दोर्जे डोल्माका लागि डोल्पो आफ्नो पूर्खा भूमि हो । यतिबेला उनी अमेरिकाको बासिन्दा भए पनि उनलाई डोल्पोको यादले बेलाबेलामा झस्काइरहन्छ । नझस्काओस् पनि कसरी ? जिन्दगीका महŒवपूर्ण कुरा उनका लागि त्यहीँ छ, परिवार र सम्झनाहरू ।
त्यही सम्झनालाई पछ्याउँदै हालै उनले ३२८ पेजको लामो आत्मवृत्तान्त निकालेकी छन् । ‘यो पुस्तक अरुका लागि जानकारीको भण्डार हुनसक्छ,’ ‘याक गर्ल’ पुस्तकको प्रचारका लागि काठमाडौँ आइपुगेकी दोर्जे भन्छिन्, ‘मेरा लागि भने आफ्नो जन्मथलो प्रतिको मोह प्रदर्शन हो । यहाँ मैले मेरो परिवार, हाम्रो संस्कृति, बद्लिँदै र हराउँदै गएका हिउँ–पहाड र स्थानीयता तथा मौलिकताको पुनःस्मरण गरेकी छु ।’
हिम्मतिली बालिका परिवारको ११ जना सन्तानमध्ये सबैभन्दा जेठी दोर्जेले बाल्यकालमा स्कुल पढ्न पाइनन् । ‘किनभने त्यहाँ त्यो बेला पाठशाला थिएन,’ उनले भनिन्, ‘त्यसैले मेरो प्रमुख काम भनेको भेडा र याक चराउनु हुन्थ्यो ।’ अक्षर चिनेर पनि के गर्नु ? त्यस्तो विकटमा अक्षरले भन्दा पनि भेडाले पाल्थ्यो । त्यसैले उनी १० वर्षकी छँदासम्म स्कुलको अनुहार हेर्न पाइनन् । बरु भेडा चराउँदा कैयौँ पटक ब्वाँसा र हिउँचितुवासँग भिड्नै पर्ने अवस्था पनि आइलाग्यो ।
से फोक्सुन्डो नेसनल पार्कनजिकै उनको बासस्थान छ । त्यहाँ प्रायः भेडा झम्टन हिउँचितुवा, ब्वाँसाहरुसँग दोर्जेको जम्काभेट भइरहन्थ्यो । त्यसैले उनका लागि ती रक्तपिपासु जनावर नयाँ नौला थिएनन् । ‘एक दिन त पाँच वटा ब्वाँसो मिलेर एउटा भेडा लुछ्न भ्याइहाले,’ उनले एक दिनको घटना सुनाउँदै भनिन्, ‘मैले ढुंगा हानेर तिनलाई भगाउनु प¥यो । त्यो बेला मेरो उमेर ७ वर्षको मात्र थियो । तिनीहरुलाई एक्लैले ढुंगा हानेर भगाउँदा मैले आफूलाई संसारकै शक्तिशाली ठानेँ ।’
तर सधैँ कहाँ त्यस्तो भाग्यमानी भइन्छ र ? एक दिन त उनले चराइरहेका भेडाको समूहमा हिमचितुवा छि¥यो । उसले एउटा भेडो पक्रिहाल्यो । उनका लागि भेडो महŒवको थियो । कम्तीमा भेडो बचाउन नसके पनि हिमचितुवाले छाडेर भाग्यो भने मरेको भेडोको छाला काम लाग्ला भनेर उनले चितुवा खेदाउन थालिन् । हुन पनि यसअघि गाउँमा हिमचितुवा खेदाउने अग्रजहरु थिए । उनले सोचिन्, यो चितुवा खेदाउन मलाई पनि कुनै आइतबार छैन । त्यसैले उनी चितुवाबाट भेडाको ऊन र छाला बचाउने ध्याउन्नमा लागिन् । उनी हिमचितुवा खेदाउन थालिन् । खेदाउँदा खेदाउँदै उनी यस्तो ठाउँमा पुगिन्, जहाँबाट न चितुवा भाग्न सक्थ्यो न त उनले भगाउनै ! अन्त्यमा चितुवाले मासु छोड्यो तर भाग्ने ठाउँ पाएन । त्यसपछि मात्र दोर्जेलाई महसुस भयो, उनी चितुवा खेदाउने जोशमा आफैँलाई कति खतरनाक ठाउँमा उभ्याएकी रहिछन् ! अब अलिकति मात्रै दोर्जेले चितुवालाई दबाब दिँदा, मासु छाडिसकेको चितुवाले उनैलाई चपाउन बेर थिएन ! त्यसैले उनले मासुको माया त्यागिन् र चाल मारेर निस्किइन् । ‘चितुवाले त्यो दिन मलाई मारिदिन सक्थ्यो,’ उनले आतंकपूर्ण त्यस क्षणलाई सम्झँदै भनिन्, ‘आफूलाई डरलाग्दो चितुवाका अघिल्तिर पाउँदा म डरले आत्तिएँ तर अगाडि उसलाई त्यो डर देखाइन । तर चितुवाले किन हो, मलाई आक्रमण गरेन छाडिदियो र आफूले आधा खाएको भेडामै चित्त बुझायो । अहिले सम्झेर ल्याउँदा लाग्छ, मेरो जीवनमा अझै केही गर्न बाँकी रहेछ र चितुवाले पनि छाडिदियो ।’
यस घटनाको केही महिनापछि नै दोर्जेलाई ढाडको समस्या सुरु भयो । यस समस्यालाई अंग्रेजीमा स्कोलोरोसिस भनिन्छ । यस रोगमा ढाडको हाड क्रमशःबाङ्गिदै जान्छ र अन्त्यमा अंग्रेजी सी आकारको बन्न पुग्छ । यस्तो अवस्थामा रोगीले श्वासप्रश्वास लिन पाउँदैन र सोही कारणले उसको मृत्युसमेत हुन पुग्छ ।
‘सानो छँदा पनि मलाई ढाड दुख्थ्यो तर त्यो त्यति सहन नसक्ने थिएन, त्यसैले मैले ख्याल गरेकी थिइनँ,’ उनले सुरुवाती दुखाई बयान गर्दै भनिन्, ‘फेरि म घरको जेठी सन्तान भएकाले दुख्ने, पीडा हुने कुरामा अड्किएर बस्न सक्ने अवस्था पनि थिएन । मैले घरका काम सघाउनै पथ्र्यो, मैले मेरो मावली र घरका हजूरबा–हजूरआमालाई समय दिनुपथ्र्यो । हाम्रो संस्कृतिमा जेठी हुनुको ठूलो अर्थ हुन्थ्यो ।’
रोगले ल्यायो काठमाडौँ १० वर्षको उमेर नपुग्दै उनलाई रोगले नराम्रोसँग च्याप्यो । त्यहाँ सामान्य रोगको उपचार गर्ने स्वास्थ्य चौकी त थिएन, उनको रोगका बारेमा बुझिदिने त झन् को पो होस् ! त्यसैले २४ वर्षअघि उनी आफ्ना बुबा कर्मासँग काठमाडौँ आइपुगिन् ।
डोल्पोबाट महिनौँ लगाएर उनी काठमाडौँ आइपुगेकी थिइन् । डोल्पोबाट जतिजति तल झरिन्, उनले नौलो अनुभव गर्न पाइन् । ‘मैले पहिलो पटक बस (गाडी) देखेँ, पहिलो पटक प्लेन देखेँ,’ यतिबेला त्यो कुरा सम्झँदा पनि उनलाई हाँसो उठ्छ, उनले थपिन्, ‘मलाई के लाग्थ्यो भने बस र प्लेन भनेका हाम्रो गाउँको जस्तो याक वा भेडामध्ये केही होलान्, तिनले पनि घाँस चर्दा हुन् !’ काठमाडौँमा गाडीको घुइँचो देखिन् र बुबाले उनलाई बुझाएपछि मात्र थाहा भयो, यी त मेसिन पो रहेछन् ! यिनलाई घाँस होइन, डिजेल र पेट्रोल चाहिँदोरहेछ भन्ने पछि मात्र थाहा पाइन् ।
सघन उपचारको खोजी उनको ढाड कुप्रँदै थियो, उनको उपचारको खोजी पनि हुँदै थियो । सन् १९९४ ताका उनको उपचार नेपालमा खोज्नु लगभग असम्भव नै थियो । त्यसैले एक महिना काठमाडौँमा भौँतारिँदा भौँतारिँदै दोर्जेका बुबा दिक्क भइसकेकाथिए । यसैबीच दोर्जेका बुबा एक जना अमेरिकी जेनिफर क्लिएरीले आर्थिक सहयोग गरेको डोक्पो भन्ने बालगृहमा पुगे । त्यहाँ आफ्नी छोरीलाई शरणमा राखिन्छ कि भनी सोधीखोजी गरे ।
जेनिफरले दोर्जे र कर्माका सबै कथा सुनिन् । सुनेपछि उनलाई लाग्यो, दोर्जेका लागि मैले केही गर्नैपर्छ । त्यसपछि उनी स्कोलोरोसिसबाट पीडित भए पनि धर्म छोरी बनाउन राजी मात्र भइनन्, अमेरिकामा उपचार गर्नसमेत अघि सरिन् । कर्माका लागि जेनिफर एउटी देवी बनेर निस्किइन्, जसले उनलाई यस पारिवारिक विपत्तिबाट निकाल्न मद्दत गरिन् । जेनिफरले दोर्जेलाई अमेरिका लैजाँदा उपचारको जिम्मा मात्र लिएकी थिइनन् । अब उनका लागि दोर्जे एउटी छोरी थिइन्, जसको उपचार र पठनपाठन सबैथोकको जिम्मा लिनुपर्ने थियो । त्योभन्दा ठूलो कुरा, कहिल्यै कल्पना नगरेको मुलुकमा पुग्दा हुने ‘कल्चरल सक’का लागि तयार पार्नुपर्ने थियो । त्यहाँ दोर्जेलाई केही समय समस्या भयो । पाइखाना जान र कहाँ पर्छ भनी सोध्न पनि निकैबेर सोच्नुपथ्र्यो । क्रमशः भाषामा उनी पोख्त हुँदै गइन् र उनको ढाडको उपचार थालिने भयो ।
‘तेरो ढाड त दुई फ्याक पारेर चिर्छन्,’ स्कुले साथीले उनलाई डर देखाउँथे र दोर्जेलाई लाग्थ्यो पनि, ‘ढाडको उपचार गर्न आखिर ढाड दुई फ्याक नपारे, के गर्लान् त !’
त्यसैले जब जब उनका नयाँ बाबुआमाले उनलाई अस्पताल लैजान्थे, मानसिक रुपमा उनी चिरिन तयार हुन्थिन् । उनलाई थाहा थिएन, यस्तो गम्भीर उपचारका लागि डाक्टरहरुले हप्तौँ परीक्षण गर्छन्, घण्टौँ सर्जरी गर्छन् र महिनौँ अस्पतालमै समय व्यतीत गर्नुपर्छ । उनलाई जुन दिन जेनिफरले अस्पताल पु¥याउँथिन्, उनी अब चिरिन तयार हुन्थिन् । उनी भन्छिन्, ‘म तयार थिएँ किनभने मलाई विश्वास भइसकेको थियो, डाक्टरले मलाई निको पार्नेछन् र म पीडामुक्त हुनेछु ।’ त्यसैले १८ घण्टे सर्जरी र महिनौँको अस्पताल बासमा पनि उनी अत्तालिइनन् । ‘मेरो अप्रेसन निकै कठीन रहेछ !’ उनले भनिन्, ‘मेरोजस्तो सर्जरी यसअघि नगरिएको हुनाले त्यहाँका डाक्टरका लागि पनि म एउटा ठूलो समस्या बन्न पुगेकी थिएँ । उनीहरुले निकै मिहिनेत साथ काम गर्नुपरेको थियो ।’ हुन पनि अमेरिकामा सानै उमेरमा यस किसिमको समस्या आइपरे, तत्काल उपचार गरिन्छ । दोर्जे निकै ढिला गरी उपचारका लागि आएकी थिइन् । त्यसो त उनका चिकित्सक दङ्ग के कारणले परिरहेका थिए भने केही महिना ढिला उनी अमेरिका पुगेकी भए पनि उनको उपचार सम्भव हुने थिएन । समयमै ल्याइपु¥याएकामा डोल्माको भाग्यप्रति चिकित्सक नै दङ्ग परिरहेका हुन्थे । ‘त्यसैले यो मेरो जिन्दगी बोनसको जिन्दगी हो,’ दोर्जे भन्छिन्, ‘त्यसैले बोनसमा पाएको यो जीवन म आफूजस्तै पीडामा रहेकाहरुका लागि केही गर्न चाहन्छु । यही अनुभूति मैले यस किताबमार्फत् व्यक्त गरेकी हुँ ।’
३३ वर्षे दोर्जेले यत्तिका समयमा एउटै शिक्षा पाइन्, त्यो हो– अगाडिका मानिसको कथा राम्ररी सुनिनुपर्छ । कसैले अगाडिको मानिसको कुरा सुनिदियो मात्र भने पनि उसका लागि ठूलो राहत हुनसक्छ । कर्माको कुरा जेनिफरले नसुनिदिएको भए आज दोर्जे ज्यूँदो रहन गाह्रो हुन्थ्यो । दोर्जे भन्छिन्, ‘यो संसारमा हरकोहीका भनिन लायक, सुनिन लायक कुरा, कथा र भावना छन् । तिनलाई सुनिदिनु पर्छ । सुनिदिँदा कतै त्यो मान्छेको मन हलुंगो हुन्छ कि ! कतै उसका समस्या समाधान हुन्छन् कि ! उसले नयाँ बाटो पहिल्याउन सक्ला कि !’
‘मेरो आत्मकथामा मेरो परिवारको ज्यादै निजात्मक भावना परेको छ,’ दोर्जे भन्छिन्, ‘कतै यो कथा पढेर वा सुनेर कसैले अर्को केही उत्साह पाउला कि !’
परिवारबाट