भद्रपुर/ झापाको सीमावर्ती तथा शहरी क्षेत्र क्षयरोगको उच्च जोखिममा रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
“सबै तहको सक्रिय नेतृत्वको प्रतिवद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चिता” भन्ने मुल नाराका साथ शनिबार विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा क्षयकुष्ठ अधिकृत प्रमोद दाहालले उक्त जानकारी गराए ।
प्रदेश नम्बर १ का जिल्लामध्ये झापा जिल्लामा ६० प्रतिशत बिरामी सम्पर्कमा आएपनि ४० प्रतिशत अझै बाहिर रहेकोले जिल्ला उच्च जोखिममा रहेको बताउँदै उनले भने, ‘ गत आर्थिक बर्षमा २०७३।७४ मा क्षयरोगबाट ९ जना पुरुषको मृत्यु भइसकेको छ ।’ ०७२।७३ मा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको थियो । चालु आर्थिक बर्षको तथ्याक प्राप्त नभएको उनले बताए । मृत्युको संख्यामा केही कमि आएपनि क्षयरोगका बिरामीमा कमि नआएको क्षयकुष्ठ अधिकृत दाहालले जानकारी दिए ।
उनका अनुसार आर्थिक बर्ष २०७२।७३ मा ३ सय ८० महिलासहित १ हजार ८६ जना क्षयरोगी उपचारको प्रक्रियामा आएका थिए । आर्थिक बर्ष ०७३।७४ मा ३ सय ७६ महिलासहित १ हजार ७० जना उपचारको प्रक्रिया आएका थिए भने, चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म ९४ महिलासहित ३ सय ३४ जना उपचारको प्रक्रियामा आइसकेका छन् । त्यसमध्ये चालु आवको प्रथम चौमासिकको तथ्याक अनुसार दमकमा ५०, शनिश्चरेमा २६, अनारमनीमा २२, काँकडभिट्टामा १७, सुरुङ्गामा १६, सताक्षीधाममा १४, भद्रपुरमा ११ र लखनपुरमा १० जना बिरामी उपचार गराइरहेको कार्यालयले जनाएको छ ।
क्षयरोग एक प्रकारका सरुवा रोग भएकोले जिल्लामा बढी जनघनत्व र सीमावर्ती क्षेत्र बढी जोखिममा रहेको कार्यालय प्रमुख मधुसुदन कोइरालाले जानकारी दिए । ‘समयमै क्षयरोगको पहिचान गराई स्वास्थ्य संस्थामा गई उपचार गराए यसको रोकथाम गर्न सहज हुन्थ्यो, उनले भने ।