मधुमल्ला । प्राकृतिक स्रोत र सम्पदाको संरक्षणमा लाग्नु पर्ने ब्यक्तिहरु नै नदीजन्य पदार्थको दोहनमा लागेको पाइएको छ । पूर्वी मोरङको उर्लाबारीका खोलाहरुबाट नदीजन्य वस्तुको अबैध निकासी भइरहेको पाइएको हो । स्थानीय सोल्टी र मिक्लुक खोलाबाट नदीजन्य पदार्थको चरम दोहन भएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोको एकल निर्णय र संलग्नतामा प्राकृतिक स्रोतको दोहन भएको भन्दै स्थानीयले शनिबार प्रदेश नं. १ का आन्तरिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीसँग गुनासो राखेका छन् । स्थानीयले प्रदेशका मन्त्रीसँगै नगरप्रमुख फागोको मनोमानीविरुद्ध रोष प्रकट गरेपछि प्राकृतिक स्रोतको दोहन भएको खुलासा भएको हो । शनिबार अपरान्ह मन्त्री कार्कीसँगै मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुशल लिम्बू, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य पनि सोल्टी खोलामा भएको दोहनको अनुगमनमा पुगेका थिए ।
मन्त्रीसहितको अनुगमन टोलीले सोल्टी खोलामा भइरहेको स्रोत उत्खनन मापदण्ड विपरित भएको भन्दै त्यसलाई रोक्न सिडियोलाई निर्देशन दिएका थिए । ‘च्यानल’ खोल्ने नाममा नगरप्रमुख फागोले प्राकृतिक स्रोतमा मनोमानी गरेको भन्दै स्थानीयले सत्यतथ्य छानविन गर्न मन्त्री कार्कीसँग माग गरेका छन् । मन्त्रीसहित अनुगमन टोलीमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मी भण्डारी पनि थिइन् । यद्यपि, उनले सोल्टी र मिक्लुक खोलाको दोहनका बारेमा अनभिज्ञता जाहेर गरिन् । उनले कार्यपालिकाको बैठकले ‘च्यानल’ खोल्नका लागि ४५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णयबाहेक अरु केही नभएको दाबी गरिन् । कौडीको भाउमा प्राकृतिक स्रोतको दोहन भएको र मानव वस्ती नै जोखिममा परेको अवगत गराउँदै स्थानीयले मन्त्री तथा सिडियो लाई प्रतिप्रश्न गरे –‘यस्तो वेथिति भइरहँदा तपाईंहरु कहाँ हुनुहुन्थ्यो ?’ अबैध रुपमा खोलाका वालुवा र मिसगिट्टी निकासी भईरहेकाले रोक्न खोज्दा नगर प्रमुख फागोले हप्किदप्की गर्दै थर्काएकोे उर्लाबारी–४ का खेम ढकालले बताए । सोल्टी खोलामा ब्याक लोडर र स्काभेटरको प्रयोग गरी दैनिक ४ सय बढी टिफरले नदीजन्य पदार्थ निकासी गर्दै आएको छन् ।
नगरप्रमुख फागोले पूर्वका नामुद ठेकेदार भीम पौडेललाई निकासीका लागि विना टेण्डर स्वीकृति दिएको र ‘च्यानल’ खन्ने नाममा अबैध तरिकाले निकासी भएको बुझिएको छ । सोल्टी खोलाको उत्खनन्ले प्रभावित क्षेत्रको बेतिनी सामुदायिक वन र वस्तीलाईसमेत क्षति पुग्ने भएको बेतिनी सामुदायिक वनका सदस्य मिलन दाहालले भने ।
‘बस्तीलाई क्षति पु¥याउने स्थानहरुमा जिल्ला समन्वय समितिसँग अनुमति लिएर च्यानल खन्न सकिन्छ’ स्थलगत अनुगमन गर्दै प्रजिअ आचार्यले भने–‘च्यानल खन्ने नाममा यहाँ अबैध निकासी भएको पाईएको छ, यसको उचित छानविन गरी दोषीलाई कार्वाही गछौं ।’ जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति ल्याएर निकासी गरिएको भन्ने हल्ला चलाइएको रहेछ भन्दै उनले थपे–‘ठेक्का नलागेको क्षेत्रमा निकासीका लागि स्वीकृत दिनै मिल्दैन, यो सरासर अवैध हो ।’
यस्तै, मन्त्री कार्कीले ‘च्यानल’ खन्ने नाममा अवैध तरिकाले निकासी भएको प्रमाणित भए कसैलाई उन्मुक्ति नदिने चेतावनी दिए । निकासीबाट संकलित रकमका बिषयमा पनि छानविन गर्ने मन्त्री कार्कीले स्पष्ट पारे । सोल्टी खोलामा करिब ३ किलोमिटर र मिक्लुकमा ५ सय मिटर क्षेत्रबाट अबैध तरिकाले नदीजन्य पदार्थ उत्खनन् भईरहेको छ । बालुवा र मिसगिट्टी प्रति टिफरको ६ सय ७५ रुपैयाँ कर र ८ सय रुपैयाँ लोडिङ बापत रकम लिइएको स्थानीयले मन्त्री र सिडियोलाई जानकारी गराएका थिए ।