काठमाडौं/ केही दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेललाई एउटा सूचना आयो । सूचना थियो– काठमाडौंमा नक्कली विद्यार्थी परिचयपत्र, सेना तथा प्रहरीको डकुमेन्ट र विश्वविद्यालयका नक्कली सर्टिफिकेट बन्छ । सूचना पाएपछि एसएसपी पोखरेलले यो समूहलाई समात्ने योजना बनाए ।
उनले २ जना प्रहरीकै नाममा परिचयपत्र बनाउन कीर्तिपुर पाँगास्थित टर्कुमान महर्जनको पसलमा पठाए । शुक्रबार महर्जनको पसलमा दुई प्रहरीको फोटो छाडियो । महर्जनले एउटा परिचयपत्रको २ सय लाग्ने भन्दै ४ सय रुपैयाँ लिँदै आइतबार कार्ड लिन आउन भने । त्यसपछि प्रहरीको टोली फर्कियो ।
प्रहरी टोली आइतबार होइन, सोमबार गयो । महर्जनले आइडी कार्ड बनाइसकेका थिए,। कार्ड दिनै लाग्दा प्रहरीले उनलाई समात्यो । महर्जनले ३ वर्षदेखि नक्कली कागजातको धन्दा गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनले एक दिनमा ५० भन्दा बढी विभिन्न कलेजका खासगरी त्रिभुवन विश्वविद्यालयका परिचयपत्र बनाउँदै आएका थिए । नक्कली विद्यार्थीले गाडीमा छुट पाउनका लागि परिचयपत्र बनाउने गरेको खुलेको छ ।
महर्जनले विद्यार्थी परिचयपत्रसँगै वृद्धावृद्धाको कार्ड, सेना–प्रहरीको कार्ड जुन विदेश जानका लागि काम लाग्छ, शैक्षिक योग्यताको प्रमाणपत्रसमेत बनाउँदै आएको खुलेको छ । उनले सर्टिफिकेटको भने ५ देखि २० हजारसम्म लिने गरेको बताइन्छ । प्रहरीले तत्काल उनीबाट विभिन्न कलेजका १४ वटा नक्कली विद्यार्थी परिचयपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र सेक्युरिटी गार्डको प्रमाणपत्र पनि बरामद गरेको छ ।
सरकारी छापको दुरुपयोग गरेर विभिन्न कागजात बनाउँदै आएका महर्जनलाई अहिले सार्वजनीक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले महर्जनसँगै काठमाडौंमा अन्य स्थानमा पनि यस्तो गतिविधि हुने गरेको सूचना आफूसँग भएको र अन्यको खोजी कार्य पनि तिव्र पारिएको बताएको छ ।
बाह्रखरी