शनिश्चरे (मोरङ) । तयारी थालेर संग्रहालय भवनको स्वरुप परिवर्तन गर्दै सामग्री संकलन गरेर काम सक्दा ठ्याक्कै १० वर्ष लागेछ ।

भवनलाई संग्रहालयको आकार दिनु आर्थिक हिसावले जति मेहनत गर्नुपर्यो त्यो भन्दा कैयौं गुणा वढी मेहनत सामग्री संकलनमा लाग्यो । अर्थात जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको राजनीतिक, सामाजिक र पारिवारिक गतिविधि समेटेर मोरङको उर्लाबारी ३ मंगलवारेमा स्थापित संग्रहालय यसबेला निर्माण सम्पन्न भएको छ ।

‘मदन भण्डारी संग्रहालय’ वनिसकेको र राष्ट्रपति अर्थात मदनकी धर्मपत्नी विद्यादेवी भण्डारीबाट विशेष समारोहकाबीच उद्घाटित हुने वुधवार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटनामा ज्यान गुमाएका उनै मदनको स्मृतिमा सोही साल स्थापित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको हाताभित्र संग्रहालय खडा भएको छ । प्रतिष्ठानको १७ औं चुनावी साधारणसभाको अवसर पारेर चैत १६ गते संग्रहालयको उद्घाटन् हुँदैछ । कार्यक्रममा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दहाल पनि आउनेछन् । ‘मदनको समाज रुपान्तरणको चिन्तनलाई तस्वीर, विद्युतीय प्रविधिका साथै श्रव्य र दृष्यमार्फत जीवनका महत्वपूर्ण घटना समेट्ने प्रयास गरेका छौं ।’– प्रतिष्ठान अध्यक्ष गुरुप्रसाद वरालले ओजिलो र चोटिलो शैलीमा गम्भिरतापूर्वक भने । मदनको सक्रिय राजनीतिक जीवनको २ दशकको कठिनपूर्ण अवधिको एउटा थप जानकारी उजागर गर्दै उनले थपे ‘ भूमिगत वेलामा यातायातको पनि पहुँच नभएको अवस्थामा लुकिलुकी ७० जिल्लामा मदन पुगेर संगठन गर्नुभएको धेरैले थाहा नपाएको तथ्य पनि उजागर गरेका छौं ।’ उनले विद्युतीय पुस्तकालयको काम भइरहेको र एप्समार्फत मदनका वारेमा समेत संसारभर जानकारी पाउन सजिलो पर्ने सुनाए ।

मोरङको इटहरामा ०३५ पुस ११ गते नेकपा माले पार्टीको जन्म । त्यसपछि जिल्लाको रमितेमा वसेको पार्टीको केन्द्रीय कमिटीको वैठकले जनपक्षीय हस्तक्षेपको निर्णयमा मदनको अगुवाई रहेको सहितका महत्वपूर्ण इतिहास संग्रहालयले समेटेको छ । संग्रहालयका लागि नेपालका ७५ वटै जिल्ला, वामपन्थी अगुवाहरु, भारतका वामपन्थीहरुसँग समेत पुगेर मदनसँग सम्वन्धित सामग्री संकलन गरिएको छ । मदन दासढुंगामा दुर्घटनामा परेको जीप सहित जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, कर्मथलो मोरङको इटहराका साथै राजनीतिक जीवनका महत्वका सामग्री, मन्तव्य, प्रकाशित सामग्री लगायतका वस्तुहरु संग्रहालयमा राखिएका छन् । जीप वुधवार भर्खरै त्यहाँ ल्याइपुर्याइएको छ । २ विगाहा क्षेत्रफलमा अवस्थित संग्रहालयमा ३ तलामा गरी १६ वटा कक्ष रहेका छन् । सरकारी तथा प्रतिष्ठानको गरी ३ करोडमा लगानीमा १० वर्षको अवधिमा निर्माण सम्पन्न संग्रहालयले मदन भण्डारीको महत्व र योगदानलाई झल्काएको छ ।

पहिले प्रतिष्ठानको मुख्य कार्यालय रहेको भवनलाई परिमार्जित गरी संग्रहालय निर्माण गरिएको हो । आकर्षक संग्रहालय प्रवेशका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको र यो काम चैत १८ गतेबाट सुरु हुनेछ । संग्रहालयको उत्तरमा तारामण्डल साइन्स म्यूजियम रहने तथा स्वीमिङ पुल समेतको तयारी भइरहेको छ । संग्रहालयको ठीक अगाडि पूर्वतर्फ मदनको पूर्णकदको सालिक सहित फोहोराजन्य पार्क रहेको छ ।

मदनको विचारलाई चरितार्थ पार्न प्राविधिक शिक्षामा जोड दिइरहेको प्रतिष्ठानले पैसा नभएर पढ्न नपाउने विद्यार्थीहरुको समस्या अन्त्य गर्नका लागि मानव संसाधन वैंकको अवधारणा ल्याइएको छ । उसले संसदमा ७ वर्षअघि पेश गरेको नयाँ अवधारणाको प्रौद्योगिक विश्वविद्यालयले अवको संघीय सरकारले अनुमोदन गर्ने प्रतिष्ठानको आशा छ ।

पत्रकार सम्मेलनमा सामेल पुरातत्व विभागका महानिर्देशक भेषराज दहालले व्यक्ति विशेषको वायोग्राफिक म्यूजियम पूर्वको नयाँ संग्रहालय भएको दर्शाए । ‘यो पूर्वको फरक आकर्षक थलो वनेको छ ।’– पर्यटक आगमनको प्रसंग समेत उल्लेख गर्दै भने ।