बराहक्षेत्र/ नेपालमै पहिलो पटक स्थापना हुन लागेको एन्टी स्नेक भेनम उत्पादन उद्योगको बराहक्षेत्र नगरपालिकास्थित महेन्द्रनगरमा शिलान्यास गरिएको छ । मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच सर्पले टोकेको समयमा लगाउने सुई औषधी उत्पादन गर्ने उद्योगको शिलान्यास गरेका हुन् ।

निजी क्षेत्रको लगानीमा नेपाल मै पहिलो पटक स्थापना हुन लागेको एन्टी स्नेक भेनम सञ्चालनमा ल्याउन लागेकोमा मुख्यमन्त्री रार्इले आवश्यक नीतिगत तथा कर सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । उनले भने, ‘प्रदेश कै गौरव उद्योगको रूपमा स्थापित हुन लागेकोले प्रदेश सरकार र सङ्घीय सरकारले समेत सहयोग र सहकार्य गर्ने छ ।’

उद्योगमा पोलिभेनम र मोनोभेनम दुवै किसिमका औषधी उत्पादन गरिनेछ । टोक्ने सर्प पहिचान नभएको खण्डमा पोलिभेनम औषधि उपयोगी हुन्छ । यसले सबै किसिमका सर्पको टोकाइमा काम गर्छ भने सर्पको पहिचान भएमा मोनोभेनम औषधी बढी उपयोगी हुन्छ ।

हाल नेपालमा बर्सेनि भारतबाट ३० हजार भायल भेनम नेपाल आयात गर्ने गरिएको छ । आयातलाई प्रतिस्थापन गर्दै निर्यात गर्नको लागि उद्योग स्थापना गरिएको एन्टी स्नेक भेनम म्यानुफ्याक्चरिङ प्रालिका अध्यक्ष लक्ष्मी प्रसाद फुयाँलले बताए ।

नेपालमा कानुन अभावको कारण निकै वर्ष अगाडी देखिको योजना भर्खर सुरुवात भएको उनले बताए । उनी भन्छन् ‘हामीले चार वर्षअघिदेखि नै योजना बनाएर बसेका थियौ तर नेपालको तत्कालीन कानुनले वन्यजन्तुलाई व्यसायिक रूपमा प्रयोगमा ल्याउन नपाइने प्रावधानका कारण ढिला भएको हो ।’

भेनम आपूर्ति सम्बन्धी सन् २०१२ मा भारतको सर्वोच्च अदालतले सर्पदंशको उपचारमा प्रयोग हुने औषधि एन्टि स्नेक भेनम भारत मै पर्याप्त नभएको भन्दै निर्यात नगर्न आदेश दिएको थियो । आदेश पछि नेपालमा उक्त औषधिको अभाव चर्किने निश्चित भएका कारण स्वास्थ्य मन्त्रालयले एन्टि स्नेक भेनम को उत्पादनको सम्भाव्यता अध्ययन थालेको थियो ।

तत्कालीन वन्यजन्तु संरक्षण ऐन २०२९ मा वन्यजन्तु लाई व्यावसायिक ढङ्गबाट प्रयोज गर्न नपाउने उल्ल्लेख रहेको थियो । तर नेपाल सरकारले गरेको सम्भाव्यता अध्ययनमा एन्टी भेनम उत्पादन  गर्न सकिने जनाए पछि कानुनी जटिलता अन्त्य गर्न पहल भएको थियो । पहल अनुसार संसद्ले २०७३ मा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा १५ क थप्दै व्यावसायिक रूपमा सरकारको अनुमतिमा वन्यजन्तु प्रयोग गर्न प्रावधान ल्याएको हो ।

यसरी हुन्छ उत्पादन 

विषालु सर्पको विष रक्तस्राव गराउने र स्नायु प्रणालीलाई असर पुर्‍याउने गरी दुई खालका हुन्छन् । एन्टी भेनम उत्पादन गर्न यी दुवै खाले सर्पलाई फार्ममा पाल्नुपर्छ। सर्प, घोडा र खरायो वा मुसा पनि पाल्नुपर्छ ।

घोडालाई सर्पबाट निकालेको विष सुईमार्फत् दिएपछि एन्टीबडी (प्रतिरक्षात्मक) पदार्थ बनाउँछ । त्यसपछि सुई मार्फत घोडाको रगत तान्ने र तानेको रगतबाट प्लाज्मा निकालिन्छ । त्यसैलाई औषधि बनाउन उपयोग गरिन्छ ।

औषधिलाई मानिसमा प्रयोग गर्नुअघि सुईमार्फत मुसा वा खरायोमा परीक्षण गरिन्छ । भेनम उत्पादन गर्नको लागि बराहक्षेत्रमा ७ बिगाहा जग्गा व्यवस्था गरिएको छ । अझै दुई बिगाहा थप्ने योजनामा कम्पनी छ ।

नेपालमा वार्षिक करिब १५ हजार जनालाई विषालु सर्पले डस्ने गरेको छ । सर्पदंशका कारण एक लाखमा १६२ मानिस बर्सेनि मर्ने गरेको विश्व स्वास्थ्य  सङ्गठनले जनाएको छ ।

न्यूजलयबाट