नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिका–७, गगनगञ्जको जनसंख्या चार हजार ३२ छ। हात्तीपाइले रोगविरुद्धको राष्ट्रिय अभियान चल्दा यहाँ चार सय जनाले मात्रै औषधी खाए। यो वडामा हात्तीपाइले रोगविरुद्ध औषधी खाने दश प्रतिशत भए।
वडा नं. ३, एकलैनीमा ४ हजार ६ सय ८४ मध्ये ५ सय ७७ जनाले मात्रै औषधी खाए। अर्थात, यो वडामा हात्तीपाइले रोगविरुद्धको औषधी १२ प्रतिशतले खाए।
सबैजसो अभियानमा औषधी कम खाने भनेर चिनिएको वडा नं. ८ ९पुरानो ११० मा यसपालि अलि बढी समेटिएका छन्। यो वडामा २६ प्रतिशतले औषधी खाएका छन्। ५ नम्बर वडामा २० प्रतिशतले औषधी खाए।
समग्रमा भन्दा नेपालगञ्ज बजारमा यसपालि पनि हात्तीपाइलेको ‘कभरेज’ सन्तोषजनक भएको छैन। ‘फाइनल रिपोर्ट तयार भइसकेको छैन, नगरमा बढीमा ५२ प्रतिशतले औषधी खाएका छन्, जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका हात्तीपाइले अभियानका फोकलपर्सन रत्नलाल शर्माले भने, हात्तीपाइले अभियान यसपाली पनि सन्तोषजनक भएन।’
फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्ध आम औषधी सेवन अभियान चलाइएको थियो। बाँकेमा यो आठौ अभियान हो।
२०६७ सालदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ। लगातार अभियान चलेको ६ वर्षमा हात्तीपाइले रोगी एक प्रतिशत भन्दा कममा झार्नु पर्नेमा बाँकेमा त्यसो हुन सकेको छैन। आठौ अभियान चलिसक्दा बाँकेमा अझै १३ प्रतिशत रोगी छन्। अभियान सञ्चालन हुँदा बाँकेमा २०।८ प्रतिशत रोगी थिए।
बाँकेमा यसपालि ५ लाख ३५ हजार ७ सय ९७ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काका अनुसार २ देखि ५ वर्षका ३४ हजार ६ सय ८८, ६ देखि १४ वर्षका एक लाख १२ हजार ८ सय ९०, १५ वर्षमाथिका ३ लाख ८८ हजार २ सय १९ जना थिए।
एक लाख १४ हजार ९ सय ८७ घरधुरीका ती मानिसलाई औषधी खुवाउन ९ सय ९१ वटा बुथ बनाइएको थियो। औषधी खुवाउन ३ सय ४६ जना स्वास्थ्यकर्मी, दुई हजार तीन सय स्वास्थ्य स्वयंसेवक र ५ वटा आरआरटी टीम परिचालन भएका थिए।
रिपोर्ट तयार हुँदै गर्दा यसपालि जिल्लामा ६३ प्रतिशतसम्मले औषधी खाएको हुन सक्ने सम्बद्धहरुले आकलन गरेका छन्।
पहिलो अभियानमा जथाभावी औषधी बाँडेको र असावधानीपूर्वक खाएकाले धेरै मानिसलाई असर गरेकाले अहिलेसम्म धेरै मानिस हात्तीपाइले रोगविरुद्धको औषधी खान हच्किएका छन्।
२०६७ मा ९१, २०६८ मा ५३, २०६९ मा ६६, २०७० मा ७३, २०७१ मा ७५, २०७२ मा ६७ र २०७३ सालमा ७३ प्रतिशतले हात्तीपाइले रोगविरुद्धको औषधी खाएका थिए।
सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य राखिएको छ। नेपालका ६१ जिल्ला प्रभावित रहेकोमा अभियानहरु सञ्चालन भएपछि ३७ जिल्लामा प्रगति भएको छ।
६ पटक अभियान सम्पन्न गर्दा पनि एक प्रतिशतमा झार्न नसकिएका २५ जिल्ला छन्। अभियानको प्रभाव नै फितलो रहनेमा कपिलबस्तु अगाडि छ।
यो जिल्लामा १० औं पटक अभियान चलेको छ। बाँकेजस्तै आठौं पटक अभियान चलाएको पनि धेरै जिल्ला छन्। यसपटक देशभरका २४ जिल्लामा हात्तीपाइले रोगविरुद्धको अभियान चलाइएको थियो।