनाअन्तर्गत ट्यांकी निर्माणको काम सम्पन्न भइसकेको र बजेट निकासा भएलगत्तै मेसिन जडान, विद्युत् लाइन जडान, पाइप लाइन जडानलगायत काम सम्पन्न गरी आगामी २०७५ असारसम्म खानेपानी वितरण गरिने उनले बताए।
अन्न्पुर्णपाेष्ट