बिर्तामोड/ खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानलाई झापाका सबै स्थानीय तहले कार्यान्वयन गर्न थालेका छन् । खुल्ला दिसामुक्त घोषणा भएपनि त्यसका लागि संरचना तयार नहुँदा सरकारले लिएको लक्ष्य पुरा हुने अवस्थामा छैन ।

[caption id="attachment_77855" align="aligncenter" width="2448"] अर्जुनधारा नगरपालिकामा एउटा शौचालयको दिसा यसरी खोलामा मिसाइएको छ ।[/caption]

झापाका कतिपय स्थानमा हालसम्म पनि शौचालय बनेका छैनन् । सन् २०१७ भित्रमा देशलाई नै खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष राज्यले दिएको थियो । अझ झापालाई सन् २०१६ सम्ममा नै खुल्ला दिसा मुक्त क्षेत्र घोषण गर्ने प्रतिबद्वता थियो, तर त्यो प्रतिबद्वता सन् २०१८ को पहिलो तीन महिना बित्न लाग्दा समेत पुरा भएको छैन । शुरुका दिनमा भएको ढिलाइले गर्दा अहिले हतार हतारमा यो काम भइरहेको छ । जसले गर्दा पनि कार्यान्वयनमा समस्या देखिएको हो । मापदण्ड नपुगी खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेर जिम्मेवारीबाट पन्छिने कार्य सम्बन्धित निकायले गरेको स्थानीयले आरोप लगाएका छन् ।

शौचालय नभएका र आर्थिक अवस्था कमजोर भएका परिवारमा शौचालय बनाउन आवश्यक सामाग्री उपलब्ध गराउने र अनुगमन नगर्ने कारणले खुल्ला दिशामुक्त क्षेत्र घोषणा कागजमा मात्रै सिमित हुने अवस्था आएको हो । यसको उदाहरण झापाको शिवशताक्षी नगरपालिका वडा नम्बर ४ लाई लिन सकिन्छ । शिबशताक्षी नगरपालिकाको वडा नम्बर ४ र ५ मा गत माघ महिनामा खुल्ला दिसामुक्त घोषणा गरियो, तर सोहि वडा नम्बर ४ को बिश्वडुब्बाको करिब १५ घर सन्थाल बस्तीमा हाल सम्म पनि शौचालय बनेको छैन । खुल्ला दिसामुक्त घोषणाका बेला वडाका प्रमुख तथा अभियन्ताहरुले वडा भित्रका सबै घरमा शौचालय बनिसकेको बताएका थिए, तर त्यो भाषण यति लामो समय बितिसक्दा पनि पुरा भएको छैन । त्यो ठाउँका स्थानिय अहिले पनि खोलाको किनार र झाडीमा शौच गर्न बाध्य छन् ।

नगरपालिकाले दिएका शौचालयको रिङ र प्यान अहिले बाटाका डिलमा यत्रतत्र छन् । त्यहाँ शौचालय बनेको छ वा छैन भन्ने बिषयमा हाल सम्म पनि नगरपालिका वा सम्बन्धित निकायले अनुगमन गरेको छैन । जसले गर्दा खुला दिसा मुक्त अभियान कागजमा सिमित भएको पाइएको छ । शौचालय बनाउन जग्गा उपलब्ध नभएका कारण खुला दिसा मुक्त अभियान प्रभावकारी बन्न नसकेको उनीहरुले बताएका छन् । स्थानिय शिक्षका धनी सोरेनका अनुसार खुल्ला दिशा मुक्त क्षेत्र घोषणा हुने बेला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापा, शिवशताक्षी नगरपालिका लगायतको टोलीले सो क्षेत्रको अवलोकन गरेको थियो । शौचालय नभएको देखेर त्याहाँका स्थानीयलाई रिङ र प्यान उपलब्ध समेत गराएको थियो । तर त्यहाँ हाल सम्म पनि शौचालय बनेको छैन ।

पुस्तौँदेखि शौचालयको प्रयोग नगरेका सन्थाल समुदायलाई प्रयोगका बारेमा ज्ञान दिन नसकेका कारण पनि कार्यान्वयनमा समस्या देखिएको हो । झापाका अधिकांस स्थानीय तह र वडालाई खुल्ला दिसामुक्त घोषणा भएको भएपनि यो अभियानको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।  उता शिबशताक्षी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अधिकचन ताजपूरियाले भने सन्थाल बस्तीमा शौचालय बनिसकेको दाबी गरे । उनले भने सो क्षेत्रमा शौालय बनीसकेको छ, यदि छैन भने म आजैबाट अनुगमन गरेर शौचालय बनाउने पहल गर्छु ।

सरकारले २०१७ सम्ममा नेपाललाई खुल्ला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुसार झापा भर यो अभियान संचालनमा आएको थियो । लक्ष्य भन्दा करिब डेड वर्षबढी हुन लाग्दा समेत अभियान कार्यक्रम अझै सकिएको छैन । जिल्ला समन्वय समिती झापाका प्रमुख सोम पोर्तेलका अनुसार अहिले पनि झापामा १९ हजार परिवारमा शौचालय छैन । करिब १० हजार परिवारमा अहिले सम्म शौचालय बन्न शुरु नै नभएको उनले बताए । उनले यसबर्षभित्रमा झापालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्वता समेत गरेका छन् ।