विराटनगर। बाढी आएर क्षति पु¥याएको एक वर्ष हुन लाग्दा पनि मोरङका ३ सय २६ जना कृषकले अझैपनि राहत स्वरुप पाउने रकम नपाएको भन्दै आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।
कृषि मन्त्रालयबाट क्षति भएको माछापालन कृषकको लागि जिल्लामा बजेट आएपनि कर्मचारीको ढिलासुस्तीको कारण कृषकले एक वर्ष हुन लाग्दा पनि राहत रकम नपाएपछि आन्दोलन गर्ने भएका हुन् ।
माछा व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरि जिल्ला कृषि कार्यालय मोरङका कर्मचारीको ढिल्ला सुस्तीको कारणले गर्दा माछा पालक कृषकले राहत नपाएको आरोप लगाउँदै आन्दोलन गर्ने चेतवनी दिए । मोरङमा ३ सय २६ जना माछा पालन कृषकको ५ करोड भन्दा बढीको क्षति पुगेको भन्दै कृषि कार्यालयले तथ्याङ्क संकलन गरी कृषि मन्त्रालयमा बुझाएको थियो । कृषि मन्त्रालयले मोरङका बाढी पीडित कृषकलाई राहत वितरण गर्न ५ करोड रुपैयाँ निकास भइसक्दा पनि जिल्लाका कर्मचारीले राहत रकम वितरण गर्न ढिलो गरेको मोरङका माछा व्यवसायी संघका अध्यक्ष बलराम प्रसाइले बताए । ‘मन्त्रालयले ७ भदौ मै बाढी पीडित कृषकलाई राहत वितरण गर्नको लागि बजेट निकास गरिदिएको छ,’ अध्यक्ष प्रसाइले भने, ‘यहाँको कृषि कार्यालयले किन राहत रकम बाढन चाहेको छैन । कर्मचारीको यो कस्तो चाला हो । हामीले बुझन सकेको छैइनम ? ।’ उनी भन्छन्, ‘कृषि कार्यालयले तत्काल राहत बितरण नगरे जिल्लाभरीका माछापालन कृषक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’
मोरङको बढीगंगा गाउँपालिका माछा पालक कृषक रुपेश भट्टराईले कर्मचारी कृषकप्रति उत्तरदायि नभएको बताए । ‘साउनमा आएको बाढीले विक्री गर्ने बेला भएको माछा पुरै बगायो । लाखौ रुपैयाँको माछा नष्ट भयो ।’ उनले भने, ‘राज्यले माछापालक कृषकलाई हौसला प्रदान गर्न केही राहत रकम त पढायो । यहाँका कर्मचारीले आलटाल गर्दा राहत पाउन सकेको छैन,’ उनले भने ।’
रङ्गेलीका माछा पालन कृषक ऋषि राईले राहत पाएको रकमले बाढीले क्षति पु¥याएको पोखरीलाई पुन निमार्ण गर्ने सपना अझै साकर हुन नसेको बताए । ‘बाढीले भर्खर हालेको भुरा माछा देखी हुर्केको माछासम्म बगायो, ‘उनले भने, ‘राहत पाएको रकमले मछा हाल्ने, पोखरी बनाउने योजना थियो ।’ राहत नपाउँदा समस्या भएको उनले बताए । अर्का माछा पालन कृषक ताजिम अन्सारीले राहत रकम आइसक्दा पनि कर्मचारीले राहत नबाढेर कृषकलाई हतोसाहित गर्ने काम गरेको बताए ।
यता जिल्ला कृषि कार्यालय मोरङका निमिक्त वरिष्ठ कृषि विकास अधिकृत काशीकुमार चौधरीले कृषी मन्त्रालयले बाढी बाट कृषि क्षेत्रमा क्षति पुगेको कृषकहरुको लागि जिल्लामा ५ करोड रुपैया निकास भएर आएको स्वीकार गरे । ‘जिल्ला कृषि कार्यालय म एक्लै छु,’ उनले भने, ‘सबै कर्मचारी स्थानिय तहमा गएका छन् ।’ आवश्यक कर्मचारी प्राविधहरु नहुँदा बाढी पीडित कृषकलाई राहत वितरण गर्न ढिलो भएको उनको भनाई छ । चैत २८ गतेपछि राहत रकम वितरण हुन सक्ने उनले बताए ।