भद्रपुर ।इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र जिल्ला जनस्वाथ्य कार्यालय झापाको संयुक्त आयोजनामा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्वन्धि पत्रकार तथा सरोकारवालाहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडमा मंगलवार आयोजीत कार्यक्रममा डेंगु रोगको रोकथाम र त्यसबाट बच्ने उपायका बिषयमा जानकारी दिइएको थियो । कार्यक्रममा महाशाखा डाक्टर विवेककुमार गेलालले रोग र त्यसबाट बच्ने उपायका बिषयमा जानकारी दिएका थिए । डेंगु रोग अडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट सर्ने गरेको डा. गेलालले बताए । यो रोग जुनसुकै उमेर समुहका व्यक्तिलाई पनि लाग्न सक्ने उनले बताए । रोग लागेमा एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, आँखाको गेडा दुख्ने, अरुची हुने, पेट तथा आन्द्रामा गडवडी हुने र डावरहरु आउने, केही बिरामीहरुको शुरुमै शरिर भरी खटिरा आउने जस्ता लक्षणहरु देखा पर्ने डा. गेलालले बताए । साथै ज्वरो आइरहने, नाक तथा गीजाबाट रक्तश्राप हुने र छालामुनी रक्तश्राप हुने लक्षण देखा पर्ने उनले जानकारी गराए । उनले रोगबाट बच्नका लागि पूरा शरिर ढाक्ने कपडा लगाउनु पर्ने बताए । कुनै पनि पानी जम्ने खाल्डाखुल्डी, गमला, एयर कन्डिसन, लोटा, कतारो, खुल्ला बोतलहरु, थोरै भन्दा थोरै पानी जम्ने बिर्को जस्ता भाडाहरु, पानी जम्मा भएको खुल्ला ट्याङ्कीमा फुल पारी बृद्धि विकास हुने भएकाले तत्कालै लामखुट्टेको वासस्थान खोज तथा लार्भा नस्ट गर्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । दिउँसो सुत्ता पनि झुलको प्रयोग गर्ने र लामखुट्टे विरुद्ध किटनासक विषाधि छर्कने, थोरै पानी जम्ने स्थानमा पनि पानी जम्न नदिने सफा गरिरहने, डेंगु ज्वरोको शंखा लागे नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्नु पर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराउनु पर्ने उनको भनाई छ । यो रोग नेपाल सन् २००४ मा पहिलो पटक विदेशीमा देखिएको थियो । २००६ मा तराई भित्रीमधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । त्यसैगरी २०६७÷०६८ मा चितवन लगायत रुपन्देही, नवलपरासी आदि जिल्लाहरुमा महामारीको रुपमा फैलिएको थियो । आर्थिक बर्ष २०७३÷०७४ मा ४६ जिल्लामा यस रोगका बिरामी देखा परेका र सवैभन्दा बढी रुपन्देहीमा ६ सय ७७ जना, झापामा ५सय ४३ जना र महोत्तरीमा ४सय ३८ जना बिरामी भेटिएको तथ्याङ्कमा उल्लेख गराएका थिए ।