शनिश्चरे/राष्ट्पति विद्यादेवी भण्डारीले जनताको वहुदलीय जनवादका प्रणेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको बारेमा लामो सयमसम्म सत्यतथ्य पत्ता लाग्न नसक्नु दुखद भएको बताएकी छन् ।

राष्ट्पति भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठानले आफ्नो कार्यालय क्षेत्र रहेको मोरङको उर्लाबारी ३ मंगलवारेमा खडा गरेको मदन भण्डारी संग्रहालयको शुक्रवार उद्घाटन गर्दै त्यस्तो दुःख व्यक्त गरेकी हुन् । नाताले आफ्नो श्रीमान मदन भण्डारीको ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटना सहितको प्रसंगको त्यहाँ प्रस्तुत वृत्तचित्र हेरेर उनी भावुक वनिन् । ‘उहाँको निधनको घटनाले आफुलाई दुखित वनाएको र उहाँको योगदानको कदर स्वरुप चीरस्मरणका लागि संग्रहालय वनेको कुराले खुसी समेत सँगै प्राप्त भयो ।’– उनले लिखित मन्तव्यका क्रममा भनिन् ।

मदनले मुलुकमा लोकतान्त्रिक परिवर्तनका लागि गर्नुभएको महत्वपूर्ण योगदानको कदर स्वरुप उहाँको नाममा संग्रहालय खडा हुनु सम्मानित काम भएको उनको ठहर छ । श्रव्यदृष्य सहितको विद्युतीय आधुनिक संग्रहालयले मदनको सामाजिक रुपान्तरणको अभियानलाई अरुले पनि वुझ्ने र समाज रुपान्तरण गर्न सघाउ पुर्याउने उनले उल्लेख गरिन् । उनले संग्रहालयमै केन्द्रीत रहेर मन्तव्य व्यक्त गर्दै यसको निर्माणकर्ता प्रतिष्ठानलाई धन्यवाद दिँदै संग्रहालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सुझाव समेत दिइन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द अधिकारीले मदनको योगदानको उच्चमुल्यांकनका रुपमा संग्रहालय स्थापित भएकोप्रति खुसी व्यक्त गरे । यसखाले शिर्ष व्यक्तिको संग्रहालयको प्रवद्र्धनमा सरकारको तर्फबाट सहयोग हुने उनले जनाए ।

प्रतिष्ठानको १७ औं चुनावी साधारणसभाको अवसर पारेर संग्रहालयको उद्घाटन गरिएको हो । साधारणसभाको उद्घाटन भने प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । संग्रहालय उद्घाटनकाे कार्यक्रम सकिएपछि सोही ठाउँमा साधारणसभा कार्यक्रम अघि बढेको थियो । संग्रहालय निर्माणमा उल्लेखनीय योगदान दिने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दहाल सहितलाई सम्मानित गरिएको थियो ।

२ विगाहा क्षेत्रफलमा अवस्थित संग्रहालयमा ३ तलामा गरी १६ वटा कक्ष रहेका छन् । त्यहाँ दासढुंगा दुर्घटनाको जीप, मदनले प्रयोग गर्ने साइकल सहितका सामग्री तथा तस्वीर, भिडियो सहितका वैचारिक अभिव्यक्तिहरु समाविष्ट गरिएको छ । त्यहाँ मदनको ताप्लेजुङको ढुंगेसाँघुमा रहेको जन्मघर, इटहरामा रहेको कर्मघरलाई समेत संग्रहालयमा सोही रुपमा चित्रित गरिएको छ । चैत १८ गतेदेखि सर्वसाधारणका लागि टिकटमा संग्रहालय खुला गरिने प्रतिष्ठान अध्यक्ष गुरुप्रसाद वरालले जनाउनु भयो । सरकारी तथा प्रतिष्ठानको गरी ३ करोडमा लगानीमा १० वर्षको अवधिमा निर्माण सम्पन्न संग्रहालयले मदन भण्डारीको महत्व र योगदानलाई झल्काएको छ ।