विराटनगर/ प्रदेश १ मा संघीय सरकारद्वारा सञ्चालित वैज्ञानिक वन व्यवस्थापन अन्तर्गतका कार्यक्रम तत्काल रोक्न प्रदेश सरकारले निर्देशन दिएको छ । वन व्यवस्थापनअन्तर्गत रुख कटान र टेन्डर गर्ने सम्पूर्ण प्रक्रियामा रोक लगाइएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वन कार्यालयका कर्मचारी, सामुदाियक वनका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार यस्तो निर्देशन दिएका हुन् ।
पछिल्लो समय वन व्यवस्थापनका नाममा अनधिकृत रुपमा रुख कटान गर्ने र पारदर्शी ढंगले त्यसको व्यवस्थापन नभएको जनगुनासो आएकोले यसलाई रोक्न प्रदेश सरकारले कदम चालेको राईले बताए । ढालिएका रुख सुरक्षित गर्न तथा टेन्डर नगर्न पनि निर्दशन दिइएको छ ।
पहिलेको व्यवस्थाअनुसार आएको वैज्ञानिक वन व्यवस्थान कार्यक्रम संघीय संरचनामा मुलुक गई प्राकृति साधन स्रोतको बाँडफाँट तीनै तहको सरकारसँग हुने व्यवस्था भएकोले सो विषय प्रस्ट नभई कटान र टेन्डर रोक्ने नीति लिइएको मुख्यमन्त्री राइले बताए । कुनै कानुनी आधार नभएपनि मुख्यमन्त्रीले संघीय सरकारसँग कोअर्डिनेशन गरेर यो विषयलाई किनारा लगाउने भन्दै तत्काल कार्यक्रम रोक्न निर्देशन दिएको जिल्ला वन कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रमुख डा. विनोद देवकोटाले मुख्यमन्त्रीको निर्देशनपछि तत्काललाई कार्यक्रम रोकिएको जानकारी दिँदै अब संघीय सरकारको वन मन्त्रालयले दिने निर्देशन अनुसार अगाडि बढ्ने बताए ।
‘अहिलेसम्म हामीलाई प्रदेश सरकार मातहत रहने भन्ने सर्कुलर आएको छैन’ डा. देवकोटाले भने, ‘हामीले संघीय सरकारको बजेट तथा रेडबुकमा भएको कार्यक्रम अगाडि बढाइरहेका छौं, यसलाई रोक्नु नपर्ने हो ।’ देवकाटोले मुख्यमन्त्रीको निर्देशनपछि कार्यक्रम तत्काललाई रोकिएको जानकारी दिँदै संघीय सरकारको निर्देशन अनुसार अगाडि बढ्नसक्ने संकेत गरे । कार्यक्रम पूर्ण रुपमा रोकिएको भनेर बुझ्न नहुने उनको भनाइ छ ।
वन जथाभावी फडानी भएकोबारे बुझ्न भन्दै बोलाइएका वनका कर्मचारीले मुख्यमन्त्री राईसहित मन्त्रालयका कर्मचारीलाई वैज्ञानिक वन व्यवस्थापनको बारेमा ब्रिफिङ गरेका थिए । जिल्लामा जारी कार्यक्रम कुनै वन फडानी नभएर दिगो वन व्यवस्थापनको लागि सरकारले तय गरेको दिर्घकालिन योजनासहितको कार्यक्रम भएकोबारे आपूmहरुले प्रस्तुती गरेको वन कार्यालय प्रमुख डा.देवकोटाले बताए ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अनुसार जंगलमा रहेका ढलेपडेका र सयौं वर्ष पुराना तथा बृद्धि हुन नसक्ने अवस्थामा पुगेका रुखहरु निकालेर नयाँ विरुवा हुर्काइन्छ । मोरङका २० सामुदायिक र ४ वटा साझेदारी वनमा यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको छ । कार्यक्रममा कुनै त्रुटी भएमा त्यसलाई सच्याउनुपर्नेमा कार्यक्रम नै बन्द गर्ने निर्देशन हचुवाको भरमा आएको सामुदायिक वनका प्रदाधिकरीहरुले गुनासो गरेका छन् ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि वनको हैसियतमा सुधार आएको उनीहरुको भनाइ छ । मोरङमा पहिलो पटक ४ वर्षअघि सुरु भएको लाटीझोडा साझेदारी वन उपभोक्ता समिति मातहतको क्षेत्रमा अहिले नयाँ विरुवा राम्रोसँग हुर्किरहेका छन् भने लेटाङको नमूना सामुदायिक वनमा त नयाँ विरुवा हुर्किएर घना जंगल बनेको छ ।
दुई वर्षबाट वैज्ञानि वन व्यवस्थापन थालेको लोहन्द्र साझेदारी वनको नतिजा पनि राम्रो देखिएको छ । यस्तै लेटाङको नमुना सामुदायिक वनले सुरु गरेको वैज्ञानिक वन व्यवस्थान कार्यक्रम सबैभन्दा बढी प्रभावकारी देखिएको छ ।
मोरङमा चार वर्षअघिवाट वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रम सुरु भएको हो ।